करिब साढे ३१ लाखको अवैध सामान बोकेको गाडीसहित बाँकेबाट दुईजना नियन्त्रणमा
काठमाडौं । बाँकेको खजुरा गाउँपालिका ६ स्थित सिमलघारीबाट बिहीबार सशस्त्र प्रहरीले करिब ३१ लाख ४४ हजार तीन सय रुपैयाँ बराबरको अवैध सामानको गाडीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं ३० बागेश्वरी गण बाँकेबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा भे १ च २३५७ नम्बरको गाडीमा भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको विभिन्न सामान नियन्त्रणमा लिएको हो ।
जसमा १४ लाख ७० हजार ३०० रुपैयाँको लत्ताकपडा, पाँच लाख ८४ हजार रुपैयाँको काँस र एक लाख ४० हजार रुपैयाँको पित्तलका मुर्ति, भाँडाबर्तन तथा सजावटका सामग्रीसहित बाँकेकै नेपालगंज उपमहानगरपालिका पाँचका ५० वर्षका कमल हलुवाई र भारतको लखीमपुर कटौली ग्रामपञ्चायतका ३० वर्षका भारतीय नागरिक चालक साकिर हुसेनलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका दुवै जनालाई बरामद सामान र गाडीसहित आवश्यक कारवाहीका लागि नेपालगंज भन्सार कार्यालय बाँकेमा बुझाईएको छ । गाडीको भन्सार दाखिला मूल्य करीब नौ लाख ५० हजार रुपैयाँ रहेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।