६७ करोडभन्दा बढी हिनामिना भएको तुलसी सहकारीका उपाध्यक्षसहित ३ जना धरौटीमा रिहा – Nepal Press

६७ करोडभन्दा बढी हिनामिना भएको तुलसी सहकारीका उपाध्यक्षसहित ३ जना धरौटीमा रिहा

विराटनगर । ६७ करोडभन्दा बढी रकम हिनामिना गरेको आरोप लागेका विराटनगरको तुलसी सहकारी संस्थाका उपाध्यक्ष र सञ्चालक समितिका दुई सदस्यलाई उच्च अदालत विराटनगरले धरौटीमा छाड्न आदेश दिएको छ ।

बचतकर्ताहरूको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका उपाध्यक्ष अनिता गौतम र सञ्चालक समितिका सदस्यहरू सीताराम अधिकारी र आदित्यराज भट्टराईलाई उच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको हो ।

बचतकर्ताको बचत रकम हिनामिना गरेर फरार भएका सहकारी सञ्चालक केदारनाथ शर्मासहित आठ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयले मुद्दा दर्ता गरेको थियो । बचतकर्ताहरूको रकम ठगी गरेर शर्मा भागेपछि सहकारीको सञ्चालक समितिको उपाध्यक्ष रहेकी उनकै श्रीमती अनिता गौतमसहित सचिव सविना न्यौपाने र प्रबन्धक मन्दिप खवासलाई प्रहरीले २ महिनाअघि पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरू मोरङ जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षको लागि कारागार चलान भएका थिए ।

उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राज भण्डारी र न्यायाधीश गणेशप्रसाद बरालको इजलासले प्रबन्धक मन्दिप खवास र सचिव सविना न्यौपानेलाई भने थुनामै राख्न आदेश दिएको छ ।

उच्च अदालतले सहकारीका सञ्चालक समितिका पदाधिकारीहरुमध्ये उपाध्यक्ष गौतम, सञ्चालक समिति सदस्य अधिकारी र भट्टराईको सन्दर्भमा जिल्लाको आदेश बदर गर्दै धरौटी माग गरिएको जनाइएको छ ।

तुलसी सहकारीको बचत हिनामिना भएका बचतकर्ताहरूबाट प्राप्त उजुरी र थप अनुसन्धानका आधारमा सहकारीका अध्यक्ष शर्मासहित सञ्चालक र प्रबन्धकले ६७ करोड ८६ लाख २१ हजार २६८ रुपैयाँ हिनामिना गरेको मोरङ प्रहरीले जनाएको छ ।

विराटनगरमा केन्द्रीय कार्यालय रहेको तुलसी बहुमुखी सहकारीलाई सरकारले समस्याग्रस्त घोषणा गरिसकेको छ ।
सहकारी अध्यक्ष शर्मालाई भने सीआईबीले भारतको मुम्बईबाट पक्राउ गरी मुद्दा चलाएको छ । अध्यक्ष शर्मा एक्लैले १६ करोड ९७ लाख ४२ हजार ५४० रुपैयाँ सहकारीको कुनै पनि स्रेस्तामा उल्लेख नगरी हिनामिना गरेको प्रहरी अनुसन्धानले देखाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर