सुरुङमार्ग बनाउन राजमार्ग बन्द गराउने पाल्पा प्रशासनको निर्णयमा रुपन्देहीको अब्जेक्सन
रुपन्देही । सिद्धार्थ राजमार्गमा सुरुङ मार्ग बनाउन लगातार १०० दिन रातको समयमा सडक बन्द गर्ने पाल्पा प्रशासनले निर्णयलाई रुपन्देही प्रशासनले अब्जेक्सन गरेको छ । पाल्पा प्रशासनले बन्द गर्ने सूचना जारी गरेको तेस्रो दिन रुपन्देही प्रशासनले फरक निर्णय गरेर पाल्पा प्रशासनको निर्णयलाई अब्जेक्सन गरेको हो ।
तीन दिनअघि पाल्पा प्रशासनले आगामी सोमबारदेखि सुरुङ मार्गको कामलाई सहज बनाउन भन्दै १०० दिनका लागि राति १० बजेदेखि बिहान ४ बजेसम्म अत्यावश्यक बाहेकका सवारी साधन रोक लगाएको थियो । सरोकारवालाबीच बैठक उक्त निर्णय गरिएको बताइएको छ ।
निर्णय सार्वजनिक भएको तेस्रो दिन रुपन्देही प्रशासनले माघे संक्रान्तिको रिडी मेलामा सडक सुचारु गर्ने तथा लगातार १०० दिनलाई विभाजन गरेर ५०-५० दिनमा सुक्ष्म अनुगमनपछि मात्र बन्दको निर्णय गर्ने सूचना सार्वजनिक गरेको छ । एउटै संघीय सरकार मातहतका दुईवटा प्रशासनको फरक फरक निर्णय आएपछि सर्वसाधारणमा भने अन्यौलता छाएको छ ।
दुईवटा प्रशासन कार्यालयको द्वन्द्वका नाममा जनताले दुःख पाउन नहुने पश्चिम नेपाल यातायात प्रालिका अध्यक्ष दधिराम खरेलले बताए । उनले रुपन्देही प्रशासनको निर्णय वस्तुपरक र व्यवहारिक भएको भन्दै एकै मन्त्रालयअन्तर्गतका प्रशासनले समन्वय गरेर एकीकृत निर्णय गर्न सुझाव दिए ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भने पाल्पा प्रशासनको निर्णयको बिपरीत निर्णय नगरी त्यसमा केही बुँदाहरुलाई व्ययवहारिक बनाइएको दाबी गरे । उनले पाल्पा प्रशासनको निर्णयमा छुट भएका विषयहरू समावेश गरी सर्वसाधारणलाई सहज हुने र सुरुङ निर्माणको कामलाई पनि अवरोध नहुने गरी निर्णय भएको बताए । सडक बन्द गर्ने तर कामले तीव्रता नपाउने विगतको परिपाटीलाई ध्यानमा राख्दै सडक बन्दसँगै परियोजनाको पनि सुक्ष्म अनुगमन गरी बन्दको अवधिमा कामलाई तिब्रता दिने तर्फ निर्णय लक्षित रहेको उनले बताए ।
५० दिनमा कामको प्रगतिबारे अनुगमन गरेर थप ५० दिन सडक बन्दको निर्णय गरिने प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।
रुपन्देहीले सडक बन्द हुने एक सय दिनलाई दुई चरण ५०-५०दिनमा विभाजित गरी प्रत्येक हप्ता कामको प्रगतिको सुक्ष्म अनुगमन गरेर मात्र अर्को निर्णय गर्नुपर्ने निर्णय गर्नुका साथै कामको प्रगति तथा समग्र प्रभावको सुक्ष्म अनुगमनका आधारमा दोस्रो चरणको आवागमन बन्द गर्ने निर्णयलाई आवश्यकताअनुसार थप परिमार्जन गर्ने सूचनामा उल्लेख छ ।