चिसो मौसममै राष्ट्रिय पौडी प्रतियोगिता, २६ औं एनएसए कप बुधबार र बिहीबार
काठमाडौं । नेपाल पौडी संघ र बागमती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा २६औं एनएसए (नेपाल पौडी संघ) कप राष्ट्रिय पौडी प्रतियोगिता बुधबार र बिहीबार हुने भएको छ ।
सातदोबाटोस्थित वातानुकूलित (हिटिङ) पौडी पोखरीमा हुने प्रतियोगितामा उमेर समूह र खुला गरी कूल ५१ विधामा प्रतिस्पर्धा हुने नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी दिए ।
उमेर समूहअन्तर्गत १० वर्षमुनि, १२ वर्षमुनि, १४ वर्षमुनि र १७ वर्षमुनिको ५० मिटर फ्रिस्टायल, ब्याक स्ट्रोक, बटरफ्लाई र ब्रेष्ट स्ट्रोक तथा ४ गुणा ५० मिटर फ्रिस्टायल रिले र खुलातर्फ ५० मिटर, १०० मिटर २०० मिटर फ्रिस्टायल, ५० मिटर र १०० मिटर ब्याकस्ट्रोक, बटरफ्लाई र ब्रेष्ट स्ट्रोक विधामा प्रतिस्पर्धा गराइनेछ ।
उमेर समूह र खुला गरी करिब १५० खेलाडीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने अध्यक्ष बज्राचार्यले जानकारी दिए । उमेर समूहमा उत्कृष्ट अंक हासिल गर्ने शीर्ष ३ टीमलाई च्याम्पियनसिप ट्रफी प्रदान गरिनेछ ।
नेपालमा वातानुकूलित पौडी पोखरीको निर्माणपश्चात नेपाल पौडी संघले पहिलो पटक चिसो मौसममा राष्ट्रिय पौडी प्रतियोगिता आयोजना गर्न लागेको हो । वातानुकूलित पौडी पोखरीको निर्माणले नेपालमा अब जुनसुकै मौसममा पनि प्रशिक्षण गर्न र प्रतियोगिता आयोजना गर्न सकिने भएको छ । जसले आगामी दिनमा नेपाली खेलाडीहरुको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने अध्यक्ष बज्राचार्यले बताए ।