संघर्षको पर्याय कृष्णा केसी ‘नमुना’ : सशस्त्र युद्धदेखि प्रत्यक्षमा जितेर यसरी बनिन् मन्त्री – Nepal Press

संघर्षको पर्याय कृष्णा केसी ‘नमुना’ : सशस्त्र युद्धदेखि प्रत्यक्षमा जितेर यसरी बनिन् मन्त्री

रुपन्देही । लुम्बिनी प्रदेशमा ५२ प्रत्यक्ष सांसदहरूमध्ये एक मात्र सीटमा महिला उम्मेदवार बनेर निर्वाचन जितेकी बाँकेकी कृष्णा केसी ‘नमुना’ प्रदेश सरकारमा एक मात्र महिला सहभागिता बनेकी छन् । माओवादी केन्द्रबाट सरकारमा सहभागी हुने उनी दोस्रो मन्त्री हुन् ।

वैशाखमा धनबहादुर मास्की माओवादीबाट मन्त्री बनेका थिए । वैशाख १४ मा मुख्यमन्त्री बनेका कांग्रेस नेता डिल्ली चौधरीलाई केसीको पार्टीबाट तत्काल मन्त्री बनाउने नाम पठाए पनि अहिलेसम्म रोकिँदै आएको थियो ।

बाँकेबाट निर्वाचित केसी प्रदेशमा बलियो आर्थिक स्रोत भएको र सबै पार्टीको रोजाइमा परेको सहरी विकास मन्त्री बनेकी हुन् ।

यसअघि एमालेसँगको गठबन्धनमा समेत मन्त्री बनेकी केसीले मन्त्रालयमा भएको विवादका कारण शपथ नलिई लामो समय विना विभागीय रहेर सरकारबाट बाहिरिएकी थिइन् ।

बाँकेको राप्ती सोनारी गाउँपालिका–९ की ४४ वर्षीया कृष्णा वि।सं २०४९ सालदेखि नै माओवादी राजनीतिमा लागेकी हुन् । उनको परिवार ४० को दशकतिर साबिक रुकुम (हाल रुकुम पश्चिम) बाट बसाइसराइ गरी बाँके झरेको थियो ।

माओवादीको सहर केन्द्रित राजनीतिमा नेतृत्वदायी भूमिका खेलेकी साहसी नेत्रीको रूपमा परिचित थिइन्, कृष्णा । नमुना अहिले माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा बाँके जिल्ला सह इन्चार्ज हुन् ।

पार्टी अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पहिलो कार्यकालमा प्रधानमन्त्री हुँदा १ वर्ष सचिवालयमा बसेर काम गरेकी उनलाई प्रचण्डको विश्वासपात्रको रूपमा पनि हेरिन्छ ।

राज्यका हरेक क्षेत्रमा ३३ प्रतिशत महिलाको अनिवार्य प्रतिनिधित्व गरिए पनि प्रत्यक्ष निर्वाचित हुने नगण्य महिलामध्ये उनी पर्छिन् ।

प्रवीणता प्रमाणपत्र तहसम्मको अध्ययन पूरा गरेकी उनी अविवाहित छन् । मन्त्री बनेसँगै कृष्णाले प्रदेशलाई गतिशील देखिने गरी आफूले काम गर्ने बताइन् ।

बाँके निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (१) बाट दोस्रो कार्यकालका लागि नमूना निर्वाचित भएकी थिइन् । प्रदेशसभाका ५२ क्षेत्रमध्ये माओवादी ५ क्षेत्रमा खुम्चिँदा उनको जीतले उनको चर्चा बढेको थियो ।

पार्टीमा नमूना उपनामले परिचित कृष्णा प्रदेशसभा संसदीय राजनीतिमा माओवादीभित्र अनुभवी सांसदको रूपमा चिनिन्छिन् ।

निर्वाचित भएपछि आफूजस्ता महिलाले पुरुषको तुलनामा ठूलो संघर्ष गर्नुपर्ने अनुभव सुनाउने केसीले मन्त्री बनेसँगै उनले थप जिम्मेवार रहेर काम गर्ने बताउँछिन् ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा संविधान सभाका पूर्व उपाध्यक्ष पूर्णाकुमारी सुवेदीले कृष्णालाई मन्त्री बनाएर पार्टीले न्याय गरेको बताइन् ।

२०३६ साल चैत्र २९ गते रुकुमको तत्कालीन पिउँगा गाविसमा बुबा चन्द्रबहादुर र आमा विर्मा खत्रीको कोखबाट जन्मिएकी हुन् केसी ।

उनले गणेश मावि ढकेरी बाँकेबाट २०५४ सालमा एसएलसी उत्तीर्ण गरेकी हुन् । मावि तहबाटै अखिलको इकाई कमिटीमा बसेर राजनीति शुरू गरेकी ‘नमूना’ एसएलसी दिएसँगै अखिलको कार्यकर्ता भएकै कारण गिरफ्तारीमा परिन् । त्यतिबेला देशविरोधी आरोप लगाइएकी ‘नमूना’ ले करिब डेढ वर्ष नेपालगन्ज कारागारमा जेल जीवन बिताइन् ।

एसएलसी उत्तीर्णपछि उनले जेलभित्रबाटै उच्च शिक्षा(आईए) को परीक्षा दिएकी थिइन् । २०५६ मा जेल जीवनबाट मुक्त भएपछि उनी फेरी राजनीतिमै जोडिएर अर्धभूमिगत जस्तै भएर अनेमसंघ क्रान्तिकारीको बाँकेको सचिव भइन् ।

२०५७ मा अनेरास्ववियु क्रान्तिकारीको भेरी कर्णाली सदस्य, २०५८ मा विराटनगरमा भएको भेलाले आन्दोलन शहर केन्द्रित बनेपछि विद्यार्थी सम्मेलनबाट बिदाइ भएर पार्टीको राजनीतिमा सक्रिय रूपमा लागेकी हुन् ।

केन्द्रीय सदस्यको जिम्मेवारी दिएर बाँके क्षेत्रको एरिया कमिटी सदस्य भएकी ‘नमूना’ २०६२ सम्म पार्टीको कार्यालय सचिवालय सदस्य भइन् ।

कार्यालय सदस्य हुँदा गरेको काम सफलताकै कारण उनी २०६३ मा प्रदेश राज्य कमिटी सदस्य भइन् । २०६९ सम्म प्रदेश कमिटी सदस्य रहेकी ‘नमूना’ २०७० मा तत्कालीन एकीकृत माओवादीको बाँके सचिव बनिन् । २०७१ मा केन्द्रीय सदस्य बनेकी ‘नमूना’ त्यसयता निरन्तर केन्द्रमा रहेकी छन् । २०७४ मा बाँके क्षेत्र नम्बर १ ‘क’ बाट प्रदेश सभा सदस्य बनेकी उनी २०७९ मा पनि दोहोरिएर निर्वाचित भएकी हुन् ।


प्रतिक्रिया

One thought on “संघर्षको पर्याय कृष्णा केसी ‘नमुना’ : सशस्त्र युद्धदेखि प्रत्यक्षमा जितेर यसरी बनिन् मन्त्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर