पूर्वराजाले नातिलाई छेउमा राख्दा राजावादी सर्कलमा तरंग, भावी राजा हृदयेन्द्र भन्दै प्रचार
रवीन्द्र मिश्र भन्छन्- राजाको संकेत बुझ्नुपर्छ, यो अर्थपूर्ण छ
रुपन्देही । पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नो परिवारका सदस्यहरुसमेत लिएर अहिले पश्चिम नेपालको भ्रमणमा छन् । राजावादी संघसंस्थाहरुको आयोजनामा पूर्वराजालाई विभिन्न स्थानमा नागरिक अभिनन्दनको कार्यक्रम छ ।
दुई दिनअघि पूर्वराजालाई कपिलवस्तुमा अभिनन्दन गरिएको थियो । त्यहाँ एउटा फरक दृश्य देखियो । पूर्वराजाले आफू सँगैको ‘सिंहासन’ मा नाति हृदयेन्द्रलाई राखेका थिए । यसलाई अर्थपूर्ण मान्दै राजावादी तप्का तरंगित बनेको छ ।
उक्त अभिनन्दनको तस्विर शेयर गर्दै राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र लेख्छन्, ‘मपछि उही नै हो राजा ! सन्देश यही हुनुपर्छ ।’
राजाले सबै कुरा नबोल्ने र संकेतले बुझ्नुपर्ने उनले बताएका छन् ।
सामाजिक सञ्जालमा मिश्रले भनेका छन्, ‘अहिलेको समयमा सार्वजनिक मञ्चमा राजपरिवारबाट राजा ज्ञानेन्द्र र नवयुवराज हृदयेन्द्र दुई जनाको मात्रै उपस्थितिको ठूलो राजनीतिक अर्थ छ ।’
राजसंस्था पुनःस्थापनाको माग गर्नेहरुलाई गणतन्त्रवादीहरुले पूर्वयुवराज पारसलाई देखाएर हियाउँदै आएका छन् । पारस जस्ता ‘गँजडी’ लाई राजा बनाउन राजतन्त्र ल्याउने हो भन्ने गणतन्त्रवादीहरुको प्रश्नमा राजावादीहरुसँग तार्किक जवाफ छैन । तर, पूर्वराजा ज्ञानेन्द्रले छोराको साटो नातिलाई छेउमा राखेपछि राजावादी तप्का गदगद् भएको छ । उनीहरुले यसलाई ज्ञानेन्द्रले आफ्नो उत्तराधिकारीका रुपमा पारस नभइ हृदयेन्द्रलाई अघि सार्न खोजेको अर्थमा लिइराखेका छन् ।
पूर्वयुवराज पारस र पूर्वयुवराज्ञी हिमानीका तेस्रो सन्तान र एक्ला छोरा हुन् हृदयेन्द्र । युवा उमेर (हाल २२ वर्ष) मा प्रवेश गर्दा उनको पारसभन्दा फरक छवि विकास भइरहेको छ । अहिलेसम्म कुनै पनि विवादमा नपरेका र शालिन स्वभावका हृदयेन्द्र नयाँ पुस्ताका युवायुवतीबीच लोकप्रिय छन् । त्यसैले राजावादीहरुले उनलाई ज्ञानेन्द्रको उत्तराधिकारी र भावी राजाका रुपमा प्रचार गर्न थालेका हुन् । यद्यपि, राजनीतिमा हृदयेन्द्रको अभिरुचि अहिलेसम्म प्रकट भएको छैन । एकाध कार्यक्रममा उनी आमा हिमानीसँग देखिएका थिए । तर, हजुरबासँग यसरी एउटै आसनमा बसेको पहिलो पटक हो ।
पूर्वयुवराज पारस भने आफ्नै धुनमा छन् । पत्नी हिमानीसँग उनको सम्बन्ध सुमधुर छैन भने बुवाआमासँग पनि उनी खासै नजिक छैनन् । पूर्वराजाले विभिन्न कार्यक्रममा जाँदा बरु बुहारी हिमानी र छोरी प्रेरणालाई सँगै लैजाने गरेका छन् । अहिले पश्चिम नेपालको भ्रमणमा पनि पारसबाहेक परिवारका सदस्यहरु सहभागी छन् ।
पुस ९ गतेदेखि पूर्वराजा ज्ञानेन्द्र रुपन्देही आसपासमा घुमिरहेका छन् । रुपन्देही, कपिलवस्तु, नवलपरासीका विभिन्न शक्तिपीठमा भ्रमण गरेका शाहलाई कपिलवस्तुमा नागरिक अभिनन्दन गरिएको छ भने रुपन्देहीमा दुई दिनपछि गर्ने तयारी छ । राजतन्त्रको वकालत गरिरहेको राप्रपासहितका नेता कार्यकर्ताहरुले उनलाई ‘महाराजधिराज’ नै भनेर, लेखेर सम्बोधन र सम्मान गर्छन् ।
कपिलवस्तुको शिवराज नगरपालिकाका मेयर अजय थापाले पूर्वराजालाई ‘बडामहाराज’ भनेर सम्बोधन गर्दै अभिनन्दन गरे । नगरपालिकाको बजेटमा पृथ्वीनारायण शाहको सालिक निर्माण गराए र पूर्वराजाबाट अनावरण गराए । उक्त सालिक शिवराज नगरपालिकाको २५ लाख लागतमा बनाइएको हो ।
लु भो राजा हुने कुरा
यो देशमा पार्टी खोल अनि जनताको मन जित मतदान बाट सार्वजनिक पद प्राप्त गर नत्र तोरी लेख र गफ नेपाली जनतालाई नदेउ ५ वर्ष कामका आधारमा रहने नरहने जनताले निर्णय गर्ने व्यवस्था छ र रहन्छ ।