पिएम कप क्रिकेट छनोटमा दोस्रो चरणका खेलहरू सुरु, उद्घाटनमा कैलाली र कञ्चनपुर भिड्दै – Nepal Press

पिएम कप क्रिकेट छनोटमा दोस्रो चरणका खेलहरू सुरु, उद्घाटनमा कैलाली र कञ्चनपुर भिड्दै

कैलाली । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेश स्तरीय छनोटमा दोस्रो चरणका खेलहरू सुरु भएका छन् ।उद्घाटन खेलमा फाप्लामा कैलाली र कञ्चनपुर त्यसै गरी बैतडीको दशरथ चन्द क्रिकेट मैदानमा बझाङ र बैतडी खेलिरहेका छन् ।

धनगढीको फाप्ला क्रिकेट मैदानमा शनिवार कैलालीका टिम कप्तान नारायण जोशीले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन् । टिम कञ्चनपुर फिल्डिङ गरिरहेको छ । बैतडीको दशरथ चन्द क्रिकेट मैदान सुन्दरखालीमा छनोट चरणको दोस्रो खेल बैतडी र बझाङ खेलिरहेका छन् । बझाङले टस जितेर पहिला फिल्डिङ गरिरहेको छ ।

प्रदेश स्तरीय छनोटको पहिलो चरणका खेलहरू बैतडीमा सम्पन्न भैसकेका छन् । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजना तथा बैतडी जिल्ला क्रिकेट संघको सह आयोजनामा पुस ८ गतेदेखि पहिलो चरणको प्रतियोगिता सञ्चालन भएको थियो । प्रादेशिक क्रिकेट संघले यस वर्षदेखि दुई चरणमा प्रदेश छनोट गरिरहेको छ।

दोस्रो चरणमा सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजना तथा कैलाली जिल्ला क्रिकेट संघको सह आयोजनामा च्याम्पियनसिपका खेलहरू आजबाट सुरु भएका छन् । प्लेट च्याम्पियनसिपमा दार्चुला,बझाङ,डडेल्धुरा,डोटी सहभागी थिए भने ईलिट च्याम्पियनसिपमा बैतडी,कैलाली,कञ्चनपुर र अछाम सहभागी छन् ।

गत वर्षको प्रदेश छनौटमा सेमिफाइनल पुगेका टोलीले सोझै ईलिट च्याम्पियनसिप र सेमिफाइनलमा नपुगेका टोलीले प्लेट च्याम्पियनसिप खेलेका हुन ।

खेलाडीको जीवन सुनिश्चित भए मात्र खेल क्षेत्र अगाडि बढ्छ: सदस्य सचिव सिंह

धनगढीको फाप्ला क्रिकेट मैदानमा एक औपचारिक कार्यक्रमका बिच सुदूरपश्चिम प्रादेशिक खेलकुद परिषद्का सदस्य सचिव दीपक सिंहले प्रतियोगिताको उद्घाटन गरेका हुन् । प्रमुख अतिथिको रूपमा उद्घाटन सत्रमा बोल्दै सदस्य सचिव सिंहले खेलाडीले खेलेरै बाँच्ने समय नआएसम्म खेल क्षेत्र धेरै अगाडि नबढ्ने बताएका छन् ।

उनले भने, ‘एउटा खेलाडीले आफ्नो सम्पूर्ण ऊर्जावान् जीवनका खेलमा सकाएर अत्यन्तमा रित्तै घर बस्नुपर्ने अवस्था आएको छ यो दुर्भाग्य हो राज्यले खेलाडीका लागि गम्भीर बन्नुपर्छ ।’

त्यस्तै क्यानका केन्द्रीय सदस्य धिरेन्द्र साउँदले खेलाडीको गहना अनुशासन भएकाले त्यसलाई पूर्णतया लागू गर्नुपर्ने बताए । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष वासुदेव जोशीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको सञ्चालन कोषाध्यक्ष दिनेश सिंहले गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *