२ युवा मारिएसँगै एसएसपी हेडक्वार्टर तानिएपछि एसपीको भरमा ललितपुर, नयाँ पठाउन गृहको आलटाल – Nepal Press

२ युवा मारिएसँगै एसएसपी हेडक्वार्टर तानिएपछि एसपीको भरमा ललितपुर, नयाँ पठाउन गृहको आलटाल

काठमाडौं । ललितपुरको बालकुमारीमा ईपीएस भाषा परीक्षाका लागि आवेदन दिन पाउनुपर्ने मागसहित भएको प्रदर्शननमा २ युवाको मृत्यु भएपछि जिल्ला प्रहरी प्रमुखलाई जिम्मेवारीबाट हटाइएपछि गृहमन्त्रालयले नयाँ प्रमुख पठाउन आलटाल गरेको छ । शनिबार गृह मन्त्रालयले एसएसपी सिद्धीविक्रम शाहलाई ललितपुर प्रहरी प्रमुखबाट हटाएको थियो ।

सोमबार संसदीय समितिमा जवाफ दिने क्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दुई युवा मारिनुको कारण मन्त्री प्रकाश ज्वालाको जबर्जस्ती आगमन भएको बताएका थिए ।

शुक्रबार बालकुमारीमा भएको घटनामा २ युवाको ज्यान गएको थियो । तीमध्ये एकजनालाई गोली लागेको थियो भने अर्का युवाको छातीमा दाग देखिएको थियो । अहिले ललितपुर प्रहरी परिसर एसपी नवराज कार्कीको कमान्डमा छ । कार्कीले ललितपुर प्रहरी प्रमुखका रूपमा कामु जिम्मेवारी सम्हालिरहेका छन् ।

ललितपुरमा जान एसएसपीहरूको लामो लर्को देखिएको छ । ओम अधिकारी, शेखर खनाल, दिनेश आचार्य, सानुराम भट्टराईलगायतको नाम चर्चामा छ ।

एसएसपी र डीआईजीको सरुवा गृहमन्त्रालयले गर्छ । प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर कडायतले एसएसपी पठाउने जिम्मा गृह मन्त्रालयको भएकाले प्रहरी प्रधान कार्यालयलाई जानकारी नहुने जवाफ दिए ।

नेपाल प्रहरीमा काठमाडौं, ललितपुर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी हुन्छन् । तीमध्ये तालिम केन्द्रको कमान्ड पनि एसएसपीले सम्हाल्छन् । तर, तालिम केन्द्रभन्दा यी तीन प्रमुख युनिटमा जान एसएसपी बढी आकांक्षी देखिने गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर