टिपरले मोटरसाइकललाई ठक्कर दिँदा ज्यान गुमाएका परिवारले पाउने भए क्षतिपूर्ति – Nepal Press

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा ज्यान गुमाएका परिवारले पाउने भए क्षतिपूर्ति

रूपन्देही । दाङमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार प्यूठानका दुई किशोरको मृत्युपछि उत्पन्न तनाव छलफलपछि सहमतिमा टुँगिएको छ । यससँगै दाङमा बन्द रहेको यातायात खुलेको छ ।

आइतबार बिहान जिल्ला प्रशासन कार्यालय दाङमा पीडित पक्ष र ट्रक समितिबीच मृतक दुई किशोरका आफन्तलाई क्षतिपूर्तिबापत जनही साढे ६ लाख उपलब्ध गराउने तथा ट्रकधनीले नयाँ मोटरसाइकल किनेर दिने सहमति भएको हो ।

मृतक दुवैको शव प्यूठानस्थित घरसम्म पुर्‍याइदिने र दुर्घटनापछि क्षतिपूर्तिका लागि प्यूठानबाट दाङ आएका मानिस तथा आफन्तलाई पनि घरसम्म छोड्ने बन्दोबस्त ट्रक समितिले नै गर्ने सहमति गरिएको छ ।

सहमतिपछि आफूहरु शव लिएर जिल्ला फर्कने तयारी गरिरहेको झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोखरेलले जानकारी दिए ।

प्यूठानको झिमरुक गाउँपालिका- ४ बाङ्गेका १७ वर्षीय विशाल जीसी र नौंबहिनी गाउँपालिका- ६ लुङका १८ वर्षीय सागर केसीको शुक्रबार राति उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको थियो । मृतक दुबैको शव प्रतिष्ठानमै राखिएको छ ।

तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा १ क १३०७ नम्बरको टिपरले घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा २ प ५५८९ नम्बरको मोटरसाइकललाई घोराही उपमहानगरपालिका- १० झारबैरा चोकमा शुक्रबार राति ठक्कर दिएको थियो ।

गाउँपालिकाका उपाध्यक्ष पोखरेलले उचित क्षतिपूर्ति र न्यायको माग गर्दै शनिबार बेलुका नै आफूहरु दाङ आइ प्रहरी प्रशासन र ट्रकधनीसँग छलफल गर्न खोजे पनि बेवास्ता गरेका कारण आइतबार बिहानैदेखि सडक बन्द गर्नुपरेको बताएका थिए ।

पीडितको आवाज कसैले नसुनेपछि बिहान ७ बजेदेखि घोराहीस्थित तुलसीपुर चोकमा यातायात अवरुद्ध गर्न बाध्य भएको र त्यही क्रममा प्रहरीले आफूहरुलाई जबरजस्ती उठाएर लगेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *