नयाँ वर्ष मनाउन पूर्वी नाकाबाट आएका भारतीय गाडीलाई ट्राफिक प्रहरीको कडाइ – Nepal Press

नयाँ वर्ष मनाउन पूर्वी नाकाबाट आएका भारतीय गाडीलाई ट्राफिक प्रहरीको कडाइ

विराटनगर । अङ्ग्रेजी महिनाको नयाँ वर्षलाई लक्षित गरेर सुनसरी र धनकुटाको सङ्गम स्थल भेडेटारमा रहेका होटलहरुमा विशेष तयारी छ । भेडेटारसँगै रहेको धनकुटाको नाम्जेमा रहेका होटल र होम स्टे सञ्चालकहरू पनि नयाँवर्षका कारण उत्साहित छन् ।

कोशी प्रदेशको प्रसिद्ध पर्यटक क्षेत्र इलामका विभिन्न स्थलमा पनि पर्यटक आउलान् र व्यापार व्यवसाय गरौला भनेर तयारीमा छन् व्यवसायीहरू । इलामको कन्याम, श्रीअन्तु, सलकपुर, माई पोखरी, विशेषत: पर्यटककालागि मुख्य आकर्षक स्थल हुन् ।

नेपालका पर्यटकीय स्थलहरूमा आन्तरिक बाहेक भारतका सीमावर्ती राज्यबाट ठुलो सङ्ख्यामा पर्यटकहरू नयाँ वर्षका अवसरमा आउने गर्छन् ।

भारतको पश्चिम बङ्गाल, बिहार लगायतका राज्यबाट भारतीय पर्यटक कोशी प्रदेशमा आउने गरेका छन् ।

ट्राफिक प्रहरीले नयाँ वर्षलाई लक्षित गर्दै आएका भारतीय नम्बर प्लेटका लाडीको चेकजाँचमा कडाइ गरेकाे छ । 

शनिवार दिउँसो झापाको काँकडभिट्टाबाट विराटनगरसम्म आउँदा सडकमा ट्राफिकको बाक्लो उपस्थिति थियो ।

झापाको कनकाई नगरपालिका सुरुङ्गा स्थित पर्यटकीय स्थल जामुनखाँडीमा लाइनै लागेर भारतीय नम्बरका साना सवारी साधन रोकिएका थिए । सडकमा बसेका ट्राफिक प्रहरीले सवारी साधनको चेकजाँचमा व्यस्त देखिन्थे ।

सुरुंगाभन्दा ३६ किलोमिटर पूर्व काँकडभिट्टा नाकामा सबै कागजपत्र देखाएर र भन्सार पास गरेर आएका सवारी साधनमा दार्जीलिंग र सिलगढीका पर्यटकहरू थिए ।

यात्रामा भेटिएका त्रिपन भौमिकले ट्राफिक प्रहरीको चेकजाँचले हैरान भएको बताए । सबै कागजपत्र देखाएर सवारी पासा गरेर आएपछि पनि ट्राफिकले दु:ख दिएको उनको आरोप छ ।

उनले भने, ‘बाटामा ट्राफिकले कागज पत्र हेर्ने मात्रै होइन यो र त्यो बहानामा रोकेर राखेको छ । कति खेर पुगिने हो टुङ्गो छैन ।’

उनले सीमामै सबै कागजात चेक गरेकाले ट्राफिकले दुख दिन नहुने बताए ।

शनिवार नै मोरङको कानेपोखरी गाउँपालिका स्थित कानेपोखरी बजार नजिकै जङ्गलमा पनि ट्राफिक प्रहरीको चेकजाँच थियो । चेकजाँचमा रोकिएका थिए भारतीय नम्बरका गाडीहरू । नेपाली नम्बर प्लेटका गाडीहरूमा भने चेकजाँच भएको थिएन ।

ट्राफिक प्रहरीको चेकजाँचमा परेका भारतीय नम्बरको स्करपीयोका चालक मोहम्मद रिजवानले आफूहरू श्रीअन्तु हिँडेको बताए । उनी भारतको मधुबनीबाट यात्रु लिएर आएका थिए ।

उनले सुनसरीको भान्टावारीमा नाकामा सबै कागजात देखाएर आएको भए पनि त्यसपछि पनि बाटोमा ५ ठाउँमा ट्राफिकले चेकजाँच गरेको बताए ।

उनले सुनाए, ‘हाम्रो गाडी देखेपछि पर पसलमा भएको पुलिस पनि कुद्दै आउँछन् अनि कागज पत्र भन्दै निक्कै बेर रोकेर राख्छन् ।’

कोशी प्रदेशमा तराई र पहाडको दुरी एकदमै नजिक छ । भारतीय सीमाबाट डेढ दुई घण्टा सडकको दुरी पार गरेपछि चिसो स्थानहरूमा पुग्न सकिन्छ ।

भारतको बिहार र पश्चिम बङ्गालमा गर्मीले जनजीवन अस्तव्यस्त भएका बेला पूर्वी नाका काँकडभिट्टा, रानी नाका जोग बानी र भाम्टावारि नाकाबाट एक देखि डेढ घण्टाको सडक यात्रामा पर्यटकीय स्थल भेडेटार र कन्याम पुग्न सकिन्छ । तर पर्यटन नीतिका कारण यहाँको पर्यटनको विकास हुन नसकेको पर्यटन व्यवसायीहरू बताउँछन् ।

पर्यटन व्यवसायी भविश श्रेष्ठ नेपाली पर्यटनका मुख्य आधार भनेकै भारतीय पर्यटक हुन् भन्छन् ।

उनले भने- उनीहरूलाई सम्मान गर्न नसके यहाँको पर्यटन विकास हुन सक्दैन । श्रेष्ठ भन्छन् राज्यले नै उनीहरूलाई गर्ने व्यवहार राम्रो छैन ।

उनले भारतका विभिन्न सहरमा पर्यटन सम्बन्धी कार्यक्रम र अन्तरक्रियामा नेपालमा पर्यटन मैत्री व्यवहार नभएको गुनासो आउने गरेको बताए ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी सरोज पौडेलले भारतमा भन्दा नेपालमा गाडीलाई धेरै सहज भएको बताए । उनले सीमा प्रवेश गर्दा एक दिनमै फर्कने भए भन्सार समेत काट्नु नपर्ने बताए ।

उनले भने ‘नेपाली गाडी भारत लैजान दूतावाससम्म प्रक्रिया अवलम्बन गर्नु पर्छ हाम्रामा त सीमामै सबै काम हुन्छ । उताको व्यवस्था नहेर्ने अनि नेपालमा ट्राफिकले दुख दियो भन्ने ?’

उनले उताको दुखको बारेमा पनि पर्यटन व्यवसायीहरूले हेर्नु पर्ने बताए ।

‘हाम्रो काम कागज सही छ की छैन भनेर चेकजाँच गर्ने हो । चालकको अवस्था के छ भनेर जाँच्ने हो’, उनले भने ‘हामीले त्यही अनुसारको काम गरिरहेका छौ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर