आरजुकाे छत्रछायाँमा रहेका राेज राणाको छलाङ- हेर्दाहेर्दै पड्काए मन्त्री
रुपन्देही । गत निर्वाचनमा उम्मेदवारको नामावली सार्वजनिक भएदेखि नै राजनीतिमा एकाएक चर्चामा आए प्युठानका सरोज थापा । उनी सरोज थापाभन्दा रोज राणाको नामले परिचित छन् । फिल्मी क्षेत्रमा चर्चित रोज राणा एकाएक कसरी प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्दा सबै आश्चर्यमा परे ।
अझ कम्युनिष्टको बलियो आधार इलाका रहेको प्युठानबाट जीत निकालेपछि उनको चर्चा थप आकाशियो । ३१ वर्षपछि प्युठान जिल्लामा निर्वाचन जितेर कांग्रेसको साख फर्काउन उनी सफल भएर उनले चर्चा बटुले ।
नेपाली कांग्रेसमा संस्थापन समूहको बलियो पात्र बनेका उनी कांग्रेस नेतृ आरजु राणासँग निकै नजिक छन् । यही आधारमा उनले राजनीतिमा पाइला राखेर निर्वाचनमा जित निकालेर आफ्नो प्रभाव पनि देखाए । प्युठानमा संघीय निर्वाचन र प्रदेशसभा (ख) मा फराकिलो मतान्तरले एमालेका उम्मेदवार विजयी हुँदा उनले आफ्नो जित निकालेर पार्टीभित्र पहुँच देखाएका छन् ।
लुम्बिनी प्रदेशमा कांग्रेसभित्रै कसलाई मन्त्री बनाउने भन्ने विषयमा ९ महिनादेखि कचिंगल छ । मन्त्री बन्ने लाइनका १० जनाभन्दा बढीको नाम आउँदा पनि रोज राणाको नाम गुपचुप थियो । उनलाई संस्थापन पक्षले समेत सजिलो गरी मन्त्री बन्ने लाइनमा अगाडि सारेको थिएन । तर, शुक्रबार मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उनको नाम प्रस्ताव गरेपछि सबै आश्चर्यमा परे ।
केही समयअघि नेपाल प्रेसले उनी मन्त्री बन्ने समाचार प्रकाशन गर्दा धेरैले विश्वास गरेका थिएनन् । सांसद राणाले अहिले मन्त्री आकांक्षीमा नाम राख्दा अरुले खेती गर्ने बताउँदै नराख्न आग्रह गर्दै आएका थिए । प्रदेशसभामा निर्वाचित भएपछि पनि राणाले सदनपछि धेरै समय काठमाडौंमा बसेर काम गर्दै आएका छन् ।
को हुन् रोज राणा ?
४१ वर्ष अगाडि प्यूठान जिल्लाको प्यूठान नगरपालिका– ८ गेजबाङमा विक्रम संवत् २०३९ साल असोज २० गते जन्मिएका हुन् राणा । बुबा स्व. खड्गबहादुर थापा र आमा मनकुमारीका उनी कान्छो छोरा हुन् ।
उनका दाइ स्व. सञ्जय थापा, दिदीहरु सरिता पोखरेल, सोफिया राणा, सुष्मा थापा र सीमा पाण्डे छन् । उपमा केसीसँग विवाह गरेका उनका दुई छोरा रेदान्स रोज थापा र रेभान्स रोज थापा छन् ।
२०५४ सालमा उनले नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिएका थिए । त्यसपछि राजनीतिक यात्रा शुरु गरेका उनले नेपाल विद्यार्थी संघको जिल्ला उपाध्यक्ष, नेपाल तरुण दलको केन्द्रीय सदस्य र नेपाली कांग्रेस प्यूठानको क्षेत्र नं २ को क्षेत्रीय सभापति दुई कार्यकाल नेतृत्व गरिसकेका छन् ।
२०७९ सालको मंसिर ४ गते भएको निर्वाचनमा उनी प्युठानको प्रदेश सभा क्षेत्र नं २ बाट लुम्बिनी प्रदेशसभा सदस्यमा २२ हजार ५१९ मत ल्याएर निर्वाचित भए । उनले पूर्वमन्त्रीसमेत रहेका नेकपा एमालेका उम्मेदवार हरि रिजाललाई १ हजार ७१२ मतान्तरले पराजित गरेका थिए । उनी युवाहरुबीच लोकप्रिय मानिन्छन् ।
राजनीतिका साथसाथै उनले चलचित्र निर्माण पनि गरेका छन् । ‘दादागिरी’, ‘डन’, ‘खलनायक’, ‘दोस्ती’, ‘टक्कर दुई मुटुको’, ‘म छु नि तिम्रो’, ‘जय पर्शुराम’, ‘मेरो पैसा खोइ ?’ उनले निर्माण गरेका चलचित्र हुन् । उनले ‘जय पर्शुराम’, ‘मेरो पैसा खोइको’को निर्देशनसमेत गरेका छन् । ‘म छु नि तिम्रो’, ‘टक्कर दुई मुटुको’ लगायतका चलचित्रका उनी नायकसमेत हुन् ।
उनी नेपाल चलचित्र निर्माता संघमा केन्द्रीय सदस्य, महासचिव हुँदै उपाध्यक्ष बनेका थिए । यी तीन वटै पदमा सर्वसम्मत भएका उनले युरोपका अधिकांश देशका साथै कोरिया, दुबई, कतार, भारतलगायतका देशको भ्रमण गरेका छन् ।
फिल्म निर्माता एवं अभिनेता राणाले लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसको तर्फबाट उद्योग वाणिज्य, श्रम तथा यातायातमन्त्रीको जिम्मेवारी पाएका छन् । उनी पार्टी सभापति शेरबहादुर देउवाको पहलमा प्रदेश सांसद बनेको पहिलो पटकमै मन्त्री बनेको बताइन्छ । कांग्रेस सरकारमा हुँदा उनलाई चलचित्र विकास बोर्डको अध्यक्ष बन्ने प्रस्ताव गरिएको थियो ।