१५ दिनको समय पाएको माओवादीको विधान मस्यौदा समितिले थाल्यो काम – Nepal Press

१५ दिनको समय पाएको माओवादीको विधान मस्यौदा समितिले थाल्यो काम

काठमाडौं । नेकपा माओवादी केन्द्रको विधान मस्यौदा समितिले काम थालेको छ । बिहीबार बसेको पदाधिकारी बैठकले फागुनको पहिलो साता विधान सम्मेलन गर्ने गरी मस्यौदा समिति गठन गरेको थियो ।

समितिको पहिलो बैठक हिजो बसेको समितिका सदस्य तथा उपमहासचिव गिरिराजमणि पोखरेलले बताए ।

उनले भने- हिजो हाम्रो समितिको पहिलो बैठक बस्यो। हिजो हामीले प्रारम्भिक छलफल मात्रै गर्‍यौँ । भोलि बस्ने अर्को बैठकले विधानलाई कसरी व्यवस्थापन गरेर जान सकिन्छ भन्नेबारे विस्तृतमा छलफल गर्छौँ ।

पार्टी पदाधिकारी र केन्द्रीय कमिटीलाई पनि सानो र व्यवस्थित बनाउनेबारे विधानमा उल्लेख हुने उनले बताए ।

माओवादीमा अहिले केन्द्रीय सदस्य ३८५, वैकल्पिक केन्द्रीय सदस्य १९९ रहेका छन् । केन्द्रीय कमिटीबारे प्रश्न उठेपछि विधान समितिले व्यवस्थित बनाउने गरी मस्यौदा तयार पार्न लागेको हो ।

समितिलाई १५ दिनभित्र मस्यौदा तयार पार्ने गरी जिम्मेवारी दिएको छ । समितिले तयार पारेको मस्यौदालाई जिल्ला तहमा एक महिनासम्म छलफल गरेर फागुनमा हुने सम्मेलनबाट पूर्णता दिने माओवादीको तयारी छ ।

उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा गठित समितिमा महासचिव देव गुरूङ, उपमहासचिवहरू वर्षमान पुन, जनार्दन शर्मा र गिरिराजमणि पोखरेल, सचिवद्वय गणेश साह र राम कार्की छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर