मध्यपहाड, लोकमार्ग र मेरो नजर – Nepal Press
ब्लग

मध्यपहाड, लोकमार्ग र मेरो नजर

मध्यपहाडी लोकमार्ग नेपालको पूर्व-पश्चिम जोड्ने राजमार्ग हो । १ हजार ८७९ किलोमिटर लम्बाइ रहेको यस राजमार्गलाई पुष्पलाल मार्ग नामले पनि चिनिन्छ । राजमार्गले पूर्वको पाँचथर (चिवा भञ्ज्याङ)बाट पश्चिमको बैतडी (झुलाघाट)सम्मका बस्तीहरूलाई जोडेको छ ।

यही मध्यपहाडी लोकमार्गमा नेकपा एमालेले मङ्सिर १४ गते बिहान ८ः३० बजे झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा सुरु गरेको थियो । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झुलाघाटमा राष्ट्रिय झन्डा फहराएर शुरु गरेकाे यात्रा १८औं दिनमा पुस १ गते दिउँसो १२ः१५ बजे चिवा भञ्ज्याङमा पुनः झन्डोत्तोलन गरेर समापन गर्नुभएकाे थियाे । यसै यात्राको एक यात्री म पनि हुँ ।

२४ जिल्ला र २०० भन्दा बढी बस्तीलाई छोएर गएको सडकले ७० लाखभन्दा बढी जनमानसको जीवनमा प्रत्यक्ष प्रभाव पर्न सक्ने देखियो । सडकले पश्चिममा बैतडी, डडेलधुरा, डोटी, अछाम, दैलेख, जाजरकोट, रुकुम, बाग्लुङ, पर्वत, कास्की, लमजुङ, गोरखा, धादिङ, नुवाकोट हुँदै पूर्वतर्फ सिन्धुपाल्चोक, काभ्रे, सिन्धुली, उदयपुर, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम र पाँचथरलाई जोडेको छ ।

मध्यपहाडी लोकमार्ग पहाडी जिल्लाहरूमा रहेका सदरमुकाम र प्रमुख शहरहरू छोएर गएको छ । यहाँका जनतालाई सबैभन्दा ठूलो सहज यही भएको छ । पहाडी जिल्लाको आवागमन र व्यापारमा सहजता पैदा भएको छ । शिक्षा, स्वास्थ्य र यातायातमा सहज पहुँच भएकाले पनि होला, अहिले राजमार्ग र यहाँको जीवनशैली नङ र मासु जस्ता भएका छन् । अझै सडकका कारण दैनिक जीवनस्तरमा सुधार आएको छ । आर्थिक समृद्धिको सूचकमा सुधार आएको छ । यो सडक खण्ड देशको पूर्वाधार विकासको कोसेढुंगा बन्ने कुरामा अब दुई मत छैन भन्दा हुन्छ ।

नेपालको मध्यपहाडी क्षेत्रको प्रमुख विशेषता नै कृषिमा सम्पन्नता, सामाजिक संस्कृति, जातीय विविधतामा एकता हो । आधारभूत आवश्यकता शिक्षा, स्वास्थ्य, खानेपानी र रोजगारीको स्तरोन्नतिमा पनि मध्यपहाडी लोकमार्गले अतुलनीय योगदान पुर्‍याएको छ ।

नेपालको मध्यपहाडी क्षेत्रको प्रमुख विशेषता नै कृषिमा सम्पन्नता, सामाजिक संस्कृति, जातीय विविधतामा एकता हो । आधारभूत आवश्यकता शिक्षा, स्वास्थ्य, खानेपानी र रोजगारीको स्तरोन्नतिमा पनि मध्यपहाडी लोकमार्गले अतुलनीय योगदान पुर्‍याएको छ । भेरी बबई डाइभर्सन, सुनकोशी मरिन डाइभर्सन, जलजले दैलेख पेट्रोलियम उत्खनन स्थल, बयलपाटा सामुदायिक अस्पताल, पङ्खु ९ लप्से खानेपानी योजना जस्ता धेरै विभिन्न विकासका योजना मध्यपहाडी लोकमार्गले जोडेको छ ।

मध्यपहाडको जनजीवनमा पूर्वाधारको दृष्टिले ठूलै परिवर्तन छ । बाटो, बिजुली, खानेपानी र सञ्चारका माध्यमहरूको पहुँच पुगेको हुनाले यहाँका बासिन्दाको चेतनाको स्तर माथि भेटिन्छ । कृषि क्षेत्रमा मध्यपहाडलाई फलफूल विशेषतः सुन्तला र सयपत्रीको पकेट क्षेत्र बनाउन सकिने रहेछ । तरकारीका लागि पनि उर्बर र पशुपालनका लागि सम्भावना युक्त क्षेत्रका रूपमा लिन सकिने रहेछ । पर्यटनका हिसाबले यहाँका विभिन्न स्थानमा बाह्य र आन्तरिक दुवै पर्यटकको राम्रो सम्भावना देखिए सँगसँगै यस क्षेत्रबाट देशलाई आर्थिक रूपमा पनि ठूलो टेवा पुग्नेमा दुई मत नै रहँदैन । मध्यपहाडी लोकमार्ग सञ्चालनले यहाँका ठाउँहरूलाई आर्थिक समृद्धि, सांस्कृतिक र सामाजिक चेतनाका हिसाबले आत्मनिर्भर र परिपक्व बन्न धेरै सहयोग पुर्‍याउने देखिन्छ ।

तर, विकास तीव्र रूपमा गाउँ-गाउँमा पुगे पनि आजको प्रमुख समस्या र ठूलो चुनौतीका रूपमा पहाडी क्षेत्रमा बसाइसराइ रहेको छ । गाउँहरु लगभग रित्ता भेटिन्छन् । भेटिएका एकाध पनि प्रौढ र बालबालिकामात्र छन् । युवा भेटिए पनि रोजगारीको अभावमा भैतारिरहेका, विदेसिन ठिक्क परेका र केही उद्यममा जोडिएकाहरू पनि उत्पादनले बजार, उचित मूल्य र राज्यद्वारा संरक्षण नपाउँदा विचलित भेटिन्छन् । खेतीयोग्य जमिन बाँझो भेटिन्छ । विद्यालयहरू लगभग बन्द हुने स्थितिमा पुगेका छन् ।

मध्यपहाडको जनजीवनमा पूर्वाधारको दृष्टिले ठूलै परिवर्तन छ । बाटो, बिजुली, खानेपानी र सञ्चारका माध्यमहरूको पहुँच पुगेको हुनाले यहाँका बासिन्दाको चेतनाको स्तर माथि भेटिन्छ । कृषि क्षेत्रमा मध्यपहाडलाई फलफूल विशेषतः सुन्तला र सयपत्रीको पकेट क्षेत्र बनाउन सकिने रहेछ । तरकारीका लागि पनि उर्बर र पशुपालनका लागि सम्भावना युक्त क्षेत्रका रूपमा लिन सकिने रहेछ ।

प्राविधिक त्रुटिहरुमा ध्यान नजाँदा पाइने ठूलो लाभबाट देश वञ्चित भइरहेको देखिन्छ । सम्पन्नता र आत्मनिर्भरतालाई मध्यपहाडले जोड्ने भए पनि हरेक विकासको चुनौती बसाइसराइ र युवाको आप्रवासनसँग जोडिन्छ । देशको आर्थिक र सामाजिक समृद्धि उत्पादनसँग मुलुकलाई जोड्न सकेमात्र सम्भव रहन्छ । युवा आप्रवासनले देशको समृद्धि र उत्पादनको जिम्मेवारीबीच ठूलो खाडल सृजना गरेको छ ।

युवाहरू भइरहेको अवसर नदेखेर बाह्य शक्तिले मुलुकमा स्थिरताको बाधक बन्न निर्माण गरेको भाष्य ‘नेपालमा केही छैन र हुँदैन’को पछि लागि विदेसिनु ठूलो दुर्भाग्य बनेको छ । युवाहरू शिक्षा र रोजगारीका लागि विदेसिनु हाम्रा गाउँहरु खाली हुनुको प्रत्यक्ष कारक हो । दक्ष भए पनि विदेशमा सस्तो श्रम बेच्न खुशी हुने युवा देशमा उत्पादनसँग जोडिन हिचकिचाउनुले भविष्यका लागि ठूलो प्रश्न तेर्स्याएको छ ।

भ्रामक प्रचार, प्रायोजित भाष्य र त्रुटिपूर्ण शैक्षिक प्रणालीमा सुधार गर्दै युवा आप्रवासन रोक्नु अबको मुख्य जिम्मेवारी हो । उत्पादन र रोजगारसँग युवालाई जोड्न र नेपालमै रोक्न शैक्षिक प्रणाली र पाठ्यक्रममा व्यवहारिक शिक्षा जोड्दै एकरूपता ल्याउने, सम्भावना पहिचानमा सहयोग पुर्‍याउँदै प्रोत्साहनस्वरूप सहुलियतपूर्ण ऋण, उत्पादनको समर्थन मूल्य, बजार व्यवस्थापन, उत्पादन र उपभोक्ताबीच सीधा सम्बन्ध हुने बिक्री वितरण प्रणाली र स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने नीति निर्माण गर्नुपर्छ ।

समग्रमा हेर्दा मध्यपहाडी लोकमार्ग विकासको मियो हो । पूर्व र पश्चिमको भाइचारा बढाउने अस्त्र हो । एमालेको यात्रा भनिए पनि सर्वदलीय सर्वपक्षीय बृहत सहभागिताले समग्र जनता उत्साहित रहेको पुष्टि गरेको छ । सुशासन, विकास र समृद्धि तथा उन्नति सम्भव छ भन्ने ठूलो ज्ञान मध्यपहाडी यात्राले प्रदान गरेको छ ।

(लेखक नेकपा एमाले निकट अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य हुन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर