साउदी जाने कामदारलाई बायोमेट्रिक अनिवार्य गरेर आर्थिक भार पार्न खोजिएको भन्दै संघको आपत्ति – Nepal Press

साउदी जाने कामदारलाई बायोमेट्रिक अनिवार्य गरेर आर्थिक भार पार्न खोजिएको भन्दै संघको आपत्ति

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले नेपालबाट रोजगारीको लागि साउदी अरब जाने नेपाली कामदारलाई नेपालमा रहेको साउदी दुतावासले आर्थिक भार पार्न खोजेको भन्दै आपत्ति जनाएको छ ।

नेपालमा रहेको दुतावासले नेपाली कामदारले बायोमेट्रिक गर्नुपर्ने भन्दै आर्थिक भार पार्न खोजेको संघले आपत्ति जनाएकाे हाे । अहिले नेपालबाट भिजिट भिसा र पारिवारिक भिसामा मात्रै बायोमेट्रिक गर्नुेपर्ने व्यवस्था रहेको छ भने, दुतावासले सन् २०२४ देखि कामदारलाई पनि नेपाल बायोमेट्रिक गर्नु लागू गर्न खोजेको हो ।

भारत र बंगलादेशबाट काम गर्न जाने कामदारलाई पनि यसभन्दा पहिले नै साउदीले बायोमेट्रिक लागू गर्न खोजेको थियो । भारत र बंगलादेशले विरोध गरेपनि साउदी पछाडि हटेको थियो ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विज्ञप्ति निकालेर कामदारलाई बायोमेट्रिक लागू गर्न खोजेमा विरोध गरेको छ ।

‘साउदी अरब दूतावासले नेपाल सरकार र नेपाल वैदेशिक रोजगार व्यवसायी संघसँग कुनै छलफल नगरी बायोमेट्रिक लागू गर्न खोजेको छ । यसले कामदारलाई आर्थिकभार पार्ने भएकाले नै हामीले विरोध गरेको हो । बायोमेट्रिकको नाममा लामो समय काठमाडौं बसेर ठूलो खर्च हुन्छ । एकाधिकार जन्माउनेको यो शुरुवात पनि हो । हामी व्यवसायीले ३० वर्षदेखि सहज ढंगले कामदार पठाइरहेका छौं । कामदरसँग जोडिने हरेक विषयमा नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग छलफल र स्विकृतिबिना खडा हुने भिसा सेन्टरलगायतका संस्थाहरु यस संघलाई मान्य हुने छैन,’ संघले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

यस विषयमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयलाई ध्यानाकर्षण गराउँदै कुनै एक संस्थामार्फत एकाधिकार लागू गर्न खोजिएको खण्डमा नेपाल संघले कडा प्रतिवाद गर्ने बताएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर