राजनीतिको लय फेर्ने ओलीको ‘संकल्प यात्रा मन्थन’ माथि प्रदीप ज्ञवालीको ५ बुँदे व्याख्यात्मक टिप्पणी
एमाले यात्राको निष्कर्ष- राजनीतिक कोरा एजेण्डाले मात्र अब दलहरु टिक्न सक्दैनन्, विकास समृद्धि र जनताका समस्याबारे राष्ट्रिय विमर्श हुनुपर्छ
काठमाडाैं । नेकपा एमालेले सुदूरपश्चिमको झुलाघाटदेखि सुदूर पूर्वको चिवा भञ्ज्याङसम्म करिब २ हजार किलोमिटर लामो १८ दिनको संकल्प यात्रामाथि राष्ट्रिय बहस होस् भनेर ‘फ्लोर ओपन’ गरेको छ ।
नेपालमा कुनै पनि राजनीतिक दलले सञ्चालन गरेको यो नै सम्भवतः पहिलो संगठित र निरन्तर चलेको राष्ट्रिय अभियान थियो भन्न सकिन्छ । यसले नेपालमा लामो समय चलिरहेको परम्परागत राजनीतिको लय फेर्न खोजेको एमाले नेताहरुको भनाइ छ ।
त्यसैले हुनसक्छ अध्यक्ष केपी शर्मा ओलीले आइतबार सम्पादकहरुसँगको छलफलमा यस्तो अभियान एमालेबाहेक अरु कुनै दलले गर्न सम्भव नहुने दाबी गरे ।
किनकि यसमा रहेको सहभागिता, संगठित परिचालन र आर्थिक भारको समेत सन्दर्भमा एमालेको यो यात्रा निकै ठूलो थियो । एमालेका स्थानीय कमिटी र स्थानीय उत्पादनका कारणमात्र सम्भव भएको नेताहरुले बताए ।
उदाहरणका लागि धादिङको सल्यानटारमा संकल्प यात्रा टोलीको खानामा ३ लाख ९८ हजार खर्च निस्कियो । त्यसमध्ये १ लाख ८४ हजार रुपैया बराबरको खाद्यान्न,तरकारी र फलफूल लगायतका स्थानीय उत्पादन स्थानीय किसान तथा पार्टी कार्यकर्ताकै घरमा उत्पादन भएको थियो ।
प्रायः यस्तै गरी स्थानीय उत्पादन र कार्यकर्ताले खर्च व्यहोरेका कारण एमाले अध्यक्ष ओलीले यस्तो अभियान अरुले गर्न नसक्ने भनेका हुन् ।
एमालेले यस अभियानबाट दिन खोजेको सन्देश के हो ? अध्यक्ष ओलीले करिब २ घण्टा लामो अन्तरक्रियामा खुलेर बताए । एमालेले अबको राजनीति विकास, समृद्धि र स्थानीय समस्या समाधानमा अन्तरक्रियामुखी नहुने हो भने दलहरु यही अवस्थामा टिक्न सक्दैनन् भन्ने सन्देश दिएको छ ।
निकै व्यवस्थित र संगठित रहेको यस अभियानका क्रममा एमालेले करीव २५ लाख जनता र कार्यकर्ता प्रत्यक्ष र अप्रत्यक्षरुपमा परिचालित भएको दावी गरेको छ ।
विशेषगरी यो अभियान राजनीतिका फुस्रा आश्वासन दिनका लागि नभई मध्यपहाडका वहुआयामिक समस्या र सम्भावनाको अध्ययनमा केन्द्रित रहेको थियो ।
साना साना कुरा, स्थानीय उत्पादन र जनताका आकांक्षालाई एमालेको यस अभियानका क्रममा अध्यक्ष ओली स्वयंले आफ्ना सामाजिक सञ्जालबाट राष्ट्रिय बहस तथा विमर्शका विषयसूची बनाइदिए । यस अर्थमा ओलीको जनसंवाद शैली उत्कृष्ट बन्यो ।
यो यात्राकै बारे सम्पादकहरुसँगको छलफलमा पनि ओली सत्ता गठबन्धनप्रति आक्रामक बन्नेभन्दा पनि मध्य पहाडको विकास तथा त्यहाँको बसाइसराइ कसरी रोक्ने र देशको आर्थिक विकास कसरी गर्ने भन्नेमा केन्द्रित भए ।
राजनीतिक कुरा गर्दा यो यात्राका उपलब्धिमाथिको बहस मोडिने भएकाले सचेत ढंगले नै आफूले सरकार र गठबन्धनप्रति खासै टिप्पणी नगरेको ओलीले स्वीकार गरे ।
भूराजनीतिक चलखेलदेखि उद्योगी व्यवसायीका पछिल्ला समस्याप्रति खुलेका ओलीले एमाले अब परम्परागत राजनीतिक शैलीमा सीमित नहुने प्रस्ट संकेत गरे । किनकि राष्ट्रिय राजनीति र जनताको आकांक्षाबीच निकै ठूलो खाडल सायद उनले यस यात्राका क्रममा पनि देखे ।
ओलीले मध्यपहाडी संकल्प यात्राका क्रममा जनताका हजारौं लिखित र मौखिक सुझाव तथा गुनासाहरु पनि संकलन गरेका छन् । उनले सामाजिक सञ्जालबाट पनि ती पत्रहरु सार्वजनिक गरिरहेका छन् ।
जनताका तीनै समस्या, मध्यपहाडी लोकमार्गको नमिलेको रेखांकन तथा त्यस क्षेत्रमा पछिल्लो समय भइरहेका अवाञ्छित गतिविधिको बारेमा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग आइतबारै छलफलसमेत गरेको ओलीले बताएका छन् ।
जनतामा लोकतान्त्रिक गणतन्त्रप्रति विश्वास कायमै रहेको र राजनीतिक दलप्रतिका गुनासाहरु कायमै भएको बताउँदै उनले अब खुद्रे राजनीति होइन, मान्छेलाई रोजगारी र उत्पादनमा लगाउने योजना लिएर मध्यपहाडमा जानुपर्ने निष्कर्ष निकालेका छन् ।
एमालेले अभियान सकिएपछि निकै महत्व दिएर सम्पादक र सञ्चारकर्मीहरुसँग फरक शैलीको संवाद गर्नुको उद्देश्य यो संकल्प यात्राबारे राष्ट्रिय विमर्श होस् भन्ने रहेको महासचिव शंकर पोखरेलले खुलाए ।
अध्यक्ष ओलीलाई माइक हस्तान्तरण गर्नुअघि कार्यक्रमको मोडरेट गरिरहेका उपमहासचिव प्रदीप ज्ञवालीले सरल भाषा र उनकै मिठास शैलीमा मध्यपहाडी संकल्प यात्रालाई ५ वटा बुँदामा छोटो व्याख्यात्मक टिप्पणी गरे । जसले विषयलाई बुझाउन अझ सहज बन्यो ।
ज्ञवालीको ५ बुँदे टिप्पणी यस्तो छः
पहाडलाई टेस्ट केस बनाएर हामीले तय गरेको करिब २ हजार किमि मध्यपहाडी बाटो र त्यसमा पर्ने ३० जिल्ला, त्यहाँका सम्भावना र चुनौतीलाई टेस्ट केस बनाएर आज हाम्रा सामाजिक, आर्थिक रुपान्तरणका चुनौती के हुन् र सम्भावना के हुन् भन्ने बहस हामी चाहन्छौं ।
हामीले यो संकल्प यात्रा तय गरिरहँदा मूलतः ५ वटा उद्देश्य निर्धारण गरेका थियौं ।
पहिलो- १ करोड २० लाख जनसंख्या बस्ने पहाडमा एक खालको प्याराडक्स जस्तो देखियो । एकातिर पूर्वाधारहरुले पहाडलाई धेरै सुगम बनाउँदै लगेको छ । बाटाघाटा, बिजुली, पानीदेखि फोरजीसम्म । हिजोको जस्तो पहाड अब रहेन । तर पनि मान्छे पहाडबाट तराईतिर, गाउँबाट शहरतिर र पछिल्लो समय स्वदेशबाट विदेशतिर जाने क्रम बढ्यो । पहाडमा विकास र रोजागरी सिर्जनामा कहाँ समस्या छ ? कहाँनिर ग्याप छ ? जनताको मुखबाट सुन्न र सुझाव लिन खोजेका थियौं, त्यसमा हामी सफल भयौं ।
दोस्रो- अहिले एउटा भाष्य जबरजस्त छ कि यो देश बन्दैन । लोकतन्त्र आएपछि, गणतन्त्र आएपछि देश खत्तम भयो, पार्टीहरु असफल भए भन्ने नकारात्मक मनोविज्ञान बनाइएको छ । यसलाई चिर्दै राम्रै भइरहेको छ, केही ठाउँमा हामी चुकेका छौं । तर, समाज निरन्तर बढेको छ र देश बन्छ भन्ने सन्देश हामीले जनतासमक्ष गएर दिनु थियो ।
तेस्रो- नेपाल कम्युनिष्ट पार्टीले आफ्नो स्थापनाको हिरक महोत्सव मनाइरहेको छ । पार्टी स्थापनाको ७५ वर्षको विशेष महोत्सवमा यसका संस्थापक महासचिव कमरेड पुष्पलालको नामबाट बनेको लोकमार्गमा हामीले संकल्प यात्रा गरेका छौं ।
यसको अर्को विशेषता भनेको अन्य राजमार्ग विदेशीको सहयोगमा बने । तर, यो नेपालकै इन्जिनियिरिङ, स्रोत र डिजाइनमा बनेको छ र चाँडै ब्रेकथ्रु पनि भएको छ । त्यसैले यसपटक यो लोकमार्गमा यात्रा गरेर पार्टीले गरेका गौरवगाथा सुनाउने पनि उद्देश्य थियो
चौथो- पछिल्लो समय कतिपय सामाजिक सद्भाव भत्काउने खाले गतिविधि पनि भइरहेका छन् । विशेषगरी मध्यपहाडमा पनि जातीय धार्मिक सहिष्णुता भत्काउन फाटो ल्याउने कोसिस भइरहेका छन्, यसलाई चिर्ने र एकताको सन्देश सम्प्रेषण गर्ने यसको उद्देश्य थियो ।
पाँचौं- शक्तिको स्रोत नेपाली जनता हुन् । सार्वभौम अधिकार भएको निकाय, उहाँहरु के भन्नुहुन्छ सुन्ने र सिक्ने उद्देश्य पनि थियो । यो यात्राको ट्यागलाइन थियो ‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’ । तलतलका डटहरुलाई जोड्दै राष्ट्रिय सन्देश दिने १८ दिनको म्याराथन तय गरेका थियौं । यसमा हामीले के देख्यौं, के अनुभूत गर्यौं ? अब हाम्रो विकास समृद्धि र बसाइसराइको ट्रेण्ड रोक्न के गर्नुपर्छ भन्ने बुझाइहरुले धेरै सहयोग पनि भएको छ ।
यो पनि पढ्नुहोस्
काठमाडौंबाट देखिएको एमालेको मध्यपहाडी यात्राबारे ६ बुँदे ‘ब्रिफिङ’
देशको चिन्ता भएको पार्टी र नेता भनेका यी हुन् । अरू त लुटने मात्र हुन् ।