कंगोको शान्ति मिसन बन्द गर्ने निर्णयबारे नेपाली सेना बेखबर, जान ठिक्क परेका अलमलमा – Nepal Press

कंगोको शान्ति मिसन बन्द गर्ने निर्णयबारे नेपाली सेना बेखबर, जान ठिक्क परेका अलमलमा

काठमाडौं । डेमोक्रेटिक रिपब्लिक अफ कंगोबाट संयुक्त राष्ट्रसंघले शान्ति सेना फिर्ता गर्ने निर्णयबारे नेपाली सेना बेखबर रहेको छ । सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले नयाँ निर्णयबारे आधिकारिक रूपमा केही जानकारी नआएको बताए ।

उनले नेपाल प्रेससँग भने, ‘मैले पनि मिडियाबाट थाहा पाएँ । अहिलेसम्म हामीलाई कहीँबाट आधिकारिक जानकारी आएको छैन । पूरै बन्द हो कि संख्या कटौती हो या के हो केही जानकारी आउला ।’

सैनिक स्रोतका अनुसार केही समयअघि देखि नै मिसन बन्द हुने चर्चा भने चलिरहेको थियो ।

यता राष्ट्रिय/अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा कंगोको शान्ति सेना बन्द भएकोबारे समाचार आएपछि मिसन जान तयारीमा बसेकाहरू अलमलमा परेका छन् । तालिम सकेर बसेका एक अधिकृतले भने, ‘हाम्रो फ्लाइट टिकटसमेत जनवरी दोस्रो सातालाई फिक्स भइसकेको थियो । सबै साथीहरू अलमलमा परियो ।’

मंगलबार बसेको १५ सदस्य संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकले सर्वसम्मतरूपमा कंगोबाट शान्ति सेना फिर्ता गर्ने निर्णय गरेको अलजजिराले उल्लेख गरेको छ ।

बुधबाबाट कंगोमा संसदीय तथा राष्ट्रपतीय चुनाव हुन लागेको बेला एक दिनअगाडि यस्तो निर्णय भएको हो । कतारी विश्व च्यानल अलजजिराका अनुसार शान्ति सेनाले शान्ति ल्याउन नसकेको भन्दै कंगो सरकारले लामो समयदेखि शान्ति सेना फिर्ता गर्न माग गरेको थियो । त्यसैको प्रतिक्रियामा सुरक्षा परिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

यही वर्षको अन्तिमसम्ममा कंगोमा भएका १४ हजार विदेशी शान्ति सेना फिर्ता हुने बताइएको छ । नेपाली सेनाका तर्फबाट कंगोमा ११५२ सैनिकहरू खटिइएको नेपाली सेनाको तथ्यांक छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *