स्वर्ण जित्दाको खुसी बाँड्न नपाउँदै अस्ताइन् नीता
कैलाली । प्रथम अन्तर प्रदेश स्तरीय राष्ट्रिय उसु प्रतियोगितामा प्रदेशलाई स्वर्ण पदक जिताएकी धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी १८ वर्षीया नीता खड्का निकै उत्साहित थिइन् ।
५२ किलो तौलमा प्रदेशलाई स्वर्ण दिएकी खड्का न आफ्नो जितको उत्सव मनाउन पाइन् नत परिवार तथा आफन्तसँग खुसी साट्न पाइन् ।
बागमती प्रदेशको राजधानी हेटौडा,मकवानपुरमा मकवानपुर उसु संघले आयोजना गरेको राष्ट्रिय उसु प्रतियोगितामा अभूतपूर्ण सफलता हात पारेको सुदूरपश्चिममा एक स्वर्ण नीताले पनि जोडेकी थिइन् । मङ्गलवार र बुधवार सम्पन्न प्रतियोगितामा सुदूरपश्चिमले २२ स्वर्ण,२२ रजत र ३६ कांस्य गरी जम्मा ५२ पदकमा १४ स्वर्ण,२ रजत र ४ कांस्यका जम्मा २० पदक प्राप्त गर्न गरेको थियो ।
खेलाडीहरूले दिलाएको ऐतिहासिक समयमा उत्साहितहरूको खुसी धेरै समय टिक्न सकेन । कपिलवस्तुको चन्द्रौटाबाट करिब १५ किमी पश्चिम स्थित चोरखोलामा राति एक बजे खेलाडी सवार बसलाई ट्रकले ठक्कर दिँदा स्वर्ण पदक विजेता निताको मृत्यु भयो ।
ट्रकको ठक्करबाट घाइते भएकी खड्कालाई उपचारका लागि तत्काल बुटवलस्थित लुम्बिनी प्रदेश अस्पताल लगिएको थियो । जहाँ उनलाई चिकित्सकले मृत घोषणा गरे ।
‘स्वर्ण पदक जितेको खुसी परिवारसँग बाँड्ने खड्काको सपना अधुरो रह्यो’ नेपाल खेलकुद महासङ्घ सुदूरपश्चिम अध्यक्ष प्रकाश कुमार चन्दले भने, ‘हामीले एक होनहार र अनुशासित खेलाडी गुमायौ । हामी उनको मृत्युले स्तब्ध भएका छौ । ’
नीताले प्रदेशका लागि मात्रै नभई देशका लागि पनि उसुमा स्वर्ण जित्ने अपेक्षा गरिएको थियो । तर, उनले निधनले एक कुशल खेलाडी गुमेको चन्दले बताए । दुर्घटनामा अन्य ११ जना घाइते भएका छन् ।
दुर्घटनामा खेलाडीहरू पुष्पा कुवर, सपना तामाङ,सृजना बिसी, मुकेश कार्की,अस्मिता गाहामगर, अभी महतो, हरिचन्द्र कार्की, दीपक चौधरी र ज्ञानु विक घाइते भएका छन् । त्यस्तै निर्णायकहरू खुसीराम चौधरी,राजीव गुप्ता र एलिसा खाती पनि घाइते भएका छन् ।