भारतीय र पाकिस्तानी राजनीतिमा ‘एआई’को सानदार प्रवेश : नेपालमा कस्तो बाछिटा आउला ?
आइतबार भारत र पाकिस्तानबाट दुई रोचक समाचार आए । ती समाचार भारत र पाकिस्तान तनावका थिएनन् । ती समाचार भारत र पाकिस्तानी सकसका पनि थिएनन् । ती समाचार भारत र पाकिस्तानका सर्वाधिक चासोमा रहेका दुई राजनीतिक मुहारले गरेको कृत्रिम प्रज्ञा अर्थात् एआईको राजनीतिक प्रयोगको बारेमा थियो । भारतको विश्वस्तरीय धार्मिकधाम तथा नरेन्द्र मोदीको चुनाव क्षेत्र बनारसमा मोदीले आइतबार भाषण गरे । त्यो भाषण मोदीको राजनीतिक तथा चुनावी जीवनको लागि एक अर्को औसत भाषणमात्रै भए पनि प्रविधिको प्रयोग खासगरी एआईको प्रयोगको कोणमा एक ‘ब्रेक थू्र’ थियो । मोदीले हिन्दीमा बोले । उनकै आवाजमा सोही समयमा तमिल भाषामा पनि भाषण आयो । त्यो रेकर्डेड भाषण थिएन । उनकै आवाजमा हिन्दीसँगै आएको तमिल भाषण थियो ।
वैदिक सनातनी धर्मको मिथकमा पाइने ‘हजार मुख भएका शेषनाग’ का कथाहरु सुनेका हिन्दी तथा तमिल भाषी भारतीयहरुले आइतबार मोदीका दुई मुख एकै पटक देख्न पाए । दुवै मुखबाट एकै भाषण तर, दुई फरक फरक भाषामा सुन्न पाए । भाषाको कोणमा मात्रै होइन, भूगोलको कोणमा पनि आइतबारको मोदी मन्तव्य महत्वपूर्ण थियो । उनी हिन्दीमा भाषण गरिरहेका थिए उत्तरी भारतमा । तर, सोही समयमा उनको भाषण अर्को भाषाबाट पुगिरहेको थियो दक्षिणी भारतका विशाल जमातमा । भारतमै विकास भएको भाषिनी नामक एआई एपबाट मोदीको आवाज तमिलमा गएको थियो ।
आइतबारै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जस्तै कथा पाकिस्तानमा पनि तयार भयो । त्यो कथाका पात्र पूर्वप्रधानमन्त्री इमरान खान हुन् । खान अहिले पाकिस्तानी सत्ताले लगाएका विभिन्न मुद्दामा जेलमा छन् । उनले जेलबाटै एक चिर्कटोमा केही लेखे । त्यो चिर्कटोमा खानले लेखेको कुरा खानकै आवाजमा कार्यकर्ताहरुमाझ पुग्यो, जनतामाझ पुग्यो । खानको शब्दमा र खानको आवाजमा आएको भाषणको शब्द खानकै भए पनि ध्वनि भने उनको रुद्रघण्टीबाट आएको थिएन । एआईबाट आएको थियो । मोदीको जस्तो आफ्नै देशमा बनेको एप वा विदेशी एपमा कसरी खानको भाषण गयो भन्ने यकिन भएको छैन । तर, यति चै पक्कापक्की छ कि खानको भाषण एआईले ग¥यो ।
चुनावी मैदानमा भएका भारतीय प्रधानमन्त्री मोदीको हिन्दी भाषण तलिममा एकै पटक पुग्नु र जेलभित्र बसेकै समयमा आफ्ना समर्थक तथा जनतालाई पाकिस्तानका पूर्वप्रधानमन्त्री खानको भाषणले दक्षिण एसियाली क्षेत्रको राजनीतिको मूलधारमा एआई प्रवेशको भव्य संकेत गर्छ । राजनीतिको मूलधारले एआईलाई स्वीकार गरेको उदाहरण हो यो । यो एआईको उज्यालो पाटो भयो ।
भोलिका दिनमा यस्तै कला चुनावी मैदानमा एआईबाट बनाइएको नभनिकन कतै गोप्य छलफलमा बोलेको, कतै फोनमा बोलेको त कतै सभामा सम्बोधन गरेको जस्तो बनाएर चुनावी मिथ्या सूचनामा प्रयोग हुँदैन भन्न सकिन्न ।
अब अँध्यारो पाटोको कुरा गरौं । चुनावी अभियानमा नेताको बोली महत्वपूर्ण हुन्छ । विभिन्न जातजाति, भाषाभाषी, समुदाय र क्षेत्रहरुको मिश्रित बसोबास भएको नेपाल जस्तो देशमा यसका अँध्यारा पाटाको चर्चा आवश्यक छ । खासगरी छिनभरमै गठबन्धन भत्कने र बन्ने देशको दल तथा नेता कार्यकर्ताहरुलाई एआईका अँध्यारा पाटाहरुले सताउने सम्भावना छ । अहिले हामी मोदीले हिन्दीमा बोलेको भाषण एआईले तमिलमा बोलेकोमा खुशी छौं । तर, यस्तो दिन आउनसक्छ, मोदीले बोल्दै नबोलेको भाषण उनकै भाषण भनेर उनका विपक्षीहरुले फैलाउन सक्छन् । त्यसले समाजमा हलचल र अशान्ति फैलाउन सक्छ ।
अहिले हामी इमरान खानले जेलबाटै लेखेको कुरा एआईले उनकै आवाजमा पढेको भनेर खुशी छौं । भोलिका दिनमा इमरान खानले होइन, उनका विपक्षीले लेखेको समाज र शान्ति भड्काउने आवाजमा भाषण आएमा त्यसबाट धेरै मूल्य चुकाउने दिन आउनसक्छ । अहिले नेपाली टिकटकमा एआई आर्टिस्ट भन्ने एक ह्याण्डल आएको छ । त्यहाँ नेपाली गीतमा भारतीय तथा तेस्रो देशका गायकहरुले स्वर दिएको हुबहु झैं लाग्ने सामग्री आएका छन् । त्यहाँ भारतीय गीतमा नेपाली कलाकारका आवाज हुबहु झैं लाग्ने खुराकहरु पनि आएका छन् । अरु त अरु पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली र शेरबहादुर देउवाको दोहोरीका अडियोहरु आएका छन् । अडियोमात्रै सुनेर एआईको बारेमा जानकारी नभएको जोकोहीले पत्याउने स्तरका सामग्रीहरु आएका छन् ।
‘एआई आर्टिस्ट नेपाल’ले त जानकारी दिएरै एआईबाट बनाएका सामग्री हुन् भनेको छ । भोलिका दिनमा यस्तै कला चुनावी मैदानमा एआईबाट बनाइएको नभनिकन कतै गोप्य छलफलमा बोलेको, कतै फोनमा बोलेको त कतै सभामा सम्बोधन गरेको जस्तो बनाएर चुनावी मिथ्या सूचनामा प्रयोग हुँदैन भन्न सकिन्न । सामाजिक सञ्जालमा लेखिएका पोस्टहरुमा परेका उजुरीमा त हम्मेहम्मे पर्ने नेपाल प्रहरीको साइबर व्युरोले एआई उजुरीहरुलाई प्रभावकारी रुपमा सम्बोधन गर्ने दक्षता छैन । प्रविधिलाई निषेध गर्न पनि नसक्ने र नियमन गर्न पनि योग्यता नपुग्ने अवस्था देखिनसक्छ ।
खासगरी चुनावी समयमा कुनै दल विशेषका विपक्षीहरुले एआईको दुरुपयोग गरेर राजनीतिक रोटी सेक्ने सम्भावना छँदैछ । त्योभन्दा बढी समस्या त समाजका आपराधिक मानसिकता र धन्दा भएकाहरुले शान्ति भाँड्दै आफ्नो दुनो सोध्याउन एआईलाई औजार बनाउने सम्भावना सन्निकट छ । ९० प्रतिशत बढी इन्टरनेटको पहुँचमा पुगेको नेपाल जस्तो देशमा त इन्टरनेटबाटै हुने एआईको दुरुपयोग हुने आधार झनै बलियो छ । नेपालको विभाजित राजनीति, प्रतिस्पर्धी भूराजनीति तथा निराश नागरिक जमात भएको समयमा एआईको दुरुपयोगको र त्यसले संगीन घडीमा पार्ने गम्भीर संकटहरुका बारेमा अहिलेबाटै चेतनास्तरमा जनता र जनशक्तिस्तरमा राज्य तयार हुनुपर्छ । यद्यपि, यो सजिलो भने छैन । डिजिटल साक्षरताको युगमै डिजिटल साक्षर हुन नसकेको नेपाली समाजले एआई साक्षरताको पहुँच कसरी निर्माण गर्ला ? यो समयको गम्भीर सवाल यही हो ।