वैदेशिक रोजगार विभागको महानिर्देशकमा डण्डुराज घिमिरे – Nepal Press

वैदेशिक रोजगार विभागको महानिर्देशकमा डण्डुराज घिमिरे

काठमाडौं । वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारी डण्डुराज घिमिरेलाई दिइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री सरतसिंह भण्डारीले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयका सहसचिव घिमिरेलाई विभागको महानिर्देशकमा जिम्मेवारी दिएका हुन् ।

मन्त्रालयले बिहीबार निर्णय गरेकोमा घिमिरेले शुक्रबार विभागको महानिर्देशकको रूपमा पद बहाली गरिसकेका छन् । संयोगबस उनले पद बहाली गरेकै दिन विभाग अन्तरगको ईपीएस शाखासँग सम्बन्धित बिवादका कारण ललितपुरको बालकुमारीमा प्रहरी र ईपीएस भाषा परीक्षार्थीविच झडप हुदाँ दुई जनाको मृत्यु भएको छ ।

२०७८ भदौमा मन्त्रालयमा आएका सहसचिव साढे दुई २८ महिनादेखि मन्त्रालयमा कार्यरत थिए । मन्त्रालयमा उनले सुरुमा प्रधानमन्त्री रोजगार कार्यक्रम निर्देशकको जिम्मेवारी सम्हालको थिए भने पछिल्लो समय श्रम, सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा प्रमुखसँगै मन्त्रालयको प्रवक्ताको जिम्मेवारी पनि सम्हाल्दै आएका थिए ।

यस अघि उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तरगत रहेको पर्यटन विभागको महानिर्देशकको जिम्मेवारीमा थिए । उक्त विभागमा पनि उनले २८ महिना महानिर्देशकको जिम्मेवारी सम्हालेका थिए ।

करिव एक महिना अघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भण्डारीले मन्त्रीस्तरीय निर्णय गर्दै वैदेशिक रोजगार विभागमा महानिर्देशकको पद रिक्त राखेर दुई सहसचिवको सरुवा गरेका थिए । जसमा वैदेशिक रोजगार विभागका तत्कालिन महानिर्देशक मदन दाहाललाई श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको महानिर्देशकको जिम्मेवारी दिएर श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा महानिर्देशकको जिम्मेवारीमा रहेका केशव विमलीलाई राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समितिको कार्यकारी निर्देशकमा सरुवा गरेका थिए ।

दाहालको सरुवा भएसँगै बैदेशिक रोजगार विभाग करिव एक महिनादेखि महानिर्देशक विहिन भएको थियो । दाहालले सात महिना अघि मात्रै गत जेठ दुई गते वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारी सम्हालेका थिए । दाहाल मात्रै नभएर विभागमा महानिर्देशकको जिम्मेवारी पाउनेमध्ये थोरैले एक वर्ष विभागको महानिर्देशकको जिम्मेवारी पाउने गरेका छन् ।

श्रममन्त्रीको धेरै चासोका रुपमा विभाग रहने भएकाले अधिकांशको ६ महिना नपुग्दै सरुवा हुने गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर