स्वास्थ्यमन्त्रीलाई बर्खास्त गर्न तोसिमाको माग, उठाइन् टेरामक्सदेखि अस्पतालको सामान खरिदमा कमिसनसम्मको कुरा (भिडिओ)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एवं पूर्वस्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई पदबाट हटाउनुपर्ने बताएकी छन् ।
हुँदै नभएको आधारभूत अस्पतालको सामान खरिद प्रकरणमा करोडौंको कमिसनको चलखेल गरिरहेको उनको आरोप छ ।
मंगलबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको बैठकमा बोल्दै उनले अस्पतालहरूमा आवश्यक दरबन्दी थप्न नचाहने, तर हुँदै नभएका अस्पतालमा पनि उपकरण खरिदको नाममा सेटिङमा कमिसन खान खोज्ने मन्त्री बस्नेतलाई स्पष्टीकरण लिएर पदबाट हटाउनका लागि प्रधानमन्त्रीलाई सुझाव दिन माग गरिन् ।
सांसद कार्कीले २०७४ सालमा सञ्चारमन्त्री हुँदा टेरामेक्स प्रविधि भित्र्याउने नाममा ३ अर्बसम्म भ्रष्टाचार गरेको अभियोगमा मुछिएका मन्त्री बस्नेतलाई किन स्वास्थ्यमन्त्री बनाएको ? भनी पटकपटक प्रश्नसमेत गरेकी छन् । कानूनविपरीत कर्मचारी हटाएर मन्त्री बस्नेतले वीर अस्पतालगायतका अस्पतालका बिरामीहरुको उपचारमा समेत समस्या ल्याउने काम गरेको उनको आरोप छ ।
उनको भनाइ जस्ताको तस्तै
हाम्रो माननीय स्वास्थ्यमन्त्री मोहन बस्नेत २०७४ मा स्वास्थ्यमन्त्री हुँदा टेरामेक्स प्रविधि ल्याउने प्रक्रियामा खरिद बिक्री प्रक्रियामा ३ अर्बसम्म भ्रष्टाचार भएको भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निष्कर्ष निकालेर यो मुद्दा चलाउने भएको छ । २०७४ सालमा भएको यो घटना, यसरी मुद्दा चलिरहेको र भ्रष्टाचारको अभियोगमा परेका व्यक्तिलाई सर्वप्रथम त किन यो स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिइयो ? भन्ने मेरो प्रश्न ।
र, साथसाथै जब उहाँ स्वास्थ्यमन्त्री हुनुभयो । आज लगभग ७ महिनाभन्दा बढी भइसकेको छ । उहाँले गर्नु भएको मनोमानीहरु, गतिविधिहरु र अनैतिक कामहरुको सूचि निकै लामो छ । म यहाँ केही राख्न चाहन्छु । नियम मिचेर ऐन, कानूनको पनि बेवास्ता गरेर उनले मनपरी ढंगमा निर्देशकहरु हटाउने काम गरेका छन् । भक्तपुर क्यान्सर हस्पिटलका निर्देशक डा. विष्णुदत्त पौडेललाई हटाए । यो यो निर्णयलाई फेरि अदालतले उल्टयाई दियो । त्यस्तै गरी स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक डा. दामोदर बास्तोलालाई पनि उनले हटाए मनोमानी तरिकाले । फेरि अदालतले यो निर्णय कार्यान्वयन नगर्न भनेर आदेश दियो । त्यसपछि फेरि उनले वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेललाई हटाउने काम गरे । फेरि अदालतले यो निर्णयलाई उल्टयाई दियो । नरदेवी आयुर्वेद औषधालयका निर्देशक डा. प्रदीप केसीलाई समेतलाई हटाएर उनले अन्य कोहीलाई नियम मिचेर निर्देशक तोकियो भन्ने समाचारहरु पनि आइरहेको छ । यतिमात्रै होइन, यसमा मात्रै उनी रोकिएनन सभापतिज्यू, उनले के गरे थाहा छ तपाईँलाई ? उनले वीर अस्पतालका २२१ जना करारका कर्मचारीहरुलाई कुनै प्रक्रिया पनि पूरा नगरीकन ठाडो आदेशमा कामबाट हटाए । र, त्यसको एक महिनामा एक दिने सूचना जारी गरेर आफ्नै जिल्लाका मानिसहरुलाई भर्ती गर्नेगरी गुपचुप अन्तर्वार्ता लिएर कर्मचारी राख्ने काम गरिरहेको समाचार पनि आईरहेका छन् । त्यसको सत्यतथ्य छानबिन हुनुपर्यो सभापतिज्यू । वीर अस्पतालमा १३३ वर्षदेखि निःशुल्क रुपमा खाना, खाजा खुवाउने गरिएको थियो बिरामीहरुका लागि । यो सुविधा थियो । त्यो मात्रै होइन, बिरामीहरुलाई त्यहाँ अक्सिजन पनि निःशुल्क रुपमा दिइराखिएको थियो । त्यसको समेत पनि बजेट कटौति गरेर अहिले यस्तो अवस्थामा वीर अस्पताल पुग्योकि ग्यास कम्पनीले पत्र काटेर चेतावनी दिएको छ ग्यास सप्लाई बन्द गर्छौं भनेर । यो यो भयो भने दुर्घटना हुन्छ सभापतिज्यू ।
जनताले पाउने अक्जिसन, खाना, खाजा कटौति गर्नेसम्मको यो हर्कत गर्नलाई उनी किन अघि बढिरहेका छन् ? उनको विशेष इन्ट्रेष्ट खरिद प्रक्रियामा धेरै देखियो । निर्माण नै नसकिएका आधारहरु अस्पतालहरुका लागि उनले उपकरणहरु खरिद गर्न लागे । २ अर्ब ४५ करोड रुपैयाँमा स्वास्थ्य सामग्री, खरिद गर्ने काम अघि बढाइएको छ । र एक अर्बको त खरिद पनि अघि बढिसकेको छ भन्ने खालका समाचारहरु आईरहेका छन् । आफू निकट व्यापारीहरुमार्फत खरिद गर्न खोजिएको छ । दरबन्दी थप्नलाई चाहीँ कुनै चासो नदेखाउने, विभिन्न अस्पतालहरुमा भवन बनेका छन, उपकरण छन् । तर दरबन्दी नभएका कारण अस्पताल चल्न पाएका छैनन् । अनि, भवननै निर्माण नभएको ठाउँमा उपकरण खरिद गर्न अघि बढने ? यतिमात्रै होइन, सभापतिज्यु, वागमती प्रदेशमा सिटी स्क्यान मेसिन किन्नका लागि ३ वटा जिल्ला अस्पतालका लागि त्रिशुली अस्पताल, सिन्धुली अस्पताल र भक्तपुर अस्पतालका लागि सेटिङ मिलाएर नौं करोड कमिसनको खेल खेल्न लागिएको आरोप आरोप आएको छ । कहिले तिमीहरु काम गर्न सक्दैनौं भने आत्महत्या गर भनेर निर्मम तरिकाले भन्ने यस्तो स्वास्थ्य मन्त्री रहेसम्म मुलुकका ३ करोड जनताको स्वास्थ्यमाथि गम्भिर खेलबाड भइरहेको छ । यसमा यो समितिको विशेष चासो हुनु पर्दछ । यो समितिको मातहत हुनुभएका स्वास्थ्य मन्त्रीलाई बोलाएर स्पष्टिकरण माग्नुपर्ने हो कि, जवाफ माग्ने हो कि अथवा यो छानविन प्रक्रियालाई निष्पक्ष हुनु दिनका लागि उहाँले यो पदबाट हटनुपर्ने हो ? यो निर्णय चाहीँ हामीले गर्नुपर्छ सभापतिज्यु । होइन भने ठूलो दुर्घटना हुन सक्छ । यी मन्त्रीको गतिविधि हेर्दा निकै असफल देखिन्छन् । यिनलाई यो पदबाट हटाउनका लागि समितिले सुझाव दिनुपर्छ भनेर मैले भन्न चाहेँ ।
आँटको लागि धन्यवाद । सही कुरा ।