एमालेलाई पहिचान विरोधीहरूको पार्टी भन्ने आरोपको खण्डन भइसक्यो: पृथ्वी सुब्बा गुरुङ
विराटनगर । नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले एमालेलाई पहिचान विरोधी भनेर लगाएको आरोप नागरिक समर्थनले चिरिदिएको बताएका छन् ।
गुरुङले एमाले पहिचान विरोधीहरूको पार्टी भनेर केही व्यक्तिहरूले लगाएको आरोपलाई एमालेले सुरु गरेको सङ्कल्प यात्रामा सहभागीहरूको समर्थन र साथले खण्डन गरेको बताए । उनले एमालेले सञ्चालन गरेको समृद्धिका लागि सङ्कल्प यात्रा पूर्ण रूपमा सफल भएको बताएका छन् ।
नेकपा एमालेले सञ्चालन गरेको झुला घाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राको १६ दिनसम्मको अनुभव सुनाउँदै गुरुङले एमाले विरुद्धको भ्रम चिर्दै यात्रामा देशभरि साथ र समर्थन पाएको बताए । तेह्रथुममा पत्रकारसँग कुरा गर्दै गुरुङले बहु पहिचानसहित अहिलेको सङ्घीयताको मोडल नै नेकपा एमालेको मोडल भएको दाबी गरे ।
नेकपा एमालेले नै सङ्घीयतामा सात प्रदेशको कुरा दृढतापूर्वक उठाएको स्मरण गराउँदै ‘नेकपा एमाले प्रति जनताको व्यापक समर्थनबाट विमुख बनाउन देशीविदेशी शक्तिले एमालेलाई पहिचान विरोधी भनेर भ्रम फिँजाउने काम गरेको बताए ।
उनले भने, ‘एमालेको सङ्कल्प यात्राले राजतन्त्र वा नयाँ दलको पक्षमा जनता छैनन् भन्ने कुरा पुष्टि गरेको छ । जनताले यात्रा मार्फत एमाले विरुद्ध लागेका सबै आरोपको खण्डन गरिदिएको छ ।’
यात्राको क्रममा एमाले प्रतिको क्रेज देखिएको उनले बताए । गुरुङले मध्य पहाडी लोक मार्ग निर्माण र स्तरोन्नतिको लागि अझै धेरै काम गर्न बाँकी रहेको बताए । उनले सरकाले निर्माणका काम ठप्प बनाएर कुनै काम नगरेको यात्राको क्रममा देखिएको दाबी गरे ।
उनले भने,सरकारले आर्थिक विकासको कुनै काम गरेको देखिएन । आर्थिक कोरिडोरको बारेमा सरकारले नसोच्दा पहाड श्रोतले धनी हुँदा पनि समृद्धिको पथमा अघि बढ्न सकेको देखिएन ।
बैतडीको झुला घाटबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ । आज एमालेले पाँचथरको फिदिममा जनसभाको तयारी गरेको छ ।