मतदातामाझ रविको प्रष्टीकरण- सहकारीको रकम हिनामिना गरेको छैन, बचतकर्ताको ब्याज फिर्ता नभएसम्म लड्छु – Nepal Press

मतदातामाझ रविको प्रष्टीकरण- सहकारीको रकम हिनामिना गरेको छैन, बचतकर्ताको ब्याज फिर्ता नभएसम्म लड्छु

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले नियतबस आफूले कहीँ कतै सहकारीको हिनामिना गर्ने कार्यमा संलग्नता नभएको प्रष्टीकरण दिएका छन् । निर्वाचन क्षेत्र चितवन-२ मा मतदातामाझ आयोजित सार्वजनिक सुनुवाइमा बोल्दै उनले आफ्नो बारे भएको टिकाटिप्पणीप्रति ध्यानाकर्षण भएको बताए ।

उनले सहकारीका बचतकर्ताहरूको पैसा व्याजसम्म फिर्ता नहुञ्जेल लड्ने प्रतिबद्धता जनाए ।

उनको भनाइ जस्तोको तस्तैः

सहकारीका विषयलाई लिएर अनेकौ टिकाटिप्पणी आएका छन् । विभिन्न सहकारीका प्रश्न आएका छन् । कहीँ कतै मेरै नाम जोडिएर आएकोप्रति मेरो ध्यानाकर्षण भएको छ । म मेरो लडाइँमा तपाईंहरूलाई जोड्न चाहन्न म मेरो लडाइँ आफै लड्न सक्षम छु जस्तो लाग्छ । जतिबेला मद्दत चाहिन्छ म तपाईंहरूलाई भनौंला ।

म यति भन्न चाहन्छु मेरो नियतबस मैले कहीँ कतै कसैको हिनामिना गर्ने कार्यमा मेरो सहभागिता संलग्नता छैन । त्यसलाई मैले मेरो आफ्नो ढंगले प्रष्ट पारेको छु । यदि हुँदो हो त मलाई नै जोडिएका सहकारीका सञ्चालकहरू जतिपनि छन् सबैलाई कारबाही गरियोस् भनेर मन्त्रीज्यूलाई पत्र दिने साहस हुने थिएन ।

यदि त्यस्तो हुन्थ्यो भने मैले आफैंले मन्त्रीज्यूलाई कारबाही गरियोस् भनेर पत्र बुझाएको पत्र र त्यहाँ मन्त्रीज्यूले लगाउँनुभएको तोक आदेश यहाँहरूले देख्न सक्नुहुन्छ । त्यहाँ मैले सहकारीको नामै उल्लेख गरेको छु । मलाई शंका आरोप लगाइएको साहारा सहकारी पनि पर्छ । मैले नाम नै किटेर सहभागी जो छन् तीनलाई कारबाही गर्नको लागि भनेको छु । त्यस कारबाहीभित्र आफूलाई अलग राख्ने भए, त्यहाँ त्यस्तो संलग्नता हुने भए आफैंलाई कारबाही गर्ने पत्र बोकेर म मन्त्रालय जानुपर्ने आवश्यकता थिएन । त्यसैले म यो कुरा स्पष्ट पार्न चाहन्छु ।

बचतकर्ताहरूको बचतको एकएक पाइ ब्याजसम्म फिर्ता नभएसम्म अन्तिमसम्म लड्ने मान्छेको नाम के हो ? भनेर कसैले सोध्यो भने रवि लामिछाने भन्नुहोला । कुनै पनि बचतकर्ताको पैसाको एकएक हिसाब चुक्ता नभएसम्म निरन्तर लडिरहनेछु । चाहे म हुँ, मेरो मान्छे हुन्, मेरा पार्टीका हुन् मेरा परिवारका हुन् जो कोहीका हुन् म त्यसबाट विमुख हुने छैन ।


प्रतिक्रिया

One thought on “मतदातामाझ रविको प्रष्टीकरण- सहकारीको रकम हिनामिना गरेको छैन, बचतकर्ताको ब्याज फिर्ता नभएसम्म लड्छु

  1. रवि लामिछाने भन्ने मान्छेलाई केही थाहा छैन उनी २ वटा नागरिकता (नेपाल अमेरिका ) पासपोर्ट २ देशको स्वास्नी पनि थुप्रै सुनेको विभिन्न कारोबार ठगी धन्दा पत्रकार डाईभरको रहस्यमय मृत्यु लगायत अव उनले सहकारीको रकम र ब्याझ सबै उपलब्ध गराउने कुरा गरेका छन पछि त्यो पनि उनलाई थाहा हुदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर