साउदीमा भोलिदेखि कामदार नपठाउने मेनपावर व्यवसायीको अडान – Nepal Press

साउदीमा भोलिदेखि कामदार नपठाउने मेनपावर व्यवसायीको अडान

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले भोलिबाट साउदी अरबमा कामदार नपठाउने अडान लिएको छ ।

साउदी दूतावासले सरकार र व्यवसायीसँग समन्वय नै नगरी बायोमेट्रिक लागू गरेकोले नेपाली कामदार साउदी नपठाउने निर्णय गरिएको संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए ।

भण्डारीले नेपाल प्रेससँग भने, ‘कुनै मेनपावर कम्पनीले पठायो भने पनि हामी कारबाही छौं । भारत र बंगलादेशबाट काम गर्न जाने कामदारलाई पनि यसभन्दा पहिले नै साउदीले बायोमेट्रिक लागू गर्न खोजेको थियो । भारत र बंगलादेशले विरोध गरेपनि साउदी पछाडि हटेको थियो ।’

उनले बायोमेट्रिकले कामदारलाई आर्थिक भार पर्ने भएकाले आफूहरूले विरोध गरेको बताएका छन् । साउदीले सन् २०२४ को सुरुदेखि बायोमेट्रिक लागू गर्ने तयारी गरेसँगै पहिलो दिनबाटै व्यवसायीले रोजगारीका लागि नेपाली कामदार नपठाउने बताएका हुन् ।

अहिले भिजिट र परिवरिक भिजामा बायोमेट्रिकका लागि १७ हजार लिइरहेको छ । कामदारलाई सुरूमा ७ सय रूपैयाँ लिने भनिएको छ । भने विस्तारै बढाउँदै जाने उल्लेख छ । प्रतिदिन ५० जनाको मात्रै बायोमेट्रिक गर्ने कोटा दिने भनिएको छ । नेपालबाट प्रत्येक दिन करिब ३ देखि ४ सय नेपाली रोजगारीको लागि साउदी जाने गरेका छन् ।

बायोमेट्रिकका गर्न काठमाडौंमा आएर वस्नुपर्ने कारणले पनि आर्थिक बोझ थपिने भण्डारीले बताए । साउदीमा ४ लाख नेपालीले काम गरिरहेको उनको भनाइ छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरे बायोमेट्रिकसँगै आएको विरोधबारे आफूहरूले बुझ्ने बताए ।

उनले भने, ‘सरकार र व्यवसायीसँग नै साउदी अरबको दूतावासले छलफल नै नगरी बायोमेट्रिक लागू गर्न खोजेको भन्ने छ । यस विषयमा छलफल गर्नेछौं । कामदारलाई सहज बनाएर नै पठाउनुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *