भेषबहादुर थापाको स्मरण: महेन्द्र २०२४ सालमै प्रजातन्त्रमा सकारात्मक थिए – Nepal Press
सन्दर्भ : पुस १

भेषबहादुर थापाको स्मरण: महेन्द्र २०२४ सालमै प्रजातन्त्रमा सकारात्मक थिए

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको सरकारलाई १८ महिनामै अपदस्त गर्दै संसद भंग गरेर तत्कालीन राजा महेन्द्रले २०१७ पुस १ गते आफ्नो हातमा सत्ता लिएका थिए । महेन्द्रले सुरु गरेको पञ्चायती व्यवस्था २०४६ को जनआन्दोलनबाट बढारिएको थियो ।

पञ्चायत शब्दका जन्मदाता विश्वबन्धु थापा मानिन्छन् । यद्यपि पञ्चायतको मुख्य ड्राइभिङ सीटमा महेन्द्र नै थिए । त्यसको जस-अपजस उनैलाई जान्छ । उनलाई नेपालको निरंकुश सत्ताको विम्ब मानेर दलहरुले व्याख्या गर्दै आएका छन् । तर, पञ्चायतमै राजा महेन्द्रसँग काम गरेका नेतादेखि टेक्नोक्र्याटहरु भने महेन्द्रमा देश र जनतालाई केही गरेर देखाउने हुटहुटी भएको राजाको रुपमा व्याख्या गर्छन् ।

महेन्द्रले २०२४ साल चैतमा हृदयाघात व्यहोरेपछि अवकाशमा जान चाहेको गत वर्ष बजारमा आएको सूर्यबहादुर थापाको पुस्तक ‘मेरा नौ दशकः पाँच व्यवस्था, पाँच राजा, पाँच पटक प्रधानमन्त्री’मा उल्लेख छ । २०२४ को हृदयाघातपछि महेन्द्रको सत्ताशैली मात्रै नभएर कविताहरुको तौरतरिका पनि फेरिएको थापाले लेखेका छन् ।

हालै बजारमा आएको पुस्तक ‘राष्ट्र-परराष्ट्रः एकतन्त्रदेखि गणतन्त्रसम्म’मा पनि डाक्टर भेषबहादुर थापाले महेन्द्रमा प्रजातन्त्रको चाहना २०२३ सालबाटै आएको लेखेका छन् । त्यसलाई मूर्त रुप दिन उनले २०२४ मा राष्ट्रिय पञ्चायतको अधिवेशनमा पञ्चायत व्यवस्था नै ठीक छ कि अरु विकल्प छ भनेर औपचारिक रुपमा रायसमेत मागेको थापाले लेखेका छन् । राजा महेन्द्रले राय मागे पनि राष्ट्रिय पञ्चायतले विकल्पको पक्षमा राय नदिएपछि उनी रोकिएका थिए ।

सूर्यबहादुर थापाले भने जस्तै भेषबहादुर थापाले पनि हृदयाघातपछि प्रजातन्त्र मोह बढेको संकेत गरेका छन् । उनले लेखेका छन्, ‘२०२४ सालमै पहिलोपटक हृदयाघात भएको थियो । त्यसपछि उनले प्रत्यक्ष शासन गर्ने काम छाड्दै गएका थिए ।’

यसमा थापाले थपेका छन्, ‘पञ्चायतप्रति जनस्तरमा नैराश्य उत्पन्न भएको अनुभूति राजा महेन्द्रले २०२३ सालमै गरेका थिए । उनी पञ्चायतलाई अलि फराकिलो बनाएर त्यसमा संवैधानिक परिवर्तन गर्न चाहन्थे । मन्त्रिपरिषद् सचिवालयले २०२३ मंसिरमा शासकीय वृत्तमा रहेकाहरुसँग परामर्शसमेत थालेको थियो ।’

प्रजातन्त्र स्थापना गर्न राजा महेन्द्रले देखिने सुधार गर्न चाहेको भन्दै थापाले विस्तारमा लेखेका छन् । उनले किताबमा ‘महेन्द्रमा प्रजातन्त्रको चाहना’ शीर्षकै दिएर लेखेका छन्, ‘पूर्णतः पार्टी पद्धतिमा नगए पनि राष्ट्रिय पञ्चायतभित्र विपक्षीहरुलाई स्थान दिने प्रक्रियाको सुरुवात गर्न उनले खोजेका थिए । अर्थात् विनापार्टीको पद्धतिमा रहिरहने चाहना नभएको देखिएको थियो । राजाले राजनीतिलाई आफ्नो नियन्त्रणभन्दा बाहिर पठाउन खोजेका थिए । तर, त्यहीखेर म पूर्ण राजनीतिमा संलग्न नभएको हुँदा कुन हदसम्म खुला गर्ने राजाको चाहना थियो, त्यसबारे मलाई जानकारी हुने कुरा भएन । तर, राजा महेन्द्रको चाहना स्पष्ट थियो- विस्तारै छाड्दै गएपछि सहज हुन्छ । राजा महेन्द्रको चाहना पञ्चायती व्यवस्थालाई उदार बनाउने पक्षमा रहेको दाबा कीर्तिनिधि विष्टले गरेका थिए । पञ्चायतकालमा महान्यायाधिवक्ता तथा गृहमन्त्री भएका शम्भुप्रसाद ज्ञवालीले पनि पञ्चायती व्यवस्थालाई उदार बनाउन चाहेको तथ्य उनले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । राजा महेन्द्रले बीचबीचैमा वीरेन्द्रबारे कुरा गर्दा हामीसँग भन्थे- जापान र अमेरिकामा के पढेर आयो, यो प्रगतिशील हुनुको सट्टा त झन् संकुचित पो भयो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *