मान्छे बनिदिऔं भन्दा !
सबै बन्न सजिलो तर, मान्छे बन्न गाह्रो रैछ । एकदिन च्याटमा कुरा गर्दैगर्दा उसले भनी, ‘तिमी आजभोलि के गर्दैछौं ?’ जवाफमा ‘मान्छे बन्ने प्रयास गर्दैछु’ भनें । ‘प्रयास मात्रै !’, भनेर ऊ गायब भै ।
मान्छे बनाउन सजिलो छ । तर, बन्न साह्रै गाह्रो । ठट्टा गर्दागर्दै । त्यसो त ।
प्रकृतिसँग ईश्वरसँग सम्बन्ध बनाउनुभन्दा पहिला मान्छेसँग मान्छेको सम्बन्ध बनाउन जरुरी हुन्छ ।
भनिन्छ, मानव सभ्यताको इतिहास जान्ने हो, बुझ्ने हो भने असफलतालाई बुझ्नु पर्छ रे ! पहिलो विश्वयुद्ध, दोस्रो या जुनसुकै युद्ध केवल मानिस र मानिसबीचको लडाइँ हो । इगोको लडाइँ । यसकारण मानिसको सबैभन्दा ठूलो असफलता यो हो कि हामी मान्छे हुन सकेनौं वा मान्छे बनेनौं ।
यद्यपि संसारको सारा धर्म, सम्प्रदाय, रीतिरिवाज, व्यवस्था, पठनपाठन, सामाजिक व्यवस्था, धर्मग्रन्थहरु, हरेक पुस्तकहरु, नीति ज्ञान, मनुस्मृति, गरुणपुराण, महाभारत, रामायण, बाइबल, कुरान आदि सबै मान्छेलाई मान्छे बनाउन लेखिएका नीति पुस्तक हुन् । तर पनि मान्छे, मान्छे हुन सकिरहेको छैन ।
किन ?
किनभने मान्छेसँग सम्बन्ध बनाइसकेपछि मात्र ईश्वर र प्रकृतिसँगको सम्बन्ध बल्ल अर्थपूर्ण रहन्छ ।
कतै एउटा किताबमा पढेको थिएँ-
‘आज संसारमा दानव हिरो भएर बसेको छ ।
संसारको कुनै पनि समस्या आर्थिक, सामाजिक या राजनीतिक होइन ।
हरेक समस्या केवल अध्यात्मसँग जोडिएको हुन्छ रे !’
हामीलाई ईश्वर, प्रकृति र मान्छेसँग हाम्रा सम्बन्धहरु कस्ता छन्, हुनेछन् र हुनुपर्छ भन्ने थाहा हुनुपर्छ । मान्छेसँग मान्छेको सम्बन्ध हुन शुरु कहाँबाट हुने ?
पक्कै पनि घरबाट । घरको सदस्यबाट ।
संसारको सारा धर्म, सम्प्रदाय, रीतिरिवाज, व्यवस्था, पठनपाठन, सामाजिक व्यवस्था, धर्मग्रन्थहरु, हरेक पुस्तकहरु, नीति ज्ञान, मनुस्मृति, गरुणपुराण, महाभारत, रामायण, बाइबल, कुरान आदि सबै मान्छेलाई मान्छे बनाउन लेखिएका नीति पुस्तक हुन् । तर पनि मान्छे, मान्छे हुन सकिरहेको छैन ।
जस्तो कि दाजुभाइबीच यस्तो सम्बन्ध बनोस्, जो सानैमा हुने गर्थ्यो । जीवनको अन्तिमसम्म स्नेह र प्रेममा बाँधिएर बस्न सकियोस् । समाज होस्, कसैले कसैलाई सानो-ठूलो देखाउन नपरोस्, लुट्न नपरोस्, छलकपट र बेइमानी गर्न नपरोस् ।
मानौं, यस्तो अफिस कि जहाँ हाकिमले आफ्ना स्टाफको शोषण नगरोस् । स्टाफले आफ्नो हाकिमसँग बेइमान नगरोस् । यस्तो समाज, जहाँ प्रेम, करुणा, इमानदारी सर्वोपरी होस् । यस्तो परिवार, जहाँ श्रीमान र श्रीमती एक-अर्काका परिवार वा एकअर्कालाई सानो ठूलो देखाउनुको सट्टा आफ्नो सम्झेको होस् ।
कोही कसैप्रति घृणा नगरेको होस्, धर्मको नाममा, जातिको नाममा कुनै पनि रंगको आधारमा, सामर्थ्यका आधारमा, बल निर्वलका आधारमा र दुब्लो तथा मोटोका आधारमा ।
के यस्तो गतिविधि होला ? पसलले मिसावट नगरेको होस् । कालोबजारी नगरेको होस् । प्रहरीले घुस नखाएको होस् । निर्धोलाई नपक्रेको होस् । डाक्टरले जो गरिब र अज्ञानी बिरामी छन्, उनीहरुसँग फाइदा नलिएको होस् । वकिलले गलत जान्दाजान्दै आफ्नो विवेक र नैतिकता बिर्सेर पैरवी नगरेको होस् । जो गलत हो, जान्दाजान्दै गलतका सबै प्रमाण हुँदाहुँदै पनि न्यायाधीशले विवेकी भएर सही न्याय दिएको होस् ।
यस्तो प्रदेश, जो धनीले गरिबलाई गरिबी, अशिक्षा, कुपोषण जस्ता मानव शत्रु निमिट्यान्न पार्न सहयोग गरेको होस् । एक-अर्कोको उत्थान गर्न हातेमालो होस् ।
यस्तो एउटा संसार, जो धर्मको नाममा झगडा नहोस् । साम्यवाद जस्तै समानताको सिद्धान्त त होस् तर, त्यसको लागि संघर्ष नहोस् । स्वतन्त्रता त होस् तर, त्यस स्वतन्त्रताको उपयोगको लागि अर्काको स्वतन्त्रता हडप्न नपरोस् ।
प्रेम होस् त निःस्वार्थ ! परिवार यस्तो होस्, जसमा लेनदेनको हिसाबकिताब नहोस् । व्यवसाय होस्, त्यसमा बेइमानी नहोस् । ठूलो पद होस्, शक्ति होस्, धनसम्पत्ति, यश आराम होस् तर, अहंकार नहोस् ।
एक यस्तो संसार होस्, जसमा आफूले आफैंलाई अब्बल सावित गर्न अर्कालाई होच्याउन नपरोस् । अर्कालाई गिराएर आफू अग्लो हुने सोच नहोस् । एकअर्काको बीच यस्तो प्रतिस्पर्धा होस्, कसले अरुलाई धेरै सहायता गर्न सकियोस् भनेर ।
यस्तो संसार, जसमा स्नेह होस्, क्रूरता नहोस् । मान्छेको योग्यता उसको जात, धर्म र वर्णका आधारमा तय नहोस् ।
के लाग्छ र यस्तो संसार बनाउन ? यस्तो संसार बनाउन पहिला मान्छे हुन जरुरी छ । मान्छे हुन त्याग, सेवा, करुणा, सहयोग, समर्पण, प्रेम र यस्तै केही अनेक शब्दहरु । जुनकि सानोमा स्कुलहरुमा हामी बच्चा हुँदा रटाइ रटाइ पढाइन्थ्यो विभिन्न कथाहरु । तिनै कथाहरु पढेर हामीले नैतिक, सामाजिक, नेपाली किताबहरु पास गरौं । अब के ती लागू छन् त हाम्रो दैनिकीमा ? पक्कै छैन ।
संसारमा यो विवाह भन्ने कुरा ५ हजार वर्ष पहिलेबाट सुरु भएको एउटा परम्परा हो । विवाह संस्था । ५ हजारदेखि प्रयोगमा आएको यो संस्था आज पनि परफेक्ट छैन । डिभोर्स, कलह, झैंझगडा, छुट्टी, भिन्न आदि इत्यादि । ५ हजार वर्षदेखि हामीले प्राक्टिसमा ल्याइरहेको परम्परा संस्था त आजसम्म सफल हुन सकेको छैन भने अस्ति आएको लोकतन्त्र होस् वा गणतन्त्र, नेपालमा किन सफल हुन्थ्यो ?
किनभने मान्छे हुन त्यो पढाइएको बाटो चल्न पर्थ्यो, त्यो बाटो असजिलो हुनाले हामीले उल्टो बाटो हिँडेका हुन्छौं । जुन कुरा सिद्धान्तका आधारमा पढाइएको हुन्छ, त्यसलाई व्यवहारमा लगिदैंन । बीपी कोइरालाले आफ्नो आत्म वृतान्तमा भनेका रहेछन्- ‘सफल हुनुभन्दा असल हुनु राम्रो ।’ बीपी आफैंमा सफल थिए । उनलाई असल हुनु राम्रो लाग्यो । कोही असल छन् तर, तिनलाई सफल कसरी हुने चिन्ता होला ? सफलका आफ्नै परिभाषा होलान् । जो जे कुरामा हिँडेको छ, उसले त्यै पाउन चाहेको कुरा पाएको कुरा नै सफल होला । धन कमाउन हिँडेकालाई धनी हुनु सफल होला त्यस्तै ।
संसारमा जति पनि सफल मान्छे छन्, पहिला ती मान्छे बनेर मात्रै सफल हुन्थे भने संसार अर्कै हुन्थ्यो । मान्छे नबनी लेखक बन्न सकिँदैन । लेखक बन्नलाई सोच्नुपर्छ, सोच्नलाई इमानदार । इमानदार हुन मान्छे बन्नुपर्छ ।
कविला युगबाट मान्छेमा परिणत हुन सबैभन्दा महत्वपूर्ण अर्गान भनेको पेट हो । पेटले भोक माग्छ । भोकले भोजन माग्छ । भोजनले उत्पादन माग्छ । उत्पादन गर्न खेती गर्न पर्यो । मान्छेले खेती गर्न सुरु गरे । आफ्नो पेट भर्दैगर्दा उसमा अझ बढी लालच जाग्यो भण्डारण गर्न । उसले केही जग्गालाई हडप्न थाल्यो । पृथ्वीका टुक्रामा आफ्नो हैकम बढाउन थाल्यो । त्यसलाई व्यवस्थापन गर्न विवाह संस्था अपनायो । आफूले आर्जेको कुरा अरुमा नजान छोराछोरीमा सार्यो । यसरी सम्पत्ति र विवाहको संस्थागतमा मान्छे लागिपर्यो ।
संसारमा यो विवाह भन्ने कुरा ५ हजार वर्ष पहिलेबाट सुरु भएको एउटा परम्परा हो । विवाह संस्था । ५ हजारदेखि प्रयोगमा आएको यो संस्था आज पनि परफेक्ट छैन । डिभोर्स, कलह, झैंझगडा, छुट्टी, भिन्न आदि इत्यादि । ५ हजार वर्षदेखि हामीले प्राक्टिसमा ल्याइरहेको परम्परा संस्था त आजसम्म सफल हुन सकेको छैन भने अस्ति आएको लोकतन्त्र होस् वा गणतन्त्र, नेपालमा किन सफल हुन्थ्यो ? यी संस्था पनि मान्छेले नै स्थापना गरेका हुन् । यी सबै असफल हुनुमा लोभलालच नै प्रमुख हो, मान्छेभित्र भएको । त्यसैले ।
यी लामो व्याख्या गर्न खोज्दै गर्दा साथी साइनआउट भै सकिनँ । म मान्छे बन्ने प्रयासमा तीसको दशकपछि अब चालीस टेक्ने अभियानमा हुँदै गर्दा बल्ल बुझ्दैछु र मान्छे बन्ने प्रयासमा छु । बनाउने प्रयासमा होइन । अरुलाई पनि मान्छे बनिदिऔं न यार भन्छु र आफू पनि मान्छे बन्ने प्रयासमा छु । अरु कुरा सिक्ने प्रयासमा लाग्ने हो भने अथाह रैछ संसार ! कहिल्यै नसकिने रैछ ।
लाखौं करोडौं तारामण्डलबीच एउटा सानो पीण्डको एक भागको २०९ देशभित्रको साढे सात अर्ब जनसख्यामध्येमा तीन करोड जनसंख्या भएको ७७ जिल्लामध्ये एउटा जिल्ला त्यसमध्येका एउटा नगरपालिका, जसमा २० हजार जनसंख्या भएको त्यसमध्येको म । मैले संसारमा सिक्नुभन्दा बरु आफैंभित्र आफूलाई सिकाउने र सिक्ने अभियानमा लाग्दै गर्दा पहिला मान्छे बन्नुपर्ने रैछ । यो मान्छे बन्ने कुरा गाह्रो रैछ भन्ने कुरा बल्ल चार दशकपछि बुझें ।
ऊ अमेरिकामा बसेको केटीलाई मान्छे बन्ने प्रयासमा छु भन्दा अनौठो लाग्नु स्वाभाविक हो । त्यसैले गत सालको क्रिसमसदेखि यो क्रिसमससम्म ऊ अफलाइन नै छ । म मान्छे बन्ने अभियानमा छु । मेरो सपना मान्छे बन्ने हो ।