त्यो क्रान्तिकारी विवाह, यो तामझाम (भिडिओ)
प्रचण्डको ‘जनवादी संस्कृति’ मा आएको विचलन नियालिरहेको एक क्रान्तिकारी दम्पतीको कथा
यो व्यक्ति चित्र होइन । न चरित्रको चित्रण नै हो । तर, यहाँ कथा छ । व्यथा छ । सिंगो देश बदल्ने सपना तुहिएको व्यथित कहानी छ । युद्धमा होमिएकी एक छोरीको जीवनगाथा छ । जजमान बुबाले अपराध मानेको पार्टीमा लागेको युवाको मनोविज्ञान छ । जसले समाज परिवर्तनको सपना देख्यो । ज्यानभरि परिवर्तनको अभिलाषाले दिएका निर्मम शारीरिक चोटका नीलडाम बोकेर आज पर्यन्त हिँडिरहेको छ । मानसिक रुपमा बोकेको चोट त कसले देखोस् ! तिनै साहसिक योद्धाले तुहिएको सांस्कृतिक, आर्थिक रुपान्तरणको वर्तमानमा महसुस गरेको कथा यहाँभित्र छ ।
०००
त्यो उनको विवाहको दिन थियो । उनी दुलही बन्दै थिइन् । उनलाई भने कुनै हतारो थिएन । श्रृङ्गारको तयारी पनि थिएन । निम्तालु आवतजावतको लर्को थिएन । न जग्गे सजाइएको थियो न त थियो लुगाफाटोको जोहो नै ।
हो, त्यो दिन उनकै विवाह थियो । साइत पनि जुरिसकेको थियो दिउँसो ३ बजे ।
२०६३ साल पुस १० ।
बिहानभर शारदानगर क्याम्पसमा भाषण गर्दै थिइन् । जनतालाई सर्वहारा वर्गको हित कसरी हुन्छ, आफू र आफ्नो पार्टी त्यसको लागि कसरी समर्पित छ बुझाउँदै थिइन् ।
हिजोआजका तामझामपूर्ण विवाह देख्नेहरुलाई विवाहको दिन बेहुली भाषणमा भन्ने सुन्दा होइन होला झैं पनि लाग्छ । जसको सिद्धान्त सर्वोपरि मानेर नेता स्वीकार गरेको नेतृत्वको परिवार आज लाखौं खर्चिएको तामझाममा विवाह उत्सव मनाउँछन् । तर, त्यस दिनको सत्य त्यही थियो, उनलाई मात्रै होइन, उनका आफन्त परिवारलाई पनि विवाहको जोहो गर्नुपर्ने हतारो थिएन ।
भात खाइवरी गुञ्जानगरबाट भरतपुरको ओरालोमा रहेको पार्टी कार्यालयको हलमा पुगिन् उनी । ड्रेस थियो, ऊनी चेक सर्ट (जेल बस्दा सिलाएको) र पाइन्ट । उनको ‘पुरुष’भेषी वैवाहिक पोशाक देखेर साथीहरुले जिस्क्याएका पनि थिए– विहेको दिन कम्तीमा कुर्ता त लगाउनु नि !
हुन त जनवादी संस्कृतिको स्थायित्व र वर्गीय उन्मुक्तिको अभिलाषामा सारी लगाएर ग्रिनेट बोकी हिँडेको अनुभव पनि थियो उनीसँग । सारी लगाउनु कुनै कठिन काम थिएन । त्यो थियो उद्देश्य केन्द्रित पोशाक, सारी ।
यो थियो विवाह ।
उनकै भाषामा भन्दा विचार र व्यवहार मिल्ने व्यक्तिसँग जीवनको सहकार्य । जीवन नै समाजलाई संस्कृतिमा, वर्ग उन्मूलनमा अग्रगामी छलाङ मार्ने सपना बोकेर अघि बढेको एक राजनीतिक सिपाही ।
आफू जस्तै राजनीतिक सिपाही रोज्न किन चाहिन्छ सारी चोलो ? किन चाहिन्छ लाली पाउडर !
पार्टीकै विशेष पहलमा भएको विवाह थियो त्यो । भरतपुरको ओरालोमा रहेको तत्कालीन नेकपा माओवादीको पार्टी कार्यालय थियो विवाह उत्सव हुने स्थल । सभाहलमा मानिस करिब २ हजार बढी थिए । तर, ती सबै विवाहको निम्तालु थिएनन् । जिल्ला खेलकुदको कार्यक्रममा सहभागी खेलाडी र सीमित संख्यामा आफन्त थिए । अगाडि ब्यानरमा सेतो इनामेलले लेखिएको थियो, जनवादी वैवाहिक कार्यक्रम क. अञ्जना+क. विप्लव, १० पौष २०६३ ।
वैवाहिक कार्यक्रम सुरु भयो । तत्कालीन माओवादी जिल्ला इन्चार्ज सूर्य सुवेदी ‘पथिक’ ले कार्यक्रम सुरु गरे । अञ्जना र विप्लवले एकअर्कालाई रातो टीका लगाइदिए, माला लगाइदिए । दाहिने हात मिलाए, हलबाट पर्ररर ताली आयो । दुई जनाले छोटो भाषण पनि गरे । त्यसपछि विवाह सम्पन्न ।
०००
कमरेड अञ्जना अर्थात् अम्बिका मुडभरी र कमरेड विप्लव (पछि उपनाम फेरेर विपीन बनाइएको) अर्थात् नारायण शर्माको विवाह भएको यही पुस १० गते १७ वर्ष पूरा हुँदैछ । विवाहको १७ वर्ष बीचमा उनीहरुले कम्युनिष्ट (प्रचण्ड नेतृत्व) आन्दोलनप्रतिको वितृष्णा बोक्नेमात्रै होइन भोगे पनि ।
‘जब आर्थिक विचलन आउँछ, साँस्कृतिक विचलन पनि सँगसँगै आउने रहेछ’- २०५३ सालदेखि अनेरास्ववियु (छैटौं) माओवादी युद्धको हिस्सा बनेकी अम्बिका र झापा घर भए पनि पश्चिम बंगालबाट अखिल भारत नेपाली विद्यार्थी संघमा आवद्ध भएर प्रवास (भारत) मा बसी नेपालको जनयुद्धलाई सघाएका विपीनको संयुक्त बुझाइ हो यो ।
नुवाकोटमा जन्मिएकी अञ्जनाले बाल्यकालदेखि दिदीले पढ्न सुरु गर्दा परिवारबाटै गर्नुपरेको युद्ध देखेकी थिइन् । त्यो युद्ध जित्दै दिदीबहिनीले नै पढाइको यात्रा अघि बढाएका थिए । त्यही समयमा सुरु भएको पञ्चायतविरोधी अभियान हुँदै जीवन नै राजनीतिमा होमिदिइन् ।
जसरी उनकी दिदी लक्ष्मी मुडभरीले सशस्त्र युद्ध सुरु हुनुपूर्व २०५१ सालदेखि होलटाइमर भएर माओवादीमा जीवन सुम्पिएकी थिइन् । अम्बिकाको आदर्श दिदी लक्ष्मी नै हुन् । लक्ष्मी सशस्त्र युद्धमा यसरी होमिएकी थिइन् कि आफ्नी छोरीलाई मातृवात्सल्य पनि दिन पाइनन् ।
जेलमा छोरी जन्माइन् । जेलबाट निस्किँदा परस्त्रीसँग सम्पर्क राखेकाले श्रीमानलाई पार्टीले सांस्कृतिक कारबाही गर्यो । पछि सम्बन्ध विच्छेद गरिन् श्रीमानसँग । नौ महिने छोरी माइतीमा जिम्मा लगाएर फेरि पार्टीमा सक्रिय भइन् । तर, माओवादी शान्ति प्रक्रिया हुँदै सत्तामा आएपछि पार्टी सञ्चालनमा लागेको ४० लाख बढी ऋण आफ्नै टाउकोमा थोपरिदिएपछि उनी सक्रिय राजनीतिबाट राजनीनामा दिएर काभ्रेमा सामान्य कृषकको जीवन बिताइरहेकी छन् ।
अञ्जना र नारायणको जीवन पनि लक्ष्मीको जस्तै जस्तै छ अहिले । उनीहरुको पनि मूल कर्म कृषि हो । नारायण उर्फ विपीन त अहिले पूर्णकालीन कृषक जस्तै भएका छन् । डेढ विगाहा जमिनमा केरा खेती गरेका छन् । त्यसैको रेखदेखमा धेरै समय बित्छ उनको ।
अञ्जना भने अझै राजनीतिक रुपमा क्रियाशील छिन् । तर, सत्ता सञ्चालनको मूलमा रहेका प्रचण्ड पार्टीको कार्यकर्ता बनेर होइन । त्यसैले त हिजोआजको तामझाम देख्दा उनीहरुलाई लाग्छ- विचारमा विचलन आएकाले अपेक्षा टुंगिसकेको मानिसमा आएको सांस्कृतिक विचलनले हामीलाई के दुःख ! दुःख त त्यतिबेलासम्म लाग्छ जतिबेलासम्म ऊप्रतिको अपेक्षा बाँकी रहन्छ ।
अम्बिका र विपीनले २०६९ सालमै पार्टी विभाजनमा प्रचण्ड नेतृत्वको मूल पार्टी छोडेका थिए । खरिपाटी भेलामा प्रचण्डको प्रतिवेदनलाई चुनौती दिएर मोहन वैद्य किरणले ल्याएको अर्को प्रतिवेदनमा सहमत भएसँगै ११ वर्षअघि नै उनीहरुले बाटो फेरेका थिए ।
दर्शनबाट ओरालो लागेपछि भत्किएको आलीबाट माटो बगे जस्तै राजनीतिक दल पनि तलतल बग्दै जाने रहेछ, अहिले प्रचण्डको व्यवहार र समाज परिवर्तनको भाषण सुन्दा उनीहरुलाई यस्तै लाग्छ ।
तर, उनीहरु स्वयंले पनि आफ्नो निष्ठा आजसम्म विचलित हुन दिएका छैनन् । विवाहको लागि पार्टीले स्वीकृति दिनुपर्थ्यो । उनीहरुको त चितवन जिल्ला पार्टीले नै जुराइदिएको विवाह थियो । विवाह गरे पनि विवाहको परम्परागत मान्यताबाट उनीहरु माथि उठे ।
विपीनको घर टाढा झापा थियो । विवाहको दिन विपीन ससुराली घर गए । अञ्जनाको माइतीले पनि ज्वाइँ भित्र्याउन सहर्ष स्वीकार गर्यो । ज्वाइँ भित्र्याउने शब्द सायद यहाँ पुरातन हुन्छ होला, छोरीको सहयात्री स्वीकार ग¥यो उनको परिवारले ।
विवाहको दुई वर्षपछि विपीनको बुबाले संसार छोडे । जग्गा बेचेर बुबाको उपचार गर्दागर्दा बाँकी रहेको थोरै रकमबाट चितवनको प्रेमवस्तीमा १० धुर जग्गा किन्ने बेला पनि उनीहरुले पार्टीको स्वीकृति लिनुपरेको थियो ।
अञ्जना सम्झिन्छिन्, ‘म त कानमा लगाएको सुनको मुन्द्रा पनि पार्टीलाई बुझाएर राजनीति गर्न हिँडेको मान्छे । जग्गा किन्ने बेला पनि बुबाको मृत्युपछि बाँकी पैसाको पोको लगेर पार्टीलाई बुझायौं । त्यसपछि १० धुर जमिन किन्ने सहमतिको लागि लिखित निवेदन दियौं । पार्टीले स्वीकृति दिएपछि किनेको हो ।’
आज त्यही १० धुर टुक्रोमा बनेको घरमा एक छोरी, अम्बिकाको बुबाआमासहित उनीहरुको दम्पती बस्छन्, सहयात्रा गर्छन् ।
अम्बिका चितवनको पार्टीको तत्कालीन माडीबाहेक पश्चिम चितवनका गाविसहरुको पार्टी इन्चार्ज थिइन् । उनी राजनीतिमा विपीनभन्दा अगाडिकी हुन् । त्यसैले आज पनि राजनीतिक अगुवा नै छिन् । उनका राजनीतिक सहकर्मीहरु लाखापाखा लागिसके । अम्बिका विपीनको जोडी जुराइदिने चितवनको नेतृत्व हाँकेकी शोभा कट्टेल प्रतिभा राजनीतिक गञ्जाजोल छोडेर उहिल्यै बेलायतमा स्थापित भइसकेकी छन् । त्यस्ता सयौं छन्, जसले राजनीतिक जीवन त्यगिसके ।
प्रचण्ड नेतृत्वसँग वितृष्णा आए पनि उनी सक्रिय राजनीतिमै छिन् । मोहन वैद्य नेतृत्वको महिला संगठनको केन्द्रीय अध्यक्ष हुन् अम्बिका । अहिले नारायण पदीय जिम्मेवारीमा छैनन् । पदीय जिम्मेवारीमा नहुनुको कारण सुनाउँदै भने, ‘होलटाइमर भएर घर नचल्ने रहेछ । परिवारको आर्थिक व्यवस्थापन पनि महत्वपूर्ण रैछ । पार्टीले त उसै पनि सहयोग गर्दैन । त्यसैले हामीले दुईमध्ये एकमात्रै सक्रिय राजनीतिमा रहने निर्णय गर्यौं ।’
निर्णयमा सहमति दुबै जनाको भए पनि प्रस्ताव नारायणको थियो सक्रिय राजनीति अम्बिकाले गर्ने ।
किन ?
उनले अगाडि भने, ‘शान्ति प्रक्रियामा आएपछि पार्टीको होलटाइमर भएका २२५ जना महिलामध्ये अधिकांशले गृहिस्थी रोजे । हामी समानताको कुरा गरेर अघि आएको मान्छे । भूगोल सम्पन्नमा बस्छौं । दलित होइनौं । तर, लैंगिक समानता, महिला नेतृत्वको कुरा छ । त्यसैले उहाँको राजनीतिक जीवन अघि बढोस् भनेर पूर्णकालीन रहने निर्णय गरेको हो ।’
अम्बिकाले सँगै थपिन्, ‘एउटा सन्तानमात्रै जन्माउने निर्णय पनि उहाँकै हो । ६ वर्ष ४ महिना जेल जीवनमा शरीरमा थिलथिलो हुन बाँकी ठाउँ कतै थिएन । ती चोटका उपहार अझै शरीरमा छन् । एकातिर शारीरिक कमजोरी र अर्को सन्तान जन्माउँदा राजनीतिमा फेरि पछि पर्नसक्ने भएकाले उहाँकै अनुरोधमा एक सन्तान मात्रै जन्मायौं ।’
प्रचण्डले नेतृत्व गरेको पार्टीमा पूर्णकालीन लागेर जेलनेल भोगेका यी दम्पती आज पनि त्यही आदर्शमा छ, जतिबेला जनवादी संस्कृतिको स्थायित्व भनेर अघि बढेकाे थियाे ।
उनीहरुकै भाषामा उनीहरुले आदर्श मानेका तत्कालीन प्रचण्ड भने, कुलो तल परिसके । कुलो तल अर्थात् प्रचण्डले भाषणका क्रममा भन्ने गरेका कुलो तल पर्ने कांग्रेस, जसको खेतमा पानी लाग्छ उसलाई समानता चाहिँदैन, कुलो माथि पर्ने कम्युनिष्ट, जो सधैं समाजको तल्लो तहमा रहिरहे उनीहरुलाई स्थायी समानता चाहिएको छ ।
कुलो लाग्ने र नलाग्ने खेत ? बर्ग परिवर्तन ? मन परो है।