पर्साको लज्जास्पद हार, पुलिसले जित्यो प्रो क्लबको उपाधि
काठमाडौं । नेपाल प्रो क्लब च्याम्पियनसिप क्रिकेटको उपाधी नेपाल पुलिस क्लबले जितेको छ । पर्साको नारायणी रंगशाला वीरगन्जमा भएको फाइनल खेलमा पर्सा ११ लाई १ सय रनले हराउँदै प्रो क्लब च्याम्पियनसिप उपाधि जितेको हो ।
पुलिसले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको पर्सा ११ ओभरमा ४५ रनमै समेटियो । पर्साका अनिल शाहले सर्वाधिक १३ रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङतर्फ पुलिसका सागर ढकालले ४ विकेट लिए । ४ ओभर बलिङ गरेका सागरले २२ रन खर्चेर ४ विकेट लिन सफल भए । रसिद खान र ललित राजभण्डारीले २-२ विकेट लिए ।
पर्साको टिममा कप्तानी गरेका सन्दीप लामिछाने अनुपस्थित थिए । जिल्ला अदालत काठमाडौले सन्दीपलाई शुक्रबार बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । शुक्रबार सेमिफाइनल खेलेका सन्दीप फाइनल खेल भने खेलेका थिएनन् । सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्ने क्रममा पर्साका सन्दीपले ३ विकेट लिएका थिए। सन्दीप अनुपस्थितिमा पर्साको कप्तानी सुरज पटेलले गरेका थिए ।
यसअघि पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४५ रन बनाएको थियो । पुलिसका करण केसीले सर्वाधिक ४० रन बनाएका थिए । अर्जुन साउदले २६, शंकर रानाले १९ र आरिफ शेखले १६ रनको योगदान दिए ।
बलिङतर्फ पर्सा ११ का पवन सराफ र सैफुल्लाह अन्सारीले २-२ विकेट लिएका थिए ।