डेढ महिनायता व्यावसायिक फुटबलबाहिर रहेका मेस्सी कहिले उत्रन्छन् मैदान ? – Nepal Press

डेढ महिनायता व्यावसायिक फुटबलबाहिर रहेका मेस्सी कहिले उत्रन्छन् मैदान ?

काठमाडौं। विश्व कीर्तिमानी फुटबल खेलाडी लियोनल मेस्सी दुई महिनायता व्यावसायिक फुटबलबाहिर छन्।

उनले चाहेर वा घाइते भएर उनी मैदानमा नदेखिएका होइनन्। उनी आबद्ध इन्टर मियामीको कुनै प्रतिस्पर्धा नरहेकाले मेस्सी बेरोजगार बनेका हुन्। अझै एक महिना उनी क्लब फुटबलमा देखिने छैनन्।

मेस्सीले इन्टर मियामीका लागि अन्तिमपटक गत नोभेम्बर ११ तारिखमा खेलेका थिए। अमेरिकी मेजर लिग सकर(एमएलएस)मा मियामीले प्ले अफमा स्थान बनाउन सकेन र मेस्सी झन्डै तीन महिना क्लब फुटबलबाहिर रहनु पर्ने अवस्था बनेको हो। इन्टर मियामीले एमएलएसको नयाँ सिजन सुरु हुनुअघि एक महिनापछि मैत्रिपूर्ण खेलहरु खेल्दै छ।

जनवरी २० तारिखमा मियामीले एल साल्भाडोरसँग खेल्दै छ। जनवरी २९ तारिखमा साउदी अरबको अल हिलालसँग उत्रने छ। अल हिलालमा नेमारलगायत स्टार खेलाडी छन्। फेब्रुअरी १ तारिखमा मियामीले क्रिस्टियानो रोनाल्डो आबद्ध अल नासरसँग खेल्ने छ।

रोनाल्डोले स्पेनिस ला लिगा क्लब रियल म्याड्रिड छाडेयता क्लब फुटबलमा उनीसँग मेस्सीको यो केवल दोस्रो भेट हुने छ। यसअघि पेरिस सेन्ट जर्मन(पीएसजी)मा रहेका बेला मेस्सीले रोनाल्डोसहितको अल नासरसँग खेलेका थिए। अमेरिका हुने मियामी(अल नासर भिडन्तलाई बहुप्रतिक्षित मानिएको छ।

फेब्रुअरी २२ तारिखमा मियामीले एमएलएस सिजन सुरु हुनुअघि ६ वटा मैत्रिपूर्ण खेल खेल्ने तय छ। एमलएसको इस्टर्न कन्फेरेन्समा प्रतिस्पर्धा गर्ने इन्टर मियामी गत सिजन सहभागी १५ मध्ये १४ औँ स्थानमा रहेको थियो। एमएलएस प्ले अफमा छनोट हुन इस्टर्न कन्फेरेन्सको शीर्ष ९ भित्र अटाउनुपर्छ।

मेस्सीले एमएलएसमा गत सिजन केवल ६ खेल खेलेका थिए। अन्य प्रतियोगितामा भने उनले मियामीका लागि प्रतिस्पर्धा गरेका थिए। मेस्सीकै निर्णायक प्रदर्शनमा मियामीले पहिलोपटक लिग्स कपको उपाधि जितेको थियो। मेस्सीले हालसम्म मियामीका लागि १४ खेल खेल्दै ११ गोल गरेका छन्।

मेस्सीका लागि तत्काल राष्ट्रिय टोलीका खेलहरु पनि छैनन्। अन्तिमपटक गत नोभेम्बर २२ तारिखमा ब्राजिलसँग प्रतिस्पर्धा गरेकामा अर्जेन्टिना १-० गोलले विजयी भएको थियो। अर्जेन्टिनाले आगामी वर्षको जुनमा कोपा अमेरिका खेल्दै छ। यतिबेला मेस्सी फिफा वर्ष खेलाडी २०२३ को अन्तिम तीन जनाको मनोनयनमा छन्।

उनको प्रतिस्पर्धा म्यानचेस्टर सिटीका एर्लिङ हालान्ड र पीएसजीका केलियन एमबाप्पेसँग रहेको छ। मेस्सीले गत वर्ष यो अवार्ड जितेका थिए। मेस्सीले हालसम्म बेलोन डीअर ८ पटक र फिफा वर्ष खेलाडी ७ पटक जितेका छन्।

मेस्सी आफ्नो व्यावसायिक करियरमा सबैभन्दा लामो समय क्लब फुटबलबाहिर रहेका हुन्। यसअघि कोरोना महामारीका बेला मेस्सी ९९ दिन मैदानबाहिर रहेका थिए। सन् २००६ मा पनि उनी चोटका कारण ८७ दिन बाहिर रहेका थिए। त्यतिबेला उनले क्लबका १९ खेल गुमाएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *