बलात्कार मुद्दामा रेड नोटिस जारी भएका लामा कुवेतबाट पक्राउ
काठमाडौं । जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका एक व्यक्ति कुवेतबाट पक्राउ परेका छन् ।
काभ्रेपलान्चोक चौरीदेउराली गाँउपालिका- ८ घर भएका ३१ वर्षीय उमेश लामा पक्राउ परेका हुन् । उनी कुवेतमा वैदेशिक रोजगारीमा रहेको प्रहरीले जनाएको छ ।
कुवेत प्रहरीको समन्वयमा लामालाई पक्राउ गरी मंगलबार नेपाल ल्याइएको छ । लामाविरुद्ध भक्तपुरको प्रहरी वृत्त जगातीमा जबरजस्ती करणी मुद्दा दर्ता भएपछि अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेको खुल्न आएको
थियो ।
अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्न नेशनल सेन्ट्रल व्युरो (एनसीबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८० असोज ११ गते उनीविरुद्ध रेड नोटिस जारी भएको थियो ।
घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।