सात सचिवको सरुवा, १६ महिनापछि सिंहदरबारमा दीपक काफ्लेको प्रवेश – Nepal Press

सात सचिवको सरुवा, १६ महिनापछि सिंहदरबारमा दीपक काफ्लेको प्रवेश

काठमाडौं । सरकारले ७ जना सचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय मन्त्रालयअन्तर्गत विभिन्न निकायमा कार्यरत सचिवको सरुवा गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार खानेपानी मन्त्रालयका सचिव रामआधार साहको राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा भएको छ । केन्द्रमा रहेका सुरेश आचार्य खानेपानी मन्त्रालय सरुवा भएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका जलस्रोत तथा सिंचाइ सचिव गोपालप्रसाद सिग्देललाई मन्त्रालयकै ऊर्जा सचिवमा सरुवा गरिएको छ । ऊर्जा सचिव दिनेशकुमार घिमिरेले अनिवार्य अवकाशमा जानु अघि नै राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।

स्रोतका अनुसार केही दिनअघि मात्रै सचिवमा बढुवा भएकी सरिता दवाडी जल तथा ऊर्जा आयोगको सचिवालयमा सरुवा भएकी छन् । उक्त आयोगमा रहेका सुशीलचन्द्र तिवारी ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा सिंचाइ सचिवमा सरुवा भएका छन् ।

यसैबीच कोशी प्रदेशका प्रमुख सचिव डा. दीपक काफ्ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएका छन् । १६ महिनाअघि २०७९ साउन १९ गते सहसचिवबाट सचिवमा बढुवा भएका काफ्लेको लुम्बिनी प्रदेश सरकारको प्रमुख सचिवमा पदस्थापन भएको थियो । उनले लुम्बिनी प्रदेश सरकारको प्रमुख सचिव भएर २०७९ भदौदेखि २०७९ चैत्रसम्म आठ महिना जिम्मेवारी सम्हालेका थिए ।

त्यसपछि उनको लुम्बिनी प्रदेश सरकारको प्रमुख सचिवबाट कोशी प्रदेश सरकारको प्रमुख सचिवमा सरुवा भएको थियो । कोशी प्रदेशको दशौं प्रमुख सचिवका रुपमा उनले २०७९ चैत २० गतेदेखि जिम्मेवारी सम्हालेका थिए । कोशी प्रदेश प्रमुख सचिवको जिम्मेवारी उनको आठ महिना भएको छ ।

कतिपय सचिव बढुवा भएपछि सिंहदरबारमै पदस्थापन भएर बस्ने गरेको भए पनि काफ्लेले भने बढुवा भएको १६ महिनासम्म पनि सिंहदरबार प्रवेश गरेनन् । दुई वटा प्रदेशको प्रमुख सचिवको जिम्मेवारी सम्हालेका उनीभन्दा पछि सचिव बढुवा भएका नारायणप्रसाद शर्मा यसअघि नै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएर वाणिज्य तथा आपूर्ति सचिव भएका छन् । उनलाई सरकारले एक महिनाअघि सुदूरपश्चिम प्रदेश सरकारको प्रमुख सचिवबाट मन्त्रालयमा ल्याएको थियो ।

यद्यपि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव रामकृष्ण सुवेदीले पनि यसअघि मधेश र सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवको जिम्मेवारी सम्हालेपछि मात्रै सिंहदरबार प्रवेश पाएका थिए ।

यस्तै युवा तथा खेलकुद मन्त्रालयका सचिव रविलाल पन्थले पनि २१ महिना गण्डकी प्रदेशको प्रमुख सचिव भएर पछि सिंहदरबार प्रवेश पाएका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा काफ्लेको सरुवा भएसँगै उक्त मन्त्रालयमा रहेका सचिव भरतमणि सुवेदी सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा भएका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयमा सचिव पद रिक्त थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार सचिव सरुवाको सूची मिलाउने कार्य अझै जारी रहेकाले कतिपय सचिवको हकमा मन्त्रालय तथा निकाय हेरफेर पनि हुन सक्नेछ । उनले सरुवा भएका सचिवले शुक्रबारमात्रै पत्र दिने तयारी भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर