राडीपाखी उद्यमी कुमारीको प्रश्न- जति पनि बनाउन सक्छौं, तर बेच्ने कहाँ ?
रुपन्देही । लुम्बिनी प्रदेशको हिमाली जिल्ला पूर्वी रूकुमको पुथा उत्तरगंगा गाउँपालिका- ११ सेरामा बस्छिन् कुमारी बुढामगर । सामान्य पाखोबारी भएको उनको परिवारमा ९ जनालाई खान पुग्ने कुनै नियमित स्रोत छैन । तर, घरमै बसेर भेंडाको ऊनबाट राडीपाखी बुनेर बेच्न थालेपछि कुमारीको परिवारलाई धेरै सहज भएको छ ।
कुमारीका ७ छोराछोरीमध्ये एक अपाङ्ग छन् । धेरै दिन घर छाडेर हिंड्न समस्या छ । तर, उनीहरु छोराछोरीको व्यवस्था मिलाएर आफ्नो उत्पादनको बजारीकरण गर्न विभिन्न क्षेत्रमा लाग्ने मेला महोत्सवमा पुगिरहेका हुन्छन् ।
सानैदेखि ऊनको धागो बाट्न र राडीपाखी बुन्न सिकेकी कुमारी अहिले आफ्नो परिवार आत्मनिर्भर बनेको बताउँछिन् ।
बुवाआमाबाट सानैमा ऊन सफा गर्ने, सुकाउने, साँचोमा राखेर मसिनो बनाउने, धागो बाट्ने र राडीपाखी बुन्न सिकेको कुमारी बताउँछिन् । कुमारीलाई उत्पादन बिक्री वितरण गर्न श्रीमान ओमबहादुरले सघाउँदै आएका छन् ।
अहिले कुमारी बुटवलमा लागेको लुम्बिनी एक्सोमा सहभागी छिन् । एक्सपो स्टलमै उनले थुप्रै राडी बुनिसकेकी छन् ।
पुख्र्यौली पेशा र सीपलाई अहिले आफ्नो परिवार पाल्ने उद्यमसम्म बनाउन सफल भएको उनी बताउँछिन् । ‘राडीपाखीमा लगानीअनुसारको नाफा भने छैन । तर, जानेको इलम नियमित गर्नुबाहेक अरु विकल्प छैन’, उनी भन्छिन्, ‘राडी बिक्री गर्न बुटवल, कपिलवस्तु, दाङ, गुल्मीको रिडी, नेपालगञ्ज र काठमाडौंसम्म पुग्ने गर्छु ।’
वर्षमा ४०-५० वटासम्म राडी बेच्ने कुमारीले सबैभन्दा धेरै गुल्मीको रिडीमा लाग्ने एकादशी र माघे संक्रान्ति मेलामा बिक्री हुने बताउँछिन् ।
भेडाको ऊनबाट बनाइएको राडीपाखी विभिन्न जातजातिका धार्मिक कार्यहरूमा पवित्र मानिन्छ । पहिले घरमा आउने पाहुनाहरूलाई परालको गुन्द्रीमाथि राडीपाखी ओछ्याएर स्वागत गर्ने चलन थियो । अहिले त्यो चलन हराउँदै गएको छ । कुनै पनि रसायन प्रयोग नगरिएकाले यसलाई स्वास्थ्यको हिसाबले पनि लाभदायक मानिने र न्यानो हुने भएकोले जाडो याममा गलैंचा तथा चकटीको रूपमा यसको प्रयोग हुने कुमारी बताउँछिन् ।
‘तर, आजभोलि सस्तो र हेर्दा चिटिक्क देखिने आयातित वस्तुबाट परम्परागत र मौलिक सामग्री ओझेलमा परेका छन्’, उनको गुनासो छ ।
कुमारीमात्र होइन, सेरा गाउँका धेरै स्थानीयले यसलाई मुख्य पेशा बनाएका छन् । त्यहाँका धेरै स्थानीयको भेडा पाल्ने र ऊनबाट राडीपाखी बुनेर बिक्री गर्ने पुर्ख्यौली पेशा भएको उनी बताउँछिन् । गाउँका किसानबाट प्रतिकिलो २०० रुपैयाँमा ऊन किनेर घरमै विभिन्न मोडलका राडीपाखी बुनेर बेच्ने गरेको उनको भनाइ छ ।
परम्परागत तरिकाले ऊन प्रशोधन गर्ने र राडीपाखी बुन्ने विधि हेर्दा निकै झन्झटिलो र पट्यारलाग्दो देखिन्छ । तर, मौलिक सीपमा उनीहरु निपुण छन् ।
‘भेंडाको ऊनलाई साबुनपानीले राम्रोसँग धुनुपर्छ । नत्र भेंडाको गन्ध आउँछ । धोएपछि सुकाएको ऊन साँचोमा राखेर मसिनो बनाएर बल्ल धागो बाट्न तयार हुन्छ’, कुमारी भन्छिन्, ‘चर्खामा ऊनको धागो बाटिन्छ । एक किलो ऊनको धागो बाट्न दुई दिन लाग्छ । दुई पाटाको एउटा राडी बनाउन एक धार्नी (साढे दुई किलो) काँचो ऊन चाहिन्छ । ऊन सफा गर्नेदेखि राडी बनाउन एक हप्ता समय लाग्छ । मेहनतको तुलनामा अत्यन्त न्यून आम्दानी हुन्छ ।’
कुमारीलाई उनकै गाउँ सेरामा रहेको सहकारीले साथ दिएको छ । स्थानीय एकता सहकारीले उनी जस्ता धेरैलाई समेटेर समूह बनाएको छ । समूहका सदस्यलाई युनाइटेड मिसन टु नेपाल, पुथा उत्तरगंगा गाउँपालिका, मिक नेपाल र एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयले सीपमूलक तथा क्षमता विकासका तालिम दिएर सघाउँदै आएका छन् ।
‘बजारको ग्यारेन्टी भए उत्पादन गर्न कठिन छैन । तर, कहाँ बेच्ने भन्ने चिन्ता नै बढी हुन्छ । हामीले उत्पादन गरेर बेच्न हिँड्न नपरे त जति पनि तयार गर्ने थियौं नि’, कुमारी भन्छिन्, ‘घर बसेर बिक्री हुँदैन, बेच्न हिँडेपछि बनाउन कम समय हुन्छ । सरकार वा अरु कुनै संघसंस्थाले बजारको ग्यारेन्टी गरिदिए गाउँमै बसेर धेरैभन्दा धेरै उत्पादन गर्न सहज हुने थियो ।’