मोरङ जेलका बन्दी केशरको मृत्युबारे छानबिन गर्न समिति गठन – Nepal Press

मोरङ जेलका बन्दी केशरको मृत्युबारे छानबिन गर्न समिति गठन

विराटनगर । जिल्ला कारागार मोरङमा थुनामा रहेका बन्दी केशरबहादुर भुजेलको मृत्यु भएको विषयमा छानाबिन गर्न समिति बनाइएको छ । कारागारमा रहस्यमय मृत्यु भएको भन्दै परिवारले शव नबुझेपछि मोरङका सहायक सीडीओ प्रदीप साहाको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको हो ।

समितिमा कोशी अस्पतालका डाक्टर मनोज ठाकुर, प्रहरी निरीक्षक हेमराज ओली र लेटाङ-४ का वडाध्यक्ष रामकुमार श्रेष्ठ सदस्य छन् । उक्त समितिलाई छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको मोरङका सीडीओ वीरेन्द्रकुमार यादवले नेपाल प्रेसलाई बताए ।

लागुऔषधसम्बन्धी मुद्दामा पुर्पक्षमा थुनामा रहेका लेटाङ-४ घर भएका ४० वर्षीय केशरबहादुर भुजेलको गत बिहीबार बेलुका झण्डै साढे ५ बजेतिर उपचारको क्रममा कोशी अस्पतालको आकस्मिक कक्षमा मृत्यु भएको थियो । भुजेलको मृत्युको घटना शंकास्पद रहेको भन्दै आफन्तहरू पोष्टमार्टम नगर्ने र घटनाको छानबिन हुनुपर्ने अडानमा छन् ।

भुजेललाई जेलभित्रै मरणासन्न हुने गरी कुटपिट गरेर उपचारका लागि ल्याइएको उनीहरूको दाबी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर