वन मन्त्रालयमा उपसचिव विष्टको रजगज, एक्लैले ओगटे ८ वटा पद
कैलाली । सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका उपसचिव हेमराज विष्टले अहिले आठ जिम्मेवारी सम्हालिरहेको पाइएको छ । मन्त्रालयसँगै, निर्देशनालय र महाशाखामा गरी उनले आठजनाको जिम्मेवारी लिइरहेका हुन् ।
मन्त्रालयमा पाँच महाशाखा छन् । ती सबै महाशाखाको कमाण्ड विष्टले नै सम्हाल्छन् । त्यस्तै सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका निमित्त निर्देशकको समेत जिम्मेवारी पाएका विष्ट अहिले मन्त्रालयका निमित्त सचिवको जिम्मेवारीमा पनि छन् । उनै विष्ट मन्त्रालयको प्रवक्ता पनि हुन् ।
पाँचै महाशाखा प्रमुख, वन निर्देशनालयका निमित्त निर्देशक र प्रवक्ताको जिम्मेवारी पाइरहेका विष्टलाई मन्त्रालयका सचिव जीवनाथ पौडेल काठमाडौं गएपछि निमित्त सचिवको जिम्मेवारी पनि दिइएको छ ।
सचिव पौडेल ५ गते काठमाडौं गएका हुन् । अपि बेस क्याम्पमा आवास गृह निर्माण गर्ने, फरेष्टरको तलबको विषयमा छलफल गर्ने र चिडियाखानाको विषयमा सैद्धान्तिक सहमति लिन सचिव काठमाडौँ गएका हुन् । सचिव पौडेलको अनुपस्थितिमा विष्टले निमित्त सचिवको जिम्मेवारी पाएका हुन् ।
वन मन्त्रालयमा प्रशासन योजना तथा अनुगमन शाखा, वन व्यवस्थापन तथा जैविक विविधता महाशाखा, विज्ञान वातावरण तथा जलवायु परिवर्तन महाशाखा, वाणिज्य तथा आपूर्ति महाशाखा र औद्योगिक तथा पर्यटन प्रवर्द्धन महाशाखा गरी पाँच महाशाखा छन् । ती सबै महाशाखा प्रमुख हुन् विष्ट । विष्टको कार्यकक्षमा पनि कुनै विभागीय महाशाखा नाम छैन उनलाई महाशाखा प्रमुख भनिएको छ ।
‘पाँचै महाशाखा प्रमुख उहाँ नै हुनुहुन्छ’ मन्त्रालयका सूचना अधिकारी दीपेन्द्र केसीले भने, ‘उहाँ अहिले महाशाखा प्रमुखसँगै निमित्त सचिव र वन निर्देशनालयका निमित्त निर्देशक पनि हुनुहुन्छ । ’
सबै महाशाखा प्रमुख एउटै व्यक्ति हुँदा काम पनि प्रभावकारी नभएको गुनासो आइरहेको छ । त्यसै माथि मन्त्रालयको निमित्त सचिव र प्रदेश वन निर्देशनालयका निमित्त निर्देशकको पनि जिम्मेवारी लिइरहेका विष्टलाई अहिले कार्यक्रममा जानै भ्याइ नभ्याई छ ।
उपसचिव विष्ट भने अझै आफूलाई काम कम भएको बताउँछन् ।
यत्रो जिम्मेवारी एक्लै लिँदा कामको चाँप हुँदैन ? भनी सोध्दा उनी भन्छन्, ‘मलाई अझै काम कम भएको छ सचिव नहुँदा निमित्त सचिवको जिम्मेवारी पाएको हुँ अरू जिम्मेवारीमा कामको चाप भएको छैन । ’
पाँच महाशाखा एक्लैले सम्हाल्ने विषयमा शाखा प्रमुखहरू भएको सहज भएको उनी बताउँछन् ।
‘काम व्यक्तिले गर्ने होइन । सिस्टमले गर्ने हो । शाखा प्रमुख हुनुहुन्छ त्यस्तो समस्या हुँदैन’, उनले थपे ।
केही समयअघि सम्म यहाँका दुई महाशाखामा प्रमुख थिए । उनीहरू दुवैले आफ्ना दुई महाशाखा मात्रै हेरिरहेका थिए । उनीहरूको सरुवा भइसकेपछि उपसचिव विष्टकै चाहनाअनुसार सचिव स्तरीय निर्णयबाट विष्टलाई सबै महाशाखा प्रमुखको जिम्मेवारी दिइएको मन्त्रालयले स्रोतले जानकारी दियो ।