लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान : अनेम संघले गर्‍यो विद्यालयस्तरमा यस्ता कार्यक्रम – Nepal Press

लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान : अनेम संघले गर्‍यो विद्यालयस्तरमा यस्ता कार्यक्रम

काठमाडौं । देशव्यापी रूपमा भइरहेको लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानलाई अखिल नेपाल महिला संघ बाँकेले भने फरक शैलीमा कार्यक्रम गरी मनाएको छ ।

अभियानलाई सार्थक र कार्यान्वयनमुखी बनाउन अनेमसंघ बाँकेले विद्यालय केन्द्रित किशोरीहरूलाई असल र खराब छुवाइका बारेमा जनचेतनामूलक कार्यक्रम गरेको छ ।

र्‍याली, पोष्टर लगायतका सचेतनामूलक कार्यक्रमले मात्र महिला हिंसा न्यूनीकरण प्रभावकारी हुन नसकेको भन्दै अनेमसंघ बाँकेले किशोरी मुखी अभियान सञ्चालन गरेको हो ।

बाँकेमा सञ्चालित विद्यालयमा अध्ययनरत किशोरीहरूलाई लक्षित गरेर अभियान सञ्चालन भएको हो । उनीहरूलाई विद्यालयमै पुगेर विशेषज्ञहरूले असल र खराब छुवाइका बारेमा प्रशिक्षण दिइएको हो ।

अखिल नेपाल महिला संघ, जिल्ला कमिटी, बाँकेद्वारा सञ्चालित यो अभियान वर्ष भरी नै सञ्चालन गर्ने लक्ष्य रहेको अनेमसंघ बाँके संयोजक मिना ढकालले जानकारी दिइन् ।

अभियानको सुरुवात सरस्वती माध्यमिक विद्यालयबाट गरिएको छ । सो विद्यालयको कक्षा ९ र १० मा अध्ययनरत किशोरीहरूलाई असल र खराब छुवाइका बारेमा सचेतना दिइएको उनले बताइन् ।

११७ जना किशोरीहरू सहभागी भएको कार्यक्रममा बालबालिका स्वास्थ्य विशेषज्ञ सुमन गिरी श्रेष्ठ र महिला स्वास्थ्य महिनावारी सरसफाइ विशेषज्ञ शर्मिला थापाले खराब र असल छुवाइका बारेमा सचेतना दिएका थिए ।

आफ्नो विद्यालयमा सान्दर्भिक कार्यक्रम गरेको भन्दै विद्यालयका प्रधानाध्यापक सुरेश कुमार परशैलाले खुसी व्यक्त गरे । उनले यस्ता कार्यक्रमहरू विद्यालयहरूमा सञ्चालन गर्नुपर्ने र यो विषयलाई पाठ्यसामग्रीमा पनि समावेश गर्नुपर्ने आवश्यकता औँल्याए ।

अनेमसंघ बाँके संयोजक ढकालले किशोरीहरू आफू माथि भइरहेको हिंसाका बारेमा पनि अनभिज्ञ हुने भएकाले पनि हिंसा प्रोत्साहित भइरहेको भन्दै त्यसलाई न्यूनीकरण गर्न सही त गलत छुवाइका बारेमा किशोरीहरूलाई बुझाउनुपर्ने आवश्यकता महसुस गरी वर्ष भरी नै जिल्लाका विद्यालयहरूमा यस्ता कार्यक्रम सञ्चालन गरिने बताइन् ।

कार्यक्रममा विद्यालयका शिक्षिकाहरू, अनेमसंघका केन्द्रीय, प्रदेश र जिल्ला तहका नेता तथा अधिकारकर्मीहरूको पनि उपस्थिति थियो । उनीहरूले पनि किशोरीहरूलाई नै हिंसा विरुद्ध आवाज उठाउन अभिप्रेरित गर्नुपर्ने आवश्यकतामा जोड दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *