दुई दशकपछि ला लिगामा नयाँ विजेताको छनक देखाइरहेको गिरोना, हल्लिरहेका छन् बार्सा र म्याड्रिड – Nepal Press

दुई दशकपछि ला लिगामा नयाँ विजेताको छनक देखाइरहेको गिरोना, हल्लिरहेका छन् बार्सा र म्याड्रिड

काठमाडौं । ला लिगामा एक साताअघि बार्सिलोना आफ्नै मैदानमा ४-२ गोलले पराजित भयो । रोबर्ट लेवान्डोस्की, पेड्री, जोवा फेलिक्स, इल्के गुन्डोगान जस्ता स्टार खेलाडीहरूले भरिएको बार्सिलोनालाई हराउने टोली थियो दुई सिजनयता मात्र स्पेनको पहिलो डिभिजन लिग खेलिरहेको गिरोना ।

लगातार तीन सिजन बी डिभिजन लिग खेलेको गिरोना सन् २०२२ मा पुनः ला लिगा उक्लिएको हो । पुनरागमनयता उसले पहिलो सिजन शीर्ष लिगमा १०औं स्थानमा रहेको थियो । जारी सिजनमा भने गिरोनाले बेजोड प्रदर्शन गरिरहेको छ ।

लिगले करिब आधा यात्रा तय गर्न लाग्दा गिरोना तालिकाको शीर्ष स्थानमा छ । गिरोनाको १७ खेलबाट ४४ अंक छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको समान खेलबाट ४२ अंक छ । बार्सिलोनाको १७ खेलबाट ३५ अंक छ ।

गिरोनाले यो सिजन ला लिगामा १४ जित र २ बराबरीको नतिजा निकालेको छ । एक खेलमा पराजित भएको थियो । उक्त हार रियल म्याड्रिडसँग थियो ।

प्रतियोगितामा ४१ गोल गरेको छ भने २० गोल मात्र बेहोरेको छ । यसै सिजन गिरोनामा भित्रिएका युक्रेनका २६ वर्षीय स्ट्राइकर आर्टेम दोभिक तथा ७ वर्षदेखि टोलीमा रहेका उरुग्वेका ३७ वर्षीय स्ट्राइकर क्रिस्टियन स्टुवानीले गिरोनाको अनुहार फेरिरहेका हुन् ।

दोभिकले यो सिजन ला लिगामा १० गोल र ४ असिस्ट गरेका छन् भने सर्वाधिक गोलकर्ताको सूचीमा दोस्रो स्थानमा छन् । शीर्षस्थानमा रहेका रियल म्याड्रिडका जुड बेलिङ्घमको नाममा १३ गोल र २ असिस्ट छ । स्टुवानीले ६ गोल र २ असिस्ट गरेका छन् ।

ला लिगामा गिरोनाले खेलेका पछिल्ला ३ खेलमा स्टुवानी वा दोभिक वा दुवैले गोल गरेका छन् । बार्सिलोनामाथी शानदार जित हात पार्नेक्रममा यी दुवै खेलाडीले एक एक गोल गरेका थिए। सोमबार राती एलाभेसमाथी प्राप्त ३-० गोलको जितमा दोभिक एक्लैले २ गोल गरे ।

सन् २०२१ यता युक्रेनको सिनियर राष्ट्रिय टोलीबाट खेलिरहेका दोभिकले २३ अन्तर्राष्ट्रिय खेलमा ७ गोल गरेका छन्। उनी युक्रेनबाहिर पहिलो पटक व्यावसायिक फुटबल खेलिरहेका छन् । स्टुवानी भने सन् २०१९ यता सिनियर राष्ट्रिय टोलीबाट खेलेका छैनन् ।

इङ्ल्यान्डमा मिडल्सब्रोका लागि दोस्रो डिभिजन लिग खेल्दै त्यसै सिजन प्रिमियर लिगमा पुर्‍याएका उनी त्यहाँ दुई सिजन रहेर गिरोना पुगेका हुन् । तर गिरोनाका लागि पनि दुई सिजन ला लिगा खेलेपछि क्लब दोस्रो डिभिजन झर्न पुग्यो । तर गिरोना र स्टुवानी दुवैले एक अर्कालाई छाडेनन् ।

२० क्लबले प्रतिस्पर्धा गर्ने ला लिगामा सन् १९९९/२००० यता नयाँ विजेता आउन सकेको छैन । अन्तिम पटक यस्तो सफलता डिपोर्टिभो लाकोरुनाले प्राप्त गरेको थियो । त्यसयता चार क्लबले मात्र यो प्रतियोगिता जितिरहेका छन् । त्यसमा पनि भ्यालेन्सियाले एकपटक र एट्लेटिको म्याड्रिडले २ पटक जितेको थियो भने बार्सिलोनाले ११ र रियल म्याड्रिडले ८ पटक यसबीचमा जितेका छन् ।

गिरोना समग्रमा केवल चौथो सिजन मात्र ला लिगामा प्रतिस्पर्धा गरिरहेको छ । सन् २०१७ मा पहिलो पटक ला लिगामा उक्लिएको गिरोना दुई सिजन मात्र त्यहाँ अडिएको थियो। त्यसपछि तीन सिजन बि डिभिजन खेलेर लगातार दोस्रो वर्ष अहिले ला लिगामा प्रतिस्पर्धा गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *