अभियन्तालाई प्रश्न- आन्दोलनमात्रै जातीय विभेद अन्त्यको उपाय हो ? (भिडिओ)
सामाजिक अभियन्ता खगेन्द्र सुनार भन्छन्- दलित आन्दोलन कोही कसैको विपक्षमा छैन, यो देशव्यापी बनाउँदै छौं
काठमाडौं । केही दिनयता मुगुको सोरु गाउँपालिकाको एउटा स्वास्थ्य चौकीमा कार्यरत अनमी तुलसाकुमारी विश्वकर्मामाथि स्वास्थ्य चौकी इन्चार्जले जातीय विभेद गरेको घटना सामाजिक सञ्जालमा भाइरल छ । पुस २ गते उक्त घटना अभियन्ता खगेन्द्र सुनारले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेपछि भाइरल भयो । यतिमात्रै नभएर सुनारले देशका जुनसुकै ठाउँमा भएको जातीय विभेदको घटनाका बारेमा बोल्ने, आन्दोलन गर्ने र गर्दै आएका छन् ।
यसअघि कर्णाली प्रदेशलाई केन्द्र बनाएर ‘दलितका लागि दलित आन्दोलन’ भनेर जातीय विभेदविरुद्ध आन्दोलन गर्दै आएका सुनारले केही दिनअघि सामाजिक सञ्जालमै ‘अब अजित मिजारको पालो’ भन्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने संकेत गरेका छन् ।
‘दलितका लागि दलित आन्दोलन’का संयोजक एवं अभियन्ता उनै खगेन्द्र सुनारसँग नेपालप्रेसकर्मी केशव भुलले गरेको कुराकानीको सम्पादित अंश नेपाल टकमाः
– कर्णाली प्रदेशलाई केन्द्र बनाएर आन्दोलनरत तपाईं एक्कासि किन काठमाडौं आउनुभयो ?
काठमाडौंमा मेरो आउजाउ चली नै रहन्छ । यस पटक काठमाडौं आउनुको विशेष कारण छ । हामी रुकुम पश्चिम अदालतको फैसला सुनेर त्यहाँबाट सुर्खेत फर्किंदै थियौं । नवराज विकका बुवाले मलाई फोन गरेर अदालतले न्याय दिएपछि एक पटक काठमाडौं पुगेर धन्यवाद दिन र शीर झुकाउन मन छ, तपाईंले जसरी पनि गइदिनु पर्यो भनेर भन्नुभयो । उहाँको त्यो इच्छालाई पूरा गर्न उहाँसँगै काठमाडौं आएको हो । त्यो उहाँको इच्छा पूरा पनि गरेका छौं ।
– काठमाडौंमा अरु के के गर्दै हुनुहुन्छ ?
हामी आन्दोलनका बारेमा छलफल गरिरहेका छौं । अब केही नयाँ र फरक आन्दोलनको तयारीमा छौं । नवराजका विषयमा काठमाडौंको शान्तिबाटिकामा दीप प्रज्ज्वलन गर्यौं । ६ जनाको हत्यापछिको न्यायालयले दिएको न्यायले उनीहरुको आत्माले पक्कै पनि अब शान्ति पाउनेछ । हाम्रो आन्दोलनलाई केही नयाँ स्वरुप दिने तयारी भइरहेको छ ।
– के आन्दोलन देशव्यापी बनाउने तयारी हो ?
हो, आन्दोलन नयाँ ढंगले देशव्यापी रुपमा अघि बढाउने तयारीमा छौं हामी । उत्पीडनमा परेका र थिचोमिचोमा परेकाको हकमा देशव्यापी मात्रै नभएर विश्वव्यापी बनाउँदै छौं । कर्णालीको हकमा कुरा गर्दा त्यहाँ रहेको जनसंख्याको ठूलो हिस्सा अर्थात ४० प्रतिशत दलित समुदाय नै छ । सबैभन्दा बढी विभेद कहाँ भन्दा कर्णालीमै छ । सेते दमाईदेखि नवराज विकसहित ६ जनाको दलित भएकै कारण हत्या कहाँ भयो भन्दा कर्णालीमै भएको छ । त्यति मात्रै नभएर नेपाली वर्णमालाको पहिलो अक्षर ‘क’अनुसार पनि कर्णाली पहिलो नम्बरमै पर्छ । त्यसैले हामीले कर्णाली प्रदेशबाट आन्दोलन सुरु गरेका हौं । कर्णालीबाट सुरु भएको दलितका लागि दलित आन्दोलन देशव्यापी र विश्वव्यापी बनाउने योजना हो हाम्रो ।
– आन्दोलनमा तपाईं मात्रै देखिए जस्तो छ । आन्दोलन कसरी अघि बढ्छ ?
आन्दोलन भनेको यहाँबाट त्यहाँसम्म भनेर नापेर कहिल्यै पनि हुँदैन । कुनै बिरामीको शल्यक्रिया गर्ने भएको भए पो यहाँबाट यहाँसम्म चिर्ने भन्ने हुन्थ्यो । आन्दोलन भनेको त एउटा सवारी दुर्घटना जस्तै हो । त्यहाँ के हुन्छ, के हुँदैन कसैलाई थाहा हुँदैन । २०७७ फागुन २१ गते दैलेखमा आएका २५ हजारदेखि कोरोना महामारीको लकडाउनका बेला बाँकेमा जम्मा भएका १५ हजार मान्छे को थिए ? कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयको गेटमा हामीले आन्दोलन गर्दा साढे तीन सय आन्दोलनकर्मी घाइते भए । ती को थिए ? त्यसैले यो आन्दोलनमा खगेन्द्र सुनार एक्लो छैन । म आन्दोलनको अग्र मोर्चामा भएकाले सबैले मलाई मात्रै देख्नु स्वाभाविकै हो ।
आन्दोलन भनेको यहाँबाट त्यहाँसम्म भनेर नापेर कहिल्यै पनि हुँदैन । कुनै बिरामीको शल्यक्रिया गर्ने भएको भए पो यहाँबाट यहाँसम्म चिर्ने भन्ने हुन्थ्यो । आन्दोलन भनेको त एउटा सवारी दुर्घटना जस्तै हो । त्यहाँ के हुन्छ, के हुँदैन कसैलाई थाहा हुँदैन ।
दलितको मुद्दा वा आन्दोलन मात्रै त्यस्तो मुद्दा र आन्दोलन हो, जुन कोही कसैको विपक्षमा छैन । रुकुम पश्चिमका दलित समुदायभन्दा अन्य समुदायका व्यक्तिले पनि नवराजलाई नमारेको भए हुन्थ्यो भनिरहेकै छन् नि ! त्यहाँका गैरदलितले नै मलाई अदालतको फैसला आएपछि अरु पनि नवराजको हत्यामा संलग्न व्यक्ति छुटेका छन्, उनीहरुलाई पनि पुनरावेदन गर्नुपर्यो भनेका छन् । भनेपछि यो मुद्दा दलितको मात्रै होइन नि ! केही वर्षयता रुकुम पश्चिम नवराजलगायत ६ जनाको हत्या भएकोे जिल्लाका रुपमा परिचित थियो । तर, अहिले त्यहाँका के दलित, के गैरदलित सबैले रुकुम पश्चिम न्याय दिने जिल्लाको रुपमा पनि चिनाइदिनुस् भनेर मलाई भन्नुभएको छ । रुकुम पश्चिमबाट न्यायको विगुल फुकिएको छ । हेर्दा एक्लै भए पनि सत्यको पक्षमा संसार उभिँदो रहेछ भनेर देखिएको छ । त्यसैले आन्दोलनमा म एक्लै छैन । यसमा सबैको साथ र समर्थन छ । नेतृत्व गर्दा एक जना अगाडि देखिनु त स्वाभाविक हुन्छ नै ।
– के आन्दोलनमात्रै जातीय विभेद अन्त्यको उपाय हो ?
जातीय विभेद यस्तो कुनै रोग होइन, जसरी ल्याबमा परीक्षणपछि औषधोपचार गर्दा निको होस् । सामाजिक आन्दोलन यसरी नै अन्त्य हुन्छ भनेर भन्न सकिँदैन । आजसम्म दलितले आफ्ना कुरा राख्न नपाएर, बोल्न नपाएर, उपस्थित हुन नपाएर, बहस नै नभएर, तयारी नै नभएर यो समुदायमाथि वर्षौंदेखि दमन र थिचोमिचो भइरहेको छ । नेपाल प्रहरीको एउटा सेललाई दलितको मुद्दा जिम्मा लगाएर राजनीतिक नेतृत्वले उम्किन मिल्छ ? यसरी दलित समुदायलाई न्याय गर्न सकिँदैन । त्यसैले अब दलित समुदायमाथि भइरहेको विदेभबारे बोल्नुपर्यो । आन्दोलनको यही निष्कर्ष हो भनेर भन्न सकिँदैन ।
हामीले बुझेको कुरा के हो भने आजसम्म सार्वजनिक रुपमा जातीय विभेदबारे बहस नै भएन । बहस भए पनि दलितलाई कति दिने, कति नदिने भन्ने मात्रै भयो । लोकतन्त्रमा अधिकार दिने र लिने भन्ने हुँदैन । यहाँ कांग्रेस, एमाले वा माओवादी वा भनौं सरकारले दिने र दलितले लिने हो र ? त्यस्तो त पक्कै होइन नि ! अहिलेसम्म एक जना पनि दलित समुदायबाट प्रधानमन्त्री नहुनु, सर्वोच्च अदालतमा एउटा पनि दलित समुदायको न्यायाधीश नहुनु, संघीय सरकारमा एउटा पनि मन्त्री नहुनु, सात वटै प्रदेशमा एक जना पनि मुख्यमन्त्री नहुनु, कुनै बैंकको एउटा पनि सीईओ नहुनु, यतिमात्रै नभएर ठूला भनिएका सञ्चारमाध्ययमा एउटा पनि सम्पादक नुहुनु भनेको के हो ? यो विषयमा दलित वा गैरदलिले पनि समवेदनाको भावले हेर्ने होइन । कतिपयले मलाई वा दलित समुदायलाई सहयोग गर्छौं भनेर भन्नुहुन्छ, के हामी मिर्गौला पीडित हौं र सहयोग गर्न ? कांग्रेस, एमाले, माओवादीलाई दलितको अधिकार वा माग यो हो भनेर भनिरहनुपर्छ र ? जुन समुदायले गरेको बलिदानले राजनीतिक दल अहिलेको अवस्थामा पुगेका छन्, उनीहरुलाई दलित समुदायको अधिकार र मागबारे थाहा हुँदैन र ?
तपाईंले आफ्नो आमाबुवासँग मेरो यो माग र अधिकार हो भनेर भनिरहनुपर्छ ? यहाँ कोही दिने र लिने वा कोही मालिक र कोही नोकरको विषय होइन । समान अधिकार, समान उपस्थितिको विषय बनाऊ मात्रै पो भनेको हो नि ! हिजोका दिनसम्म दलितलाई आन्दोलनको अग्रणी भूमिका दिने कांग्रेस, एमाले र माओवादीले अधिकार प्राप्त गर्ने समयमा साथ छोडेका छन् । यदि सबै दलित समुदायले सबै राजनीतिक दल छोडेको दिन के हुन्छ ? के राजनीतिक दलले जातीय विभेद अन्त्य गराउनतर्फ लाग्नुपर्दैन ? म यत्तिकै यो आन्दोलनमा लागेको होइन । मैले पनि राम्रै जागिर खाइरहेकै थिएँ । प्रभावकारी पत्रकारिता गरेकै थिएँ । मलाई पनि सबै पुगिरहेकै थियो भने मैले किन आन्दोलन गर्नुपर्यो ? आन्दोलन कमजोर भयो, यसलाई ठूलो आवाज हुनेगरी बोल्नुपर्यो भनेर न म यो आन्दोलनमा होमिएको हो । विभेद गर्ने गैरदलित समुदाय, तर आन्दोलन भने दलित समुदायले मात्रै गरिरहनुपर्ने ? अहिलेसम्म दलित समुदायले सहँदै आएको भएर पो हो ! अब पुग्यो, अति भयो, दलितले सहँदैनौं बोल्छौं र लड्छौं भनेको बेला के हुन्छ हालत ? हामी नबोलेकै कारण, आन्दोलित नभएकै कारण हामीमाथि निरन्तर विभेद भइरहेको हो । हामीले बन्दुक उठाऊ भनेको होइन, लोकतन्त्रमा बोलेर भए पनि आन्दोलन गर्नुपर्छ भनेको हो । सार्वजनिक मञ्चबाट बहस सुरु गरौं भनेर यो अभियान अघि बढेको हो ।
– राजनीतिक दल वा तिनका भ्रातृ संगठनले यो मुद्दा छाडेका कारण खगेन्द्र सुनारले आन्दोलनको नेतृत्व गर्नुपरेको हो ?
हो, पक्कै पनि । यो एउटा सीमित पक्षको मात्रै आन्दोलन होइन । निर्वाचन आयोगमा १२४ वटा राजनीतिक दल दर्ता भएका छन् । केहीबाहेक अधिकांश दलमा यो समुदायको पक्षमा लड्न भ्रातृ संघसंगठन निर्माण भएका छन् । यति मात्रै नभएर सयौं दलित समुदायको क्षेत्रमा काम गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसस्था मात्रै नभएर सिंगो राज्यको संरचना पनि छ । मुलुकभर ६० लाख दलित समुदायका छन् । उनीहरुको मनमा विद्रोहको ज्वारभाटा पक्कै पनि छ । भगत सर्वजित, विसे नगर्ची, गोल्छे सार्कीलगायतका हाम्रा बाजे र बज्यै पुस्ताले यो समुदायमाथि विभेदविरुद्ध आन्दोलन सुरु गरे । त्यसपछि हाम्रो बाबुआमा र दाइदिदी तथा भाउजू पुस्ताले आन्दोलनलाई संवैधानिक एवं कानूनी रुपमा लिपिबद्ध गरिदिनुभयो । अब यसलाई कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी तपाईं हाम्रो काँधमा छ ।
आजसम्म सार्वजनिक रुपमा जातीय विभेदबारे बहस नै भएन । बहस भए पनि दलितलाई कति दिने, कति नदिने भन्ने मात्रै भयो । लोकतन्त्रमा अधिकार दिने र लिने भन्ने हुँदैन । यहाँ कांग्रेस, एमाले वा माओवादी वा भनौं सरकारले दिने र दलितले लिने हो र ?
जस्तैः संघीय सरकारको भर्ना वा प्रदेश सरकार तथा स्थानीय सरकारको बजेट भनेको कानून हो । कानून निर्माण प्रक्रिया त केही न केही आधारमा हुन्छ नै । जस्तो गएको वर्ष कर्णाली प्रदेशमा ३३ अर्बको बजेट बन्दा ४० प्रतिशत दलित समुदायलाई उपेक्षा गरियो । तर, १६० जना राउटे समुदायलाई चार करोड बजेट छुट्याउने काम भयो । ४० प्रतिशत दलित समुदायलाई मुस्किलले प्रदेश प्रमुख आयआर्जनका रुपमा एक लाख छुट्याउनेले के यो समुदायमाथि न्याय गर्छ ? यसैको विरुद्धमा आन्दोलित भएपछि गत असार १ गते हामीमाथि दमन भयो । दमनका क्रममा मलगायत १० जनालाई प्रहरीले कुटपिट गर्दै हिरासतमा पुर्यायो । आन्दोलनमा मैले प्रहरीबाट ६५ पटक भाटा खाए । त्यो भाटा खाँदा पनि मैले सहजै सहन सकें । मैले किन सहन सकें भन्दा हाम्रा बाबुबाजेले हिजो आन्दोलन गर्दा यसरी नै सहनुभयो होला भन्ने सम्झिएँ । हिरासतमा बस्दा मैले आफ्नो अब मृत्युको उत्कृष्ट क्षण यही हो भनेर भोक हड्ताल गरें । त्यसपछि प्रदेश संसदमा प्रश्न उठ्यो । मुख्यमन्त्रीले नै रोष्टमबाट माफी माग्नुभयो । संसदमा प्रश्न उठेपछि सरकारले सात अर्ब बजेट विनियोजन गर्यो । आखिर सरकारले चाहने हो भने त हुँदोरैछ नि ! त्यसैले आन्दोलन आखिरीमा जरुरी हुँदोरहेछ भन्ने प्रमाणित भयो ।
त्यसैले बाबुबाजेले सुरु गरेको कर्मलाई पूर्णता दिन आन्दोलन सुरु गरेको हो । बाजेको फोटोमा दियो बाल्ने, बाबु र दाइ पुस्तालाई धन्यवाद दिँदै लिपिबद्ध भएका कुरालाई कार्यान्वयन गर्ने जिम्मेवारी हाम्रो हो । यति मात्रै होइन, अहिले सामाजिक सञ्जाल धेरै चलाउने पुस्ता भनेको २०४६ सालपछि जन्मिएको पुस्ता हो । यो पुस्ताले कुनै पनि आन्दोलनमा भाग लिन पाएन । कुनै पनि क्रान्ति वा आन्दोलनमा भाग लिन नपाएकाहरु कुनै न कुनै आन्दोलनमा भाग लिन खोजिरहेका हुन्छन् । अहिले सामाजिक सञ्जालमा आन्दोलन गरौं भन्ने यही जमात हो । जस्तैः अस्ति ६ दिन रुकुम पश्चिम अदालतमा धर्ना दिँदा त्यहाँ कोही पनि सुतेन । एउटाको निन्द्रा हराम हुँदा धेरैको निद्रा हराम हुँदोरहेछ । बाबुबाजेले देखेको सपना पूरा गर्नुपर्छ । अहिलेको पुस्ताले आन्दोलन गर्न सकेन भने बाजेबज्यै पुस्ताले गरेको आन्दोलन, बाआमा पुस्ताले लिपिबद्ध गरेको कुरालाई कार्यान्वयन गर्न दुई भाटा पनि खान सकेनौं भनेर भन्छन् । यस्तो बेला गर कि मर, कि सच्चिनुपर्छ कि मर्नुपर्छ भन्ने हो । योबाहेक अरु कुनै पनि विकल्प छैन । हामीलाई भाग्ने छुट पनि छैन । यसै कारण कसैको विरुद्ध वा विकल्पमा होइन । आन्दोलनको परिमार्जित रुप हो ।
– हरेक आन्दोलन राजनीतिक दलले नेतृत्व नगरेसम्म सफल हुन नसकेको अवस्था छ । राजनीतिक दल वा तिनका भ्रातृ संगठनसँग सहकार्य गरेर जान सकिँदैन र ?
स्वाभाविक रुपमा त्यही नै हो । कांग्रेस, एमाले, माओवादी सबै दल नै बलियो हुनुपर्छ भन्ने हाम्रो बुझाइ हो । हाम्रो कुरा सुन्न जरुरी छैन भन्छु म त ! जिउँदो मान्छेको मुख र कुरा सुन्नुहँुदैन । म भोलि कुनै अर्को पार्टीमा लागौंला, अरु केही पनि गरौंला । हेर्ने भनेको नवराज विक, सेते दमाई, अजित मिजारको मुख हो । उनीहरुको अनुहार हेरेर छातीमा हात राखेर सोच्ने हो । मैले मात्रै गर्छु भन्ने पनि होइन । हामीले कुरा उठाइदिनुपर्छ । तर, यो कुरा सबैभन्दा बढी कांग्रेस, एमाले, माओवादी र त्यहाँ रहेका भ्रातृ संगठनले बोक्नुपर्छ । दलितले कसैका लागि सबैभन्दा धेरै योगदान, बलिदान र त्याग गरेका छन् भने राजनीतिक दलका लागि गरेका छन् । हिजो अप्ठेरो पर्दा दलित समुदायलाई सँगै लिएर जाने अहिले आन्दोलनको उपलब्धि प्राप्त गर्ने बेला यो समुदायलाई छोडेर पक्कै जान मिल्दैन ।
हिजो माओवादी आन्दोलन पनि मेरो दाइ दिलबहादुर रम्तेलको बलिदानबाटै सुरु भएको हो । अहिले हामी उनीहरुको टाउकोमाथि सोफा राखेर चिर निद्रामा बसिरहेका छौं । विभिन्न आन्दोलनमा सँगै लडेको मान्छे प्रधानमन्त्री, मन्त्री भएको छ । तर, सँगै लडेको दलित समुदायको व्यक्ति आफ्नो जीविकोपार्जन गर्न नसकेर आत्महत्या गरिरहेको छ । सारा संसार जित्छु भनेर लडेको मान्छे अहिले स्लिपिङ ट्याब्लेट खाएर हरेक रात निदाइरहेको छ । केही दिनअघि एमाले अध्यक्ष केपी ओलीमाथि झापड हानेको समाचार सुनियो । यस्तो पनि गर्न मिल्छ ? यति बुढो उमेरमा पनि देश दौडाहामा हिँडेको मान्छेलाई आक्रमण गर्न मिल्छ ? हामीले त राजनीतिक दललाई सचेत मात्रै गराउन खोजेको हो । अधिकार कसैले ल लेउ भनेर दिँदैन । दलित समुदाय तपाईंहरु आउनुस्, के अधिकार चाहिएको छ लिएर जानुस् भनेर कसैले भन्नेवाला छैन ।
कतिपयले मलाई वा दलित समुदायलाई सहयोग गर्छौं भनेर भन्नुहुन्छ, के हामी मिर्गौला पीडित हौं र सहयोग गर्न ? कांग्रेस, एमाले, माओवादीलाई दलितको अधिकार वा माग यो हो भनेर भनिरहनुपर्छ र ? जुन समुदायले गरेको बलिदानले राजनीतिक दल अहिलेको अवस्थामा पुगेका छन्, उनीहरुलाई दलित समुदायको अधिकार र मागबारे थाहा हुँदैन र ?
एक हजार १३ किलोमिटर राजमार्गमा कुनै पनि दलितको घर छैन । यदि कोही कसैको घर भए पनि जग्गाको लालपुर्जा छैन । दलित समुदायको व्यक्ति जन्मिन्छ, जन्मदर्ता छैन, मर्दा रेकर्ड छैन । आरक्षभित्र रहेका बाँदरको रेकर्ड छ । तर, दलित समुदायको रेकर्ड छैन राज्यसँग । अधिकांश दलित समुदायका व्यक्तिसँग नागरिकता छैन । यदि नागरिकता छ भने पनि कुकुर कामी, चोर दमाई, ठग सार्की भनेर नाम राखिएको छ । यही समाजले यस्ता नाम दिन्छ, अपमान गर्छ । त्यसैले हामी कुनै पनि राजनीतिक दल भन्दा बाहिर छैनौं र फेरि राजनीतिक दलको पक्षमा पनि छैनौं । यो हाम्रो चेतावनी हो र चेतना पनि । गलत गर्दा कोही पनि बाँच्दैन भन्ने सचेतना पनि हो । भीरमा जाने गाईलाई राम राम भन्न सकिन्छ काँध नै थाप्न त सकिँदैन ।
– दलितका लागि दलित आन्दोलन भनेर राजनीतिक शक्ति सञ्चय गरिरहनुभएको त होइन ?
यो आरोप होइन, ठीक कुरा हो । केही दिनअघि मलाई कोही कसैले दलित समुदायका लागि के गर्न पाए हुन्थ्यो भनेर सोधेको थियो । मैले दलित समुदायको व्यक्तिलाई निरन्तर पाँच वर्ष मात्रै प्रधानमन्त्री बनाइदिनुस्, जिन्दगीभर अरु केही पनि चाहिँदैन भनेर जवाफ दिएँ । मैले पनि जोगी हुन आन्दोलन पक्कै गरेको होइन र कुनै राजनीतिक दलमा मिसाउन पनि यो आन्दोलन गरेको होइन । म जोगी र सन्न्यासीबाट त्यो कुनै पनि हालतमा हुँदैन । म नौ-नौ दिन भोक हड्ताल गरेर मृत्युको नजिक पुगेर फर्किएको मान्छे हो । यहाँ मान्छे करोडमा मर्न तयार हुन्छन् । कुनै पद दियो भने मर्न तयार हुन्छन् । सेते दमाईको हत्या, सम्झना विकको बलात्कार, नवराज विक र अजित मिजारको हत्या सहन नसकेर आन्दोलनमा आएको व्यक्ति हो । यो कुनै राजनीति गर्न होइन । फेरि यसको वैज्ञानिक जवाफ पनि छैन । नीतिको नेतृत्व गर्ने कुरा राजनीति होला । यो कुराकानी एउटा सञ्चारमाध्यमको रेकर्डमै छ ।
यस सञ्चारमाध्यममार्फत म भन्छु, निमुखा गरिब दिदीबहिनी र आमाबुवाले आन्दोलनमा लात खाएको कुरा पनि सम्झिन्छु । भाइको कात्रो, बहिनीको बलात्कारको कात्रो र आमा-बहिनीको मोलमोलाइ गरेर म कुनै पनि हालतमा राजनीति गर्दैन । एउटा जोगीबाट र सन्न्यासीबाट यो कदापि हुन सक्दैन । तपाईं हामी जतिको मान्छेलाई दुईचार रुपैयाँ कमाउन राजनीति गर्न आमालाई लगेर प्रहरीका अगाडि लात खुवाउन जरुरी थिएन होला । यो आरोप नभनौं, राजनीति हो । तर, चलनचल्ती जस्तै राजनीति भने पक्कै पनि होइन । म मेरै लागि लडेको छु भने आफैंमाथि कसरी अन्याय गर्नसक्छु । त्यसैले त दलितका लागि दलित आन्दोलन भनेर आन्दोलनमा छु । यही चलनचल्तीमा राजनीति गर्दैन । मैले निर्वाचन लड्न गरेको आन्दोलन होइन । झण्डा उठाएर सांसद वा मन्त्री भएको मलाई पक्कै पनि देख्नुहुन्न । कुनै आश्रममा देख्न सक्नुहुन्छ । मेरो स्वभाव र जिन्दगीको उद्देश्य चलनचल्तीको राजनीति गर्ने होइन ।
– त्यसो भए तपाईंको आन्दोलन कहिलेसम्म वा कस्तो अवस्थामा टुंगिन्छ ?
हाम्रो लक्ष्य भनेको जातीय विभेदविरुद्ध लड्ने हो । आवश्यक परेको खण्डमा बन्दुक उठाउने अवस्था पनि आउन सक्ने भएकाले दर्ता गर्न पक्कै पनि प्रशासनले दिँदैन । हिजोको दिनमा १० वर्षे माओवादीको जनयुद्ध पनि कुनै दल दर्ता गरेर गरेको होइन । यो आन्दोलन कहाँ पुगेर रोकिन्छ भन्न सक्ने कुरा पनि भएन । भगवानले यति सजिलै र यति चाँडै लिन्छन् जस्तो पनि लाग्दैन । मलाई मात्रै नभएर धेरैलाई भगवानले पठाएका छन् । शक्तिकै कुरा गर्ने हो भने सबैभन्दा बढी सेना दलित समुदायसँग छ । लाखौं सेना भएको मुलुक वा ठाउँमा पनि बढीमा २५ लाखसम्म सेना होलान् । तर, दलित समुदायको ६० लाख जनसंख्या नै आवश्यक पर्दा सेना हो । नेतृत्वको कुरा गर्दा म नेतृत्वकर्ता होइन । म त अहिले नेतृत्वको प्रयासमा मात्रै हो । ममाथिको अन्याय सहन नसकेर लड्न हिँडेको लडाकु हो । राजनीतिक दलको आन्दोलनमा कार्यकर्ता अगाडि हुन्छन् र नेतृत्वकर्ता पछाडि हुन्छन् ।
दलित समुदायको व्यक्ति जन्मिन्छ, जन्मदर्ता छैन, मर्दा रेकर्ड छैन । आरक्षभित्र रहेका बाँदरको रेकर्ड छ । तर, दलित समुदायको रेकर्ड छैन राज्यसँग । अधिकांश दलित समुदायका व्यक्तिसँग नागरिकता छैन । यदि नागरिकता छ भने पनि कुकुर कामी, चोर दमाई, ठग सार्की भनेर नाम राखिएको छ । यही समाजले यस्ता नाम दिन्छ, अपमान गर्छ ।
तर, हाम्रो आन्दोलनमा वा लडाइँमा म सधैं अगाडि नै हुन्छ । आन्दोलनमा सुरुमा भाटा खाने व्यक्ति पनि म नै हुन्छु । म आफूलाई कमाण्डर, फाइटर भन्न रुचाउँछु । म आफैं सुरुमा भिड्न चाहन्छु । पहिले म लड्छु, त्यसपछि अरु । खाँदा त अगाडि नखाँदा म पछाडि, पाउँदा त अगाडि, नपाउँदा म अगाडि, मर्दा म अगाडि, बाँच्दा त अगाडि । यसमा म स्पष्ट छु । म आफूलाई जोगाएर केही बन्न खोजिरहेको छैन । बाँचियो भने नेतृत्व गर्ने कुरा त छँदैछ । मलाई लाग्छ, ज्यानको लोभले आन्दोलन हुँदैन । एउटा पुस्ता सकिन तयार हुनैपर्छ । कि मर्छु कि मार्छु । म रुकुम पश्चिम जाँदा त्यत्रो ६ जनालाई मार्नेले मलाई पनि मार्न सक्छन् भनेर मर्न परे पनि मरौला भनेरै गएको हो । २०७७ जेठ १० गते मलाई रुकुम पश्चिम जान रोक पनि लगाइएकै हो । त्यस्तो अवस्थामा पनि जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा भोक हड्ताल गरेपछि बल्ल अनुसन्धान जिरोबाट सुरु भएको हो । नवराजको मुद्दा टुंगोमा पुर्याइयो ।
अब एउटा सुतेको लाश उठदैछ । मारिएका लाश उठ्दैछन् । केही समयभित्र काठमाडौंको सडकमा एउटा दलितको ठूलो आन्दोलन उठ्दैछ । सुतेका लाश यति सजिलै हारेर लगेर जलाउनेवाला छैनौं । पूरै चक्रपथ घुमाएर शवयात्रा गर्ने तयारीमा छौं । हाँसीहाँसी लड्ने र हाँसीहाँसी मर्ने सबैले तयारी गर्नुपर्छ । इतिहासको सबैभन्दा धेरै जेल जीवन बिताउन किन नपरोस्, मर्न किन नपरोस्, आफ्नो आत्मसम्मानका लागि लड्नैपर्छ । अब नयाँ ढंगबाट आन्दोलन सुरु हुँदैछ । भवत सर्वजितले हाम्रो चिन्ता गरेको भए आन्दोलन यहाँसम्म पुग्ने थिएन । सत्य कुरा एउटाले मात्रै बोल्दा पनि ठूलो हुन्छ । बचाउने भन्दा पनि सकिने तयारी गर्नुपर्छ ।
– आन्दोलनका लागि आर्थिक व्यवस्थापन कसरी गरिरहनु भएको छ ?
हामी आन्दोलनमा आउनुअघि पनि खान खाएकै थियौं, लुगा लगाएकै थियौं । गाडी चढेकै थियौं । आन्दोलनमा आउने बित्तिकै छुट्टै केही गर्नुपर्दैन । अहिले खानासमेत एक छाकमात्रै खाइरहेका छौं । हामीले युवापनको सबै रहर मारिसकेका छौं । जाँडरक्सी, मासु, चिया सबै निषेध गरिसकेका छौं । हाम्रो टीममा रहनेले बोली, कुरा र लुगा फेर्न पाउँदैन । साथ छोड्न पाउँदैन, हात छोड्न पाउँदैन । बिहान र बेलुका खाना खाएर एक जोर लुगाले ३ वर्ष धानिहाल्छौं । पैसाले आन्दोलन उठ्दैन । आन्दोलन नै उठ्ने भए त सबैभन्दा धेरै धनी काठमाडौंमा थिए, खै त यहाँ आन्दोलन उठेको ?
हामी अदालतको गेटमा सुत्दा पटुकामा सुन्तला र बदाम तथा जगमा पानी ल्याउनेहरुले हामीलाई सहयोग गर्नुभएको छ । मलगायत साथीहरुलाई हिरासतमा पर्दा ५०औं हजार रुपैयाँ आफ्ना शरीरका गरगहना बेचेर तथा एक-एक रुपैयाँ जम्मा गरेर भए पनि अदालतमा धरौटी तिरेर हामीलाई बाहिर निकाल्नुभएको छ । आज तपाईंले मेरो कुरा मिडियामा ल्याउनु पनि त सहयोग हो । हिजोका दिन केही दुःखका क्षण बितायौं र अझै कठिन दुःख र परीक्षा दिन तयार नै छौं । हामीले आफ्ना सपना छोडेका छौं, रहर छोडेका छौं । खर्चालु पनि छैनौं । त्यसैले सहजै अघि बढिरहेका छौं ।
– तपाईंविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतले किन पक्राउ पुर्जी जारी गर्यो ?
हामी विभिन्न मुद्दा उठाउँछौं, कहाँनिर कसको मानहानी हुन्छ थाहा नै हुँदैन । उनीहरुले मारिरहँदा र हामीले सहिरहँदा सद्भाव कायम नै रहेको छ । अहिले पनि नेपालमा अन्तरजातीय विवाह गरेका कारण मृत्युदण्डको सजाय दलित समुदायले मात्रै पाइरहेका छन् । खुला रुपमा दलित समुदायका महिलामाथि दिनदहाडै बलात्कार भइरहेको सहिरहेका छौं । एउटा महिलाको जग्गा कब्जा गरेको बेला अन्यायको विरुद्धमा दुईचार भाटा हान्दा कसैलाई चोट लाग्यो होला । प्रहरीमा उजुरी हालिदियो । उजुरी हाल्दैमा, पक्राउ पुर्जी जारी गर्दैमा के पो हुन्छ र ? हामीलाई कहीं पुग्नु पनि छैन । न प्रधानमन्त्री हुनु छ, न सांसद हुनु छ न त मन्त्री नै हुनु छ ।
केही समयभित्र काठमाडौंको सडकमा एउटा दलितको ठूलो आन्दोलन उठ्दैछ । सुतेका लाश यति सजिलै हारेर लगेर जलाउनेवाला छैनौं । पूरै चक्रपथ घुमाएर शवयात्रा गर्ने तयारीमा छौं । हाँसीहाँसी लड्ने र हाँसीहाँसी मर्ने सबैले तयारी गर्नुपर्छ । इतिहासको सबैभन्दा धेरै जेल जीवन बिताउन किन नपरोस्, मर्न किन नपरोस्, आफ्नो आत्मसम्मानका लागि लड्नैपर्छ ।
बढीमा मलाई पक्राउ गरेर हिरासतमा राख्ने त हो ! तर, बन्दी नै त बनाउन सक्दैनन् । हिरासत वा जेलमा परे पनि ३०० जना कैदीबन्दी रहेको जेल वा हिरासतमा १८० जना त दलित छन् । म त्यहाँ पनि आन्दोलन गरेर १८० जनालाई नै सँगै बाहिर निकाल्छु । मलाई जहाँ राख्दा पनि प्रभाव पर्दैन । यो सबै अनुभव गरिसकेको हुनाले मलाई कुनै पनि चिन्ता छैन । पक्राउ पुर्जी जारी गर्नु भनेको हामीसँग कोही न कोही तर्सिनु हो । तर्सिनु पनि पर्छ । दलितलाई जातको नाममा लातले च्यापिरहेकाले त्यसबाट मुक्त बनाउन खोज्दा गोली लाग्ला, मारामार होला, मर्नु पर्ला, मार्नुपर्ला । तर, फेरि हामी त्यसको पक्षमा छैनौं । शान्तिपूर्ण आन्दोलनको पक्षमै छौं ।
– केही दिन पहिले ‘अब अजित मिजारको पालो’ भन्नुभएको छ, खास कुरा के हो ?
हो, अब अजित मिजारको पालो । अहिले मैले रातदिन त्यो मुद्दा हेरिरहेको छु । सबै अदालतले गरेका फैसला अध्ययन गरिरहेको छु । सरकारी वकिलले पैसा खाएको छ । न्यायाधीशले बदमासी गरेको छ । भक्तपुरको कनैयाँ कर्माचार्यले अजित मिजारलाई मारेको हो । हामी अदालतलाई सम्मान गर्छौं । तर, गलत फैसला गर्ने न्यायाधीशको अनुसन्धान गरिरहेको छु । प्रहरीले बदमासी गरेको छ । प्रत्येक कुरालाई हेरिरहेको छु । सरकारी वकिलले कर्माचार्यसँग पैसा खाएर अपराधी छोडेको छ र मुद्दा अगाडि नबढाउने निर्णय गरेको छ । एक-एक गरेर हेरिरहेको छु । त्यसैले हामी अदालतलाई सम्मान गर्छौं, तर, अदालतको नाममा, कालो कोटका नाममा बदमासी गर्नेलाई नांगेझार पार्छौं । ६ वर्षदेखि एउटा अजित मिजारको शव उसको आमाले कुरेर बसिरहनुभएको छ । एउटा मान्छेले ६ दिन शव कुरेर बस्दा त आफू पनि मरेको जस्तै महसुस गर्छ भने अजितको आमाले के महसुस गर्नुभएको होला ?
अजितको एउटा दाइ हुनुको नाताले, अजित मिजारको आमाको छोराको नाताले भन्दा अब अजितको शव उठ्छ । कुनै राजाको शव उठ्दाभन्दा हजारौं संख्या बढी दलित समुदायले अजितलाई सलामी दिनेछन् । अजितका शव यात्रा इतिहासको सबैभन्दा बढी मलामी देखाउँछौं । अजित मरेर हामीलाई हेरिरहेको छ भने हामी ज्यूँदै मरेर अजितको शवलाई हेरिरहेका छौं । हामी एउटा भाइको शव उठाउन सकिरहेका छैनौं । अब ६ वर्षदेखि कुरिरहेको अजित मिजारको शवको राजकीय अन्त्येष्टि गर्छौं ।
साँच्चिकै भन्दा नवराज विक र अजित मिजारको जस्तो मृत्यु कसैको पनि हुनु हुँदैन । नवराज र अजितको आमाको गर्भ महान हुन् । उहाँहरुलाई भनिदिनु पर्छ, तपाईंको सन्तान विश्वको कुनै ठूलो महात्मा भन्दा कम छैन । अजितको आँसु पुछ्ने जिम्मेवारी हाम्रो हो । अजित र नवराजको मृत्युबाट हामी जन्मिएका हौं । त्यसैले अजितको मुद्दा फैसला हुने दिन काठमाडौंमा कर्फ्यु लाग्नेछ । अजित वा नवराज मरेपछि सकिने होइन, नयाँ जिन्दगी सुरु भएको छ । अजित मिजारको अन्तिम दिन हाम्रो सुरुवात हो । यो आन्दोलन गर्ने सौभाग्य हामीले प्राप्त गरेका छौं । कम्तीमा मलामी त आउनुस् । इतिहासमा यति धेरै मलामी हुनेछन् ।