पीएम कप छनोट : अछाममाथि कैलालीको सहज जीत
कैलाली । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनोटमा दोस्रो चरणमा अछामविरुद्ध कैलालीले सहज जीत निकालेको छ ।
अछामले दिएको १०१ को झिनो लक्ष्य कैलालीले १६ ओभरमै पूरा गर्यो । कैलालीका लागि ओपनर ब्याट्सम्यान अभिषेक पाल र टेक रावतले ८९ रनको साझेदारी गरेपछि कैलालीले सहज जित निकालेको हो ।
कैलालीका टेक रावतले केबल ३६ बल सामना गर्दै १२ चौका र १ छक्काको मद्दतले ६५ रनको आक्रामक पारी खेले । अभिषेक पालले ३६ बलमा ३ चौकाको मद्दतले १९ रन बनाए । विजय राना ५ रनमा आउट हुँदा संदिप बिस्ट ३ र वसन्त सिंह कार्की १० रनमा अविजित रहे । अछामका लागि रोहित खड्का,अभिषेक चौधरी र युवराज खत्रीले १र१ विकेट लिए ।
यसअघि फाप्ला खेल मैदानमा टस जित्दै अछामले पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो । अछामका लागि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका हिमाल कुँवर बाहेक अन्य ब्याट्सम्यानले सम्झन लायक प्रदर्शन गर्न सकेनन् । ३२.१ ओभर ब्याटिङ गरेको अछामले अल आउट हुँदै १०० मात्र जोड्न सक्यो ।
अछामका लागि हिमाल कुँवरले ८४ बलको सामना गर्दै ३ चौकाको मद्दतले ३४ रन बनाए । ओपनर ब्याट्सम्यान राज विश्वकर्माले मात्र ६ रन जोडे । अर्का ओपनर सिद्धार्थ साउँद ० रनमै पवेलियन फर्किए । सुरज तिरुवा २०,युवराज खत्री १०,टिपक टमाट्टा १, कप्तान राजु रिजाल ५ ,महाजन कुँवर ३,विक्रम थापा २ , अभिषेक चौधरी १ र रोहित खड्का ० रनमा अविजित रहे ।
अछामलाई सस्तैमा समेट्न कैलालीका पारस सुनारले ३ विकेट चट्काए । त्यस्तै नरेन साउँदले पनि उत्कृष्ट बलिङ गर्दै १ विकेट लिए । ९ ओभर बलिङ गरेका नरेन साउँदले २ मेडन राख्दै २१ रन खर्चेर १ विकेट लिएका हुन । कैलालीका लागि वसन्त सिंह कार्की र धर्म जोशीले पनि उत्कृष्ट बलिङ गर्दै २र२ विकेट लिए। कप्तान नारायण जोशी र डम्बर माझीको नाममा १र१ विकेट रह्यो ।
६५ रनको आक्रामक पारी खेलेका कैलालीका टेक रावत म्यान अफ दी म्याच चुनिए । जारी छनोट प्रतियोगिता कैलालीको यो पहिलो जित हो उसले हिजो कञ्चनपुरसँग १ विकेटको हार ब्यहोरेक थियो भने अछाम पहिलो खेलमा पराजित हुँदै अङ्क तालीकाको पुछारमा छ ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजनामा सुरु भएको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको छनोट खेलमा बैतडी,बझाङ,अछाम,कैलाली र कञ्चनपुर गरी ५ टोली सहभागी छन् ।