विश्वविद्यालय सुधारको माग गर्दै विद्यार्थीले गरे ‘सडक बहस’ (भिडिओ) – Nepal Press

विश्वविद्यालय सुधारको माग गर्दै विद्यार्थीले गरे ‘सडक बहस’ (भिडिओ)

काठमाडौं । विश्वविद्यालय सुधारको माग गर्दै विद्यार्थीहरुले विश्वविद्यालय सडक बहस शुरु गरेका छन् । शुक्रवार काठमाडौंमा नेपाल ल क्याम्पस अगाडि विद्यार्थीहरुले विश्वविद्यालयको सुधारका माग राख्दै विश्वविद्यालय सडक बहस शुरु गरेका हुन् ।

उनीहरुले विश्वविद्यालयमा राजनीतिक भागबण्डा अन्त्य हुनुपर्ने, शिक्षा प्रणाली गुणस्तरीय बनाउनुपर्ने, विश्वविद्यालयलाई डिजिटलाइजेशन गर्नुपर्ने लगायतका माग राखेका छन् ।

विश्व विद्यालय सडक बहस कार्यक्रममा बोल्दै नेपाल ल क्याम्पसका विद्यार्थी ओमप्रकाश सुनारले विश्वविद्यालयहरुमा पठनपाठन गर्ने हरेक गतिविधि निराशाजनक रहेको बताए ।

उनले पठनपाठनको स्थिति, शिक्षा प्रणाली, समयमै परीक्षा र नतिजा प्रकाशन नहुने लगायत विद्यार्थीका आशाअनुरुपको अध्ययन नहुने समस्या रहेको बताए । उनले विश्वविद्यालयहरु डिजिटलाइजेशन हुनुपर्ने बताए । उनले विद्यार्थीलाई रोजगार र गुणस्तरसँग जोड्न नसके विद्यार्थीहरु अझै धेरै विदेश जाने सम्भावना रहेको बताए ।

उनले विश्वविद्यालयमा राजनीतिका कारण शिक्षक र कर्मचारी नियुक्ति हुन नसकेको समस्यालाई हटाइ गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने मागसहित विश्वविद्यालय सडक बहस शुरु गरेको बताए ।

उनले भने,‘अहिले विश्वविद्यालय बहस किन चलाएका हौँ त भन्दा पछिल्लो समय नेपालका जतिपनि विश्वविद्यालयहरु छन्, त्यहाँको विश्वविद्यालयहरुमा पठनपाठन गर्ने हरेक गतिविधि हेर्ने हो भने सबै निराशाजनक छ । पठनपाठनको स्थितिदेखि लिएर त्यहाँको शिक्षा प्रणाली निचोड रुपमा हेर्ने हो भने त्रिभुवन विश्वविद्यालयको कुरा गर्दा समयमै परीक्षा नहुने, परीक्षा भइसकेपछिको नतिजा समयमै प्रकाशित नहुने र यहाँका विद्यार्थीहरुले आशा गरेअनुरुप विश्वविद्यालयमा पढाइ भइरहेको छैन । प्रत्येक विश्वविद्यालय डिजिटलाइजेसन हुनुपर्छ । त्यसको शैक्षिक क्यालेण्डर निर्माण गरी सोअनुसार पढाइ हुनुपर्छ ।’

कार्यक्रममा सहभागी अन्य विद्यार्थीहरुले विश्वविद्यालय सुधारको बहस सडक र सदनमा पनि उठाउनुपर्ने आवश्यकता रहेको बताए । उनीहरुले विश्वविद्यालयहरुलाई छाता ऐन चाहिएको र अबको विश्वविद्यालय विषयगत विश्वविद्यालय हुनुपर्ने बताए । विश्वविद्यालय सुधारका लागि सबै विद्यार्थीहरु एक भएर अघि बढ्न र दबाब सिर्जना गर्न जरुरी रहेको बताए । विद्यार्थीको हक अधिकार र राजनीतिको नाममा विद्यार्थी राजनीतिक संगठनले सस्तो सम्झौता गरेर टार्नु नहुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *