भैरहवाका मेयर उम्मेदवार पूर्वराजाको अभिनन्दन समारोह संयोजक बनेपछि एमालेमा खैलाबैला – Nepal Press

भैरहवाका मेयर उम्मेदवार पूर्वराजाको अभिनन्दन समारोह संयोजक बनेपछि एमालेमा खैलाबैला

एमाले नेता बस्याल भन्छन्- अहिलेसम्म एमालेमै छु, केही पाउने भए राजातिर जाने हो तर लिखित सम्झौता भएको छैन

रूपन्देही । नेकपा एमालेबाट गत स्थानीय तह निर्वाचनमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा मेयरको उम्मेदवार बनेका डा. रामप्रसाद बस्याल पूर्वराजा ज्ञानेन्द्र शाहको अभिनन्दन कार्यक्रमको संयोजक बनेका छन् । पार्टीलाई कुनै जानकारी नदिई यो अभियानमा लागेपछि जिल्ला नेतृत्वले उनलाई पटक पटक बोलाए पनि उनले भेटेका छैनन् ।

पूर्वराजा शाहलाई पुस दोस्रो साता भैरहवामा अभिनन्दन गर्न बनाइएको मूल समिति संयोजकको जिम्मेवारी बस्यालले लिएका छन् ।

बस्याल एमालेका पूर्वलुम्बिनी प्रदेश कमिटीका सल्लाहकार हुन् । गत स्थानीय तह निर्वाचनमा एमालेबाट मेयर उम्मेदवार भए पनि उनी नेपाली कांग्रेसका इस्तियाक अहमद खानसँग पराजित भएका थिए ।

भैरहवाका पुराना वामपन्थी नेता बस्याललाई एमालेले मेयरको उम्मेदवार बनाएपछि भैरहवा क्षेत्रका अन्य एमाले नेताहरु असन्तुष्ट बनेका थिए । बस्याल उम्मेदवार बनेपछि सबैभन्दा बढी एमाले सिद्धार्थनगरका तत्कालीन नगर सचिव नारायणप्रसाद भण्डारी असन्तुष्ट बनेका थिए ।

आफूले नगरपालिकाको मेयरको टिकट पाउनेमा ढुक्क रहेर बसेका भण्डारी बस्यालले उम्मेदवारको लागि टिकट लिएर आएपछि एमालेप्रति असन्तुष्ट बनेका थिए । त्यही कारणले भण्डारीले एमाले छाडिसकेका छन् ।

एमाले रूपन्देही अध्यक्ष तेजेन्द्र केसीले पार्टी नीति र विधान बाहिर रहेर यस्तो गतिविधिमा संलग्न हुने छुट कसैलाई नभएको बताए ।

‘मैले पनि बाहिरबाट सुनेको छु, यो विषयमा धेरै पटक उहाँलाई बोलाएँ, भोलिलाई समय दिनुभएको छ, एमालेमा बसेर यस्तो गतिविधि गर्ने छुट कसैलाई छैन’, उनले भने ।

उता बस्यालले संयोजकको लागि मौखिक प्रस्ताव आएको तर लिखित नभएको जनाए ।

‘मौखिक प्रस्ताव भएको हो, लिखित केही छैन, केही पाउने भए जाने हो, त्यसै अब जाने कुरा हुँदैन, लिखित केही भएको छैन, सहमति भयो भने जान्छु, अहिलेसम्म एमालेमै छु, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर