एलपीएल: धनगढी स्पोर्ट्स क्लब र सत्यवती एकेडेमी फाइनलमा – Nepal Press

एलपीएल: धनगढी स्पोर्ट्स क्लब र सत्यवती एकेडेमी फाइनलमा

कैलाली । धनगढी स्पोर्ट्स क्लब र सत्यवती एकेडेमी कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिगको आठौं संस्करणको उपाधिको लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।

फाप्ला क्रिकेट मैदानमा शुक्रबार सम्पन्न दुईवटा सेमिफाइनलमा धनगढी स्पोर्ट्स क्लबले घोडाघोडी क्रिकेट एकेडेमीलाई तथा सत्यवती एकेडेमीले युथ अफ टीकापुरलाई सेमिफाइनलमा पराजित गर्दै फाइनलमा स्थान पक्का गर्‍यो । फाइनल खेल शनिबार हुनेछ ।

आज सम्पन्न पहिलो सेमिफाइनलमा धनगढी स्पोर्ट्स क्लबले घोडाघोडी क्रिकेट एकेडेमीलाई ३ विकेटले पराजित गर्‍यो । घोडाघोडीले दिएको ८९ रनको लक्ष्य धनगढी स्पोर्ट्स क्लबले ७ विकेट गुमाएर १६.२ ओभरमा पूरा ग¥यो । धनगढी स्पोर्ट्स क्लबको लागि आयुषमान बमले सर्वाधिक २५ रन बनाए । प्रनित थापाले २१ तथा सुनिल धमलाले १८ रन बनाए ।

घोडाघोडीका बलर नरेश सुनार र कृष कार्कीले २-२ विकेट तथा हरिश बस्नेत र भुपेश जोशी १-१ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको घोडाघोडी क्रिकेट एकेडेमीले १६.१ ओभरमा ८८ रनमा सबै विकेट गुमायो । घोडाघोडीको ब्याटिङमा नवयुग बस्नेतले सर्वाधिक २५ रन, विपीनविक्रम शाहीले १७, दिनेश रावतले १७ तथा सञ्जय बोहराले १२ रनको योगदान दिए ।

धनगढी स्पोर्ट्स क्लबको बलिङमा अमरसिंह रौटेलाले सर्वाधिक ४ विकेट लिए । प्लेयर अफ द म्याच घोषित रौटेलाले ४ ओभरमा २१ रन खर्चिए । दीपक चन्द ठकुरीले ३ तथा भोजराज भट्ट, भुवन कार्की र विकास आग्रीले १-१ विकेट लिए ।

दोस्रो सेमिफाइनलमा सत्यवती एकेडेमीले युथ अफ टीकापुरलाई ६ विकेटले पराजित गर्‍यो । युथ अफ टीकापुरले दिएको १११ रनको लक्ष्य पछ्याएको सत्यवती एकेडेमीले युथ अफ टीकापुरलाई ६ विकेटले पराजित गर्‍यो ।

सत्यवतीको ब्याटिङमा ओपनर इमरान शेखले सर्वाधिक ४१ रन बनाए, जुन क्रममा उनले ४१ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । सन्दीप रजालीले २३, सन्दीप क्षेत्रीले २१ तथा सन्तोष कार्कीले १२ रन बनाए ।

युथ अफ टीकापुरका बलर सोलुप चौधरीले २ तथा गौतम केसी र प्रेम शाहले १-१ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको युथ अफ टीकापुरले १९.५ ओभरमा सबै विकेट गुमाएर ११० रन बनाएको थियो ।

टीकापुरको ब्याटिङमा प्रकाश जैसीले सर्वाधिक ३२ रन, सुमित महर्जनले २० तथा प्रदीप ऐरीले १३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

सत्यवती एकेडेमीको बलिङमा सन्तोष कार्कीले सर्वाधिक ३ विकेट लिए । फिर्दोश अन्सारी र अभिषेक कोइरालाले २-२ विकेट तथा त्रितदास र रञ्जित कुमारले १-१ विकेट लिए ।

लिटल फ्लावर स्पोर्टस् क्लबको आयोजनामा भएको प्रतियोगिताको विजेताले दुई लाख ५५ हजार र उपविजेताले एक लाख २८ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगितामा काठमाडौं, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका १६ वटा टीमको सहभागिता छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *