सभामुखले मोहन बस्नेत जिताउनेलाई धन्यवाद दिएपछि एमाले नेताले सोधे–होसमै बोल्नुभएको हो? (भिडिओ) – Nepal Press

सभामुखले मोहन बस्नेत जिताउनेलाई धन्यवाद दिएपछि एमाले नेताले सोधे–होसमै बोल्नुभएको हो? (भिडिओ)

स्वास्थ्य मन्त्री बस्नेतको आश्वासन– सभामुखले कोही विरामी सिफारिस गरेमा निःशुल्क उपचार गरिदिन्छु,अब उपचार नपाएर कसैले मर्नु पर्दैन

चौतारा । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सिन्धुपल्चोकमा आएर दिएको अभिव्यक्तिले एमाले पंक्तिलाई निराश बनाएको छ भने कांग्रेस पंक्ति उत्साहका साथ सभामुखले बोलेको भिडिओ सामाजिक संजालमा भाइरल बनाउँदैछ ।

नेकपा एमालेबाट निर्वाचित सभामुखले कांग्रेस नेता तथा स्वास्थ्य मन्त्री मोहन बस्नेतको बारेमा प्रशंसा गर्ने क्रममा धेरै नै भाबुक भएर ‘यस्तो नेतालाई जिताउने जनतालाई धन्यवाद’ भन्दै अझै पनि जिताउन अपिल गरेपछि कांग्रेसजन हर्षविभोर भएका छन् ।

इन्द्रावती गाउँपालिका–६ बाँडेगाउँमा रहेको नेपालकै पुरानो मध्येको एक सिपातिनघरे संस्कृत माध्यमिक विद्यालयको १२१ औ बार्षिकोत्सव तथा श्रीमतभागवत ज्ञान महायज्ञ समापन कार्यक्रमका प्रमुख अतिथी थिए सभामुख देवराज घिमिरे ।

कार्यक्रममा विशेष अतिति स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत थिए भने अन्य अतिथि नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री शेरबहादुर तामाङ,इन्द्रावती गाउँपालिकाका अध्यक्ष तथा एमाले नेता झम्क नेपाल लगायत कार्यक्रममा सहभागी थिए ।

नेपालको संस्कृत पढाइ हुने मध्येको यो पनि एक पुरानो विद्यालय हो । विद्यालयले गत वर्षदेखि गुरुकुल संस्कृति पढाइको आवसीय रुपमा सुरुवात गरेपछि त्यसको सञ्चालनको लागि आर्थिक संकलन गर्ने उदेश्यले पुराण लगाइएको थियो ।

प्रमुख अतिथी सभामुख भन्दा अगाडि स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले बोलेका थिए । बस्नेतले लामो समय आफूले शिक्षा क्षेत्रमा सिन्धुपाल्चोकमा कोचिङ कक्षा सञ्चालन गरेको,कोभिडको समयमा सिन्धुपाल्चोकमा स्वास्थ्य सामग्री वितरण गरेका लगायतका विषयमा आफ्नै बखान गरेका थिए ।

अहिले स्वास्थ्यमन्त्री भएपछि पैसाको अभावमा कोही पनि मर्नु नपर्ने गरेर आफूले काम गरेको र सभामुखले पनि कोही मान्छे सिफारिस गर्नु भयो भने आफूले निःशुल्क उपचार गर्ने बताएका थिए ।

स्वास्थ्य मन्त्री बस्नेतको भनाई सुनेपछि सभामुख घिमीरे निकै भावुक भएछन् र उनको भनाई पत्याउदै यस्ता नेतालाई जिताएकोमा सिन्धुपाल्चोक क्षेत्र नम्बर–२ का जनतालाई धन्यवाद समेत दिन भ्याएका थिए ।

सभामुखले नेता भनेको मोहन बस्नेत जस्ता चाहिने, र अहिले धेरै काम गर्ने नेतामध्ये मोहन बस्नेत भएको बताएका थिए । आगामी दिनमा पनि यस क्षेत्रका जनताले मोहनबहादुर बस्नेत जस्ता नेतालाई जिताउनु पर्नेमा सभामुख घिमीरेले जोड दिएका थिए ।

उक्त कार्यक्रममा सभामुख घिमीरेले यस्तो भनेका थिए –

माननीय स्वास्थ्यमन्त्रीले आफ्ना प्रतिबद्धता, योजना र अठोटहरु प्रष्टरुपमा केही ऐतिहासिक पृष्ठभूमिसहित राख्नुभएको छ । हामीलाई वास्तवमा त्यस्तै नेता चाहिएको छ । जसले जे कुन गर्नसक्ने हो, त्यही भन्नुभएको छ । भन्नुभएको कुराहरु गरेर देखाउनु भएको छ । अब गर्ने काममा उहाँले शिक्षा स्वास्थ्यको क्षेत्रमा जे गर्छु भन्नुभएको छ, त्यो सफलताको लागि शुभकामना दिन चाहन्छु । उहाँले यहाँ भन्न भ्याउनु भएन । उहाँलाई धेरै कुरा भन्दा असजिलो पनि भयो होला । उहाँले मलाई भन्नु भएको छ– म अहिले स्वास्थ्यमन्त्री छु, पैसाकै अभावमा कसैलाई मर्न दिन्नँ भन्नु भएको छ । मलाई फोन गर्नुभयो भने म जसरी पनि बँचाउछु भन्नुभएको छ । यस्तो माननीय ज्यूलाई जिताउनु हुने यहाँका जनताप्रति आभारी छु । र यो सिन्धुपाल्चोकको सिपा तीनघरेको सँस्कृत माविको यो कार्यक्रममा उहाँलाई धन्यवाद दिन पाउँदा म आभारी छु ।

आफ्नै पार्टीबाट सभामुख निर्वाचित भएका व्यक्तिले आफ्नै अगाडि प्रतिद्वन्द्वीको बखान गरिरहँदा पूर्व स्वास्थ्य मन्त्री तथा नेकपा एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ भने असहज महशुस गरिरहेका थिए । एक वर्षअघि प्रतिनिधि सभा निर्वाचनमा एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ र मोहन बस्नेतबीच प्रतिष्पर्धा भएको थियो ।

भुगोलको वास्तविकता नबुझी एकोहोरो बस्नेतको प्रशंसा गरेको भन्दै एमालेका नेताहरुले अहिले चर्काे रुपमा सभामुखको आलोचना गरिरहेका छन् ।

एमाले पोलिटब्युरो सदस्य अरुण नेपालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– सभामुख ज्यू तपाँइ होसमा त हुनुहुन्छ नि? होसमै यो सबै बोल्नु भएको हो? तपाँइको मर्यादा अनुसार यस्तो बोल्न हुन्छ कि हुँदैन ?

एमाले सिन्धुपाल्चोकका नेता एवम जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका पुर्व प्रमुख कृष्णगोपाल तामाङले पनि सभामुख घिमिरले एमालेका नेता कार्यकर्ताहरुको आत्मसम्मानमा चोट पुग्ने गरेर दिएको अभिव्यक्ति गलत भएको बताएका छन् ।

सामाजिक सञ्जालमा तामाङले घिमिरेले बोलेको सच्याउनु पर्ने नत्र सिन्धुपाल्चोकका एमाले नेता कार्यकर्ताहरुले सबै उनको आलोचना गरिरहने बताए । सिन्धुपाल्चोकमा एमाले र कांग्रेसकोबीचमा राजनीतिक प्रतिष्पर्धा रहेको छ ।


प्रतिक्रिया

One thought on “सभामुखले मोहन बस्नेत जिताउनेलाई धन्यवाद दिएपछि एमाले नेताले सोधे–होसमै बोल्नुभएको हो? (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर