जनताले देशको बागडोर एमालेको हातमा सुम्पिन चाहेका छन् : विष्णु पौडेल (भिडिओ)
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले नेपाली जनताले मुलुकको शासनको बागडोर एमालेलाई सुम्पिन चाहेको बताएका छन् ।
पार्टीको झुलाघाट–चिवाभञ्ज्याङ यात्राको क्रममा जनताले भोगेका सबै समस्याको समाधान गर्न पनि मुलुकको शासन सत्ता एमालेले लिनुपर्ने र त्यसको नेतृत्व पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुपर्ने आम जनताको चाहना रहेको आफूहरूले पाएको उपाध्यक्ष पौडेलको दाबी थियो ।
न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै उनले आम जनताले आफूहरूको यात्राको क्रममा एमालेप्रति असाधारण आशा, भरोसा र विश्वास गरेको जिकिर गर्दै त्यसलाई महत्त्वपूर्ण पूँजीको रूपमा ग्रहण गरेर अघि बढ्ने बताए ।
देशलाई सुख, शान्ति र समृद्धिको यात्रामा अघि बढाउन एमालेको विकल्प नभएको पनि यात्राको क्रममा अनुभूति भएको उपाध्यक्ष पौडेलको भनाई छ ।
उनले पार्टी अध्यक्ष ओलीप्रति देशभरका सबै उमेर समूहका मानिसहरूको असाधारण आकर्षण रहेको पनि बताए ।
उपाध्यक्ष पौडेलले संकल्प यात्राको क्रममा पाएका सबै सुझावहरूलाई सूचिकृत गरेर एमालेले आगामी दिनमा अघि बढ्ने पनि बताए ।