सुरेन्द्र पाण्डे भन्छन्- मध्यपहाडी राजमार्ग एमालेको योजना हो, समृद्धिको केन्द्र बन्नेछ (भिडिओ)
मध्यपहाडी पुष्पलाल लोकमार्ग निर्माणमा सरकारले हेलचेक्र्याईं गरेको छ : उपाध्यक्ष पाण्डे
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेले मध्यपहाडी पुष्पलाल लोकमार्ग निर्माणका लागि सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् ।
शनिबार तेह्रथुममा न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले पछिल्लो समय मध्यपहाडी लोकमार्गलाई प्राथमिकता दिएर सरकारले बजेट निकासा नगरेको उल्लेख गरे । उनले मध्यपहाडी लोकमार्गका केही ठाउँमा बजेट नै निकासा नगरेको पाइएको उनले बताए । उनले सरकारले हेलचेक्राँई अन्त्य गरी तत्काल लोकमार्गका लागि बजेट विनियोजन गर्नुपर्ने बताए ।
उनले एमालेप्रति जनताको उत्साह र भरोसा धेरै रहेको पाएको बताए । यात्रामा पार्टीका कार्यकर्ता भन्दा नागरिकहरु स्वागतका लागि आएको भन्दै उनले नागरिकको विश्वासलाई पार्टीले राजनीतिमा परिणत गर्न प्रयास गर्नुपर्ने बताए ।
उनले मध्यपहाडबाट भइरहेको बसाईंसराई ठूलो चुनौती रहेको र यसको समाधानका लागि स्थानीय विकासमा केन्द्रित हुन आवश्यक रहेको बताए । मध्यपहाडको भौगोलिक अवस्थाजन्य ढंगले बस्ती विकास गर्ने, शहर बढाउने, उत्पादनलाई बढाउने र औद्योगिकीकरणको आधारशीला निर्माण गर्नसके मध्यपहाड सोचेको जस्तै शिक्षा र स्वास्थ्यको हब बन्ने दाबी गरे ।
उपाध्यक्ष पाण्डेले वर्तमानका समस्या समाधान गर्न नसक्ने पार्टी बुढो हुने बताए । पार्टीको स्थापना मितिले पार्टी बुढो नहुने उनको भनाइ थियो ।
यस्तो छ पाण्डेको भनाइः
मध्यपहाड नेपालको एकता र राष्ट्रिय समृद्धिको मुख्य क्षेत्र बन्दैछ । विभिन्न विशेषतासहित मध्यपहाडी क्षेत्र उठ्ने कोशिस गरिरहेको छ, यो सकारात्मक कुरा हो । तर पछिल्लो समय जसरी मध्यपहाडी लोकमार्गलाई प्राथमिकता दिएर सरकारले बजेट हाल्ने र छिटो सम्पन्न गर्ने र यहाँका मानिसको जीवनस्तर उठाउन गर्नुपर्ने प्रयासमा जुन किसिमको ध्यान दिनुपर्ने हो त्यो दिइरहेको पाइएको छैन ।
केही ठाउँमा त बजेट नै यसवर्ष तोकिएको पैसा नै खर्च गर्न निकासा भइरहेको छैन भन्नेकुरा छन् । सरकारले यसलाई, यो हेलचेक्राँईलाई अन्त्य गरी तुरुन्तै यो बाटो सम्पन्न गर्न पैसा निकासा गर्नुपर्छ । पश्चिमदेखि पूर्वसम्म पुग्दा एमालेप्रति जनताको उत्साह र भरोसा धेरै रहेको पाएँ । अहिले जनताहरु धेरै स्वागतका लागि आएको पायौँ । त्यो सकारात्मक कुरा हो ।
यसलाई पार्टीले राजनीतिक रुपमा, सकारात्मक रुपमा त्यो विश्वासलाई राजनीतिमा परिणत गर्न प्रयास गर्नुपर्छ । मध्यपहाडबाट भइरहेको बसाईंसराई ठूलो चुनौति रहेको छ । बसाईंसराई रोक्न र यहाँकै विकासमा केन्द्रित हुन मध्यपहाडको भौगोलिक अवस्थाजन्य ढंगले विभिन्न विकास गर्नुपर्छ ।
बस्ती विकास, शहर, उत्पादनलाई बढाउने र औद्योगिकीकरणको आधारशीला निर्माण गर्नसके मध्यपहाड सोचेको जस्तै शिक्षा र स्वास्थ्यको हब बन्नसक्छ । ग्रामिण रोजगारी बढाउनुपर्छ, जसले यहाँको बसाईंसराई रोकिन्छ । सरकार र नेकपा एमालेले यसमा बढी ध्यान दिनुपर्छ ।