रोहित शर्माको क्रन्दन: विश्वकप हारको चोट सहन गाह्रो भयो, ‘मुभ अन’ कसरी हुने सोच्नै सकिनँ
काठमाडौं । घरेलु मैदानमा भएको विश्वकपमा अष्ट्रेलियासँग फाइनल हारेपछि भारतीय टीम घायल बनेको छ । लगातार १० वटा म्याच जितेर फाइनलमा हार्नुपर्दा खेलाडी तथा भारतीय दर्शकहरु स्तब्ध बनेका थिए ।
टीमभित्र सबै दुःखी थिए । तर, सबैभन्दा ठूलो चोट भने कप्तान रोहित शर्मालाई लागेको थियो । विश्वकप विजेता कप्तान बन्ने उनको सपना चकनाचुर भयो । अब अर्को एक दिवसीय विश्वकप खेल्छन् वा खेल्दैनन् भन्ने निधो छैन ।
विश्वकपपछि धेरै दिनसम्म कप्तान रोहित गुमनाम बसे । भारतले अष्ट्रेलिया र दक्षिण अफ्रिकाविरुद्ध सिरिज खेलिरहँदा उनी त्यसमा सहभागी भएनन् । उनले विश्वकपबारे कुनै सार्वजनिक प्रतिक्रिया पनि दिएका थिएनन् । अहिले आएर बल्ल रोहितले मुख खोलेका छन् ।
इन्टाग्राममा एउटा भावुक भिडिओ पोस्ट गर्दै रोहितले आफ्नो पीडा ओकलेका हुन् । विश्वकप हारले दिएको चोटबाट अझै बाहिर निस्किन नसकेको उनको स्वीकारोक्ति छ । फाइनलपछि आफू अन्यत्र कतै गएर बसेको पनि रोहितले खुलाएका छन् ।
रोहितको पीडा उनकै शब्दमा
सुरुमा त मलाई यो हारको पीडाबाट कसरी बाहिर निस्किने भन्ने नै आइडिया भएन । मलाई मेरो परिवार, साथीहरुले हौसला दिए । त्यसले मलाई सहयोग गर्यो । यो पचाउन सजिलो थिएन । तर, जीवन त चलिरहन्छ । जीवनमा त अघि बढ्नु नै पर्छ । इमानदारीपूर्वक भन्नुपर्दा यो कठिन थियो । मुभ अन हुनलाई सजिलो थिएन । म सधैं ५० ओभरको विश्वकप क्रिकेट हेरेर हुर्केको हुँ र, मेरो लागि ५० ओभरको विश्वकप नै अन्तिम लक्ष्य थियो ।
यी दिनहरुमा मैले धेरै काम गरेको थिएँ, विश्वकप जित्न । तर, निराशा हात पर्यो । तपाईंले देखिरहेको सपना पूरा नहुँदा जुन कामका लागि तपाईं डटेर लागिरहनुभएको छ, त्यसमा सफलता हात नपर्दा तपाईं निराश र हताश पनि बन्नुहुन्छ । एक समय मैले सोचें कि हामीले आफ्नो तर्फबाट सक्ने जति प्रयास गर्यौं । कसैले मलाई के गलत भयो भनेर सोध्यो भने मसित जवाफ छैन । हामीले १० मध्ये ९ म्याच जितेका थियौं । हामीले केही त्रुटि गर्यौं होला । तर, यस्ता त्रुटि त हरेक खेलमा हुन्छन् । तपाईंले कहिल्यै पनि एउटा पूर्ण खेल खेल्न सक्नुहुन्न । पूर्णताको नजिक हुनसक्छ । तर, पूर्ण हुँदैन ।
यदि अर्को साइडमा हेर्नुभयो भने म आफ्नो टीमप्रति गौरव गर्छु । किनकि हामीले एकदमै उत्कृष्ट खेल्यौं । हरेक विश्वकपमा तपाईंले यसरी खेल्न सक्नुहुन्न । यदि हामीले उपाधि जितेको भए मानिसहरु धेरै रमाउने थिए, फाइनलपछि हाम्रो टीमलाई झन् धेरै माया गर्ने थिए । त्यो सोच्दा मुभ अन हुन निकै कठिन भइरहेको छ । त्यही भएर मैले कतै जाने निर्णय गरें, ताकि यी कुराहरु सोच्न बन्द गरुँ । तर, जहाँ भए पनि मानिसहरु मलाई भेट्न आउँथे र हामीले गरेको प्रयासको सराहना गर्थे । म उनीहरुका लागि दुःखी छु । उनीहरुले त्यो विश्वकपको उपाधि उचाल्ने सपना देखेका थिए । हामी विश्वकपका क्रममा जहाँ जाँदा पनि मानिसहरुको समर्थन अतुलनीय थियो ।
मानिसहरुले बुझेका छन् कि अहिले हामीले कस्तो महसुस गरिरहेका छौं । हामीलाई यो निराशाबाट निकाल्न उनीहरु पर्याप्त हौसला दिइरहेका छन् । यसले धेरै अर्थ राख्छ । यसले हामीलाई फेरि खेलमा फर्किन र अर्को उपाधिका लागि प्रयास गर्न उत्प्रेरणा प्रदान गर्छ ।