आईपीएलमा नबिकेकै दिन साल्टले हिर्काए १० छक्कासहित ११९ रन
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको आगामी संस्करणका लागि मङ्गलवार भएको अक्सनमा इङ्ल्यान्डका फिल साल्ट बिकेनन् ।
एक करोड ५० लाख भारु आधार मूल्य तोकेका साल्टले सोही दिन भएको टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा शानदार ब्याटिङ गरे ।
उनको एक सय १९ रनको पालीमा इङ्ल्यान्डले वेस्ट इन्डिजलाई २ सय ६८ रनको लक्ष्य दिएको थियो । वेस्ट इन्डिजले एक सय ९२ रन मात्र जोडेपछि इङ्लिस टोली ७५ रनले विजयी भयो ।
विकेटकिपरसमेत रहेका प्रारम्भिक ब्याट्सम्यानले साल्टले ५७ बलमा १० छक्का र ७ चौका प्रहार गरेका थिए ।
उनले कप्तान जोस बटलरसँग पहिलो विकेटका लागि ९.५ ओभरमा एक सय १७ रनको साझेदारी गरेका थिए ।
बटलरले २९ बलमा ५५ रन जोडे । २१ बलमा ४ छक्का र चार चौका प्रहार गरेका लायम लिभिङ्स्टोन ५४ रनमा अविजित रहे ।
इङ्ल्यान्डले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा यसअघि यति धेरै रन बनाएको थिएन ।
वेस्ट इन्डिजले १५.३ ओभरमा सबै विकेट गुमाएको थियो । आन्द्रे रसेलले ५१ र निकोलस पुरनले ३९ रन बनाए ।