बुटवल धागो कारखानामा एक करोडका समान चोरी – Nepal Press

बुटवल धागो कारखानामा एक करोडका समान चोरी

रुपन्देही । लामो समयदेखि बन्द अवस्थामा रहेको बुटवल धागो कारखानामा एक करोड बढी मूल्य पर्ने सामान चोरी भएको छ । २०४८ बाट व्यावसायिक उत्पादन थालेको धागो कारखाना २०६४ फागुदेखि बन्द अवस्थामा रहेको छ ।

कोरोना महामारीका बेला अस्थायी अस्पतालका रूपमा प्रयोग गरिएको थियो बुटवल धागो कारखानालाई झण्डै २२ महिना कोभिड अस्पताल सञ्चालन भएर बाहिरिंदा धागो कारखानाका करोडभन्दा बढी मूल्यका उपकरण चोरिएको विषय बल्ल धागो कारखाना प्रशासनले सार्वजनिक गरेको छ । कोभिड अस्पताल लुम्बिनी प्रादेशिक अस्पताल बुटवल मातहत सञ्चालन भएको थियो ।

धागो कारखानाका आईसीयू, भेन्टिलेटर, जनरल वार्ड बनाइएका र अन्य स्थानमा भूमिगत रूपमा जडान गरिएका फिडर वायर चोरी भएका छन् । धागो कारखानाले उक्त तामाको वायर १ करोड बढी मूल्य बराबरको बताएको छ ।

बुटवल धागो कारखाना लिमिटेडका कार्यालय प्रमुख डोलराज शर्माले विद्युत् सबस्टेसनबाट मेशिन टनेलभित्र बिच्छ्याइएका तामाका महत्वपूर्ण उपकरणमध्ये मोटा तारहरू काटेर चोरी भएको बताए ।

बाहिरको मान्छे प्रवेश गरेर चोरी नभएको बताउँदै कार्यालय प्रमुख शर्माले-भित्र गएर हेर्दा १ करोड रुपैयाँ बढीका तार काटेर चोरी भएको भेटिएको बताउँछन् ।

कार्यालय प्रमुख डोलराज शर्माका अनुसार सामान भएको थाहा पाएपछि इलाका प्रहरी कार्यालय, बुटवलमा व्यक्तिलाई किटानी जाहेरी दिइएको छ । किटानी दिएका व्यक्ति अहिले फरार छन् । लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा.सुदर्शन थापाले यो विषय अहिले आफूले सुनेको र यसबारेमा बुझ्ने जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर