रुपन्देहीमा पर्यटन गुरुयोजना बनाउन सरोकारवालाको प्रतिबद्धता
बुद्ध परिपथ, अन्तर्राष्ट्रिय विमानस्थल, तिनाउ र जित गढीसहितलाई समेटेर कार्यान्वयनमुखी गुरुयोजना बनाउने सहमति
रुपन्देही । रुपन्देहीलाई पर्यटक विश्राम स्थल बनाउने अल्पकालीन र दीर्घकालीन पर्यटन गुरुयोजना बनाउन रुपन्देहीमा रहेका निजी क्षेत्र र सरकारी पक्षले प्रतिबद्धता जनाएका छन् ।
गौतमबुद्ध जन्मस्थल लुम्बिनी, अन्तर्राष्ट्रिय विमानस्थलसहित दर्जनौँ पर्यटकीय स्थल भएर पनि प्रादेशिक पर्यटन गुरुयोजना बनाएर काम नहुँदा पर्यटकको बसाई लम्ब्याउन र लाभ लिन नसकिएको ठम्याई गर्दै उनीहरूले कार्यान्वयनमुखी योजना ल्याउन सरकारी पक्षलाई आग्रह गर्दै आफूहरूले पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।
उनीहरूले अब भाषणमा मात्रै नभई जिम्मेवारी बाँडेर गर्न सक्ने कामको भूमिका निर्वाह गर्ने बताउँदै पूरा गर्ने योजना मात्रै अघि सार्न सरकारी पक्षलाई सामूहिकरुपमा दबाब दिए ।
प्रादेशिक पर्यटन गुरुयोजना नहुँदा तीनै तहका सरकारको पर्यटन बजेट हचुवाको भरमा र छरिएर खर्च हुँदा अनुत्पादक भएको र अत्यावश्यक पर्यटन पूर्वाधार बन्न नसकेकाले पर्यटन गुरुयोजना निर्माणलाई पहिलो प्राथमिकता दिनुपर्ने उनीहरूले सुझाए ।
प्रदेश पर्यटन विकास परिषद्का प्रमुख रामु जोशीले मुलुक संघीय संरचनामा गएको धेरै लामो समय नभएकाले प्रदेश पर्यटन गुरुयोजना निर्माण नभएको भन्दै अब ढिलाइ गर्न नहुने र प्रदेशको पञ्चवर्षीय योजनामा पर्यटन गुरुयोजना पनि समेट्ने तयारी भइरहेको बताए ।
रुपन्देहीका प्रमुख सहरलाई त्यहाँका स्थानीय सरकारले ध्यान दिनुपर्ने र बुटवललाई पर्यटक विश्राम स्थल बनाउन बुटवल उपमहानगरपालिकाले पर्यटन गुरुयोजना बनाउनुपर्ने उनको सुझाव थियो ।
‘प्रदेशमा बुद्ध जन्मस्थल लुम्बिनीसहित तिलौराकोट, रामग्राम र देव दहदेखि रुकुमको सिस्ने हिमालसम्मका २ सय ८३ वटा पर्यटकीय गन्तव्य छन्, यी सबै स्थानमा पर्यटकीय पूर्वाधार बनाउने गरी गुरुयोजनामा समेट्ने सरकारको तयारी छ । तपाईँहरूले पनि यसैलाई आधार बनाएर काम अघि बढाउनुहोस्’ जोशीले भने ।
पर्यटकलाई आकर्षित गरी बसाई लम्ब्याउन सुविधायुक्त फराकिलो पार्किङ स्थल र पर्यटक बस चाहिने, बेलहिया नाकाबाट आउने पर्यटक सिधै पोखरा जाने परिपाटी रोकेर बुटवलमा बास बस्ने वातावरण बनाउन होटेल र पर्यटन व्यवसायीले खानाका परिकारमा बुटवलको छुट्टै रैथाने ब्राण्डसहित स्थानीय टुर प्याकेज बनाउनुपर्ने जोशीको सुझाव थियो ।
जिल्ला वा प्रदेशभित्रका विद्यालय,सहकारीहरूले पहिले प्रदेशभित्रकै पर्यटकीय स्थल घुम्नुपर्ने गरी गुरुयोजना र नीति बनाउनुपर्ने, सामुदायिक वनहरूमा जंगल वाक,नेचर वाक,हाइकिङ,ट्र हाउस,चरा संरक्षण, पोखरी निर्माण लगायतका गतिविधि गरेर पनि पर्यटकको बसाई लम्ब्याउन सकिने औँल्याए ।
उनले गुरुयोजनामा हरेक स्थानीय तहमा पर्यटन शाखा र पर्यटन विकास समिति गठनलाई अनिवार्य गरिने र पर्यटनमा हुने खर्चलाई एकीकृत लगानी गरेर छिटो प्रतिफल आउने गरी काम गर्नुपर्ने बताए ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले पर्यटकीय विकासको लागि हवाई यातायात मात्र नभई स्थल मार्ग पनि सहज र सुगम हुनुपर्ने बताए । ‘अन्य देशमा विमानस्थलदेखि मुख्य सहरसम्म सटल बस सेवा हुन्छन् ।
कमसेकम सटल एक्सप्रेस नभए पनि सेड्युल बस सेवा हुनसक्छ ।, रुपन्देहीका प्रमुख सहरबाट एयरपोर्टसम्म सहज यातायात सेवा चलाऔँ, हामी सहकार्यका लागि तयार छौँ’ उनले भने ।
पाण्डेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अहिलेसम्म नाम मात्रको भएको तर अब विदेशी विमान कम्पनीहरूले चासो दिइरहेकाले अब ढिलो चाँडो भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुने भएकाले दीर्घकालीन योजना बनाउन निजी क्षेत्रलाई आग्रह गरे ।
लुम्बिनी होटल व्यवसायी संघका महासचिव पुरुषोत्तम अर्यालले पर्यटन गुरुयोजना र टुर प्याकेज नहुँदा लुम्बिनी आउने ७० प्रतिशत पर्यटक बास नबसी फर्कने गरेको बताए । ‘पर्यटन गुरुयोजना नबन्दा पर्यटकको बसाई लम्ब्याउन सकिएको छैन, पर्यटकलाई जबरजस्ती बसाल्न खोजेर मात्रै बस्दैनन् यहाँ अनुदानमा पर्यटक बससमेत चल्न सकेका छैनन्,सरकारी नीति नै बाधक छ’ उनले भने ।
मणि मुकुन्द सेन उद्यानका अध्यक्ष माधव नेपालले तिनाउ नदीमा जलाशययुक्त ड्याम बनाएर बाह्रमास पानी बग्ने बनाई डुंगा शयर र जल पर्यटनको विकास गर्नुपर्ने बताए ।
उनले अंग्रेज फौजलाई नेपाली फौजले हराएको ऐतिहासिक जितगढी किल्लामा नेपाल–अंग्रेज युद्धको झल्को दिने युद्ध सङ्ग्रहालय बनाउने र यसलाई अन्तर्राष्ट्रियकरण गरी पर्यटक भित्राउन गुरुयोजना बनाउनुपर्ने सुझाए ।
‘चिडियाखोलादेखि दक्षिणमा मगरघाटसम्म जलाशययुक्त ड्याम बनाउने र नदीको दुबैतर्फ पक्की सडक बनाई जल पर्यटनको विकास गर्ने हो भने यहाँ पर्यटकलाई आकर्षित गरी भुलाउन सकिन्छ’ नेपालले भने–‘जल पर्यटनसँगै जितगढीमा युद्ध सङ्ग्रहालय पनि बनाउनुपर्छ ।’
नेपाल चेम्बर अफ कमर्शका प्रदेश अध्यक्ष टंकप्रसाद पोखरेलले पर्यटन क्षेत्रको एकीकृत योजना बनाएर सक्ने योजना मात्रै कार्यान्वयनमा लैजानेगरी सामूहिक प्रतिबद्धता गर्नुपर्ने जनाए ।
पर्यटन विज्ञ बलबहादुर आचार्यले प्रदेशको पर्यटन गुरुयोजना बनाएर मात्र पर्यटन पूर्वाधारमा लगानी गर्नुपर्ने बताए । योजनाविनाको कनिका छराई लगानीले पर्यटकमैत्री पूर्वाधार बनाउन नसकिने भएकाले गुरुयोजना अनुसार विविधतायुक्त र विशिष्टीकृत सेवा पर्यटकलाई पस्कन सक्नुपर्ने बताए ।
उद्योग वाणिज्य संघ बुटवलका उद्योग उपाध्यक्ष सुरज भट्टराईले जितगढी किल्लामा सन्ध्या आरती, सैनिक परेड, जातीय सांस्कृतिक नाच पर्यटकलाई देखाउन सके पर्यटक आकर्षित हुने बताए ।
रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष कृष्ण पराजुलीले पर्यटकले चाहे जति रकम ल्याउन दिए मात्रै पर्यटन व्यवसायबाट लाभ लिन सकिनेमा सरकारी नीति वाधक भएको औँल्याए ।
उनले पुरानो बुटवल बजारलाई पुरानै शैलीमा पुनः निर्माण गर्न सके पर्यटकका लागि आकर्षक गन्तव्य हुने र गर्न सक्ने मात्र योजनामा ध्यान दिन आग्रह गरे ।
यातायात व्यवसायी जीवन बन्जाडेले बेलहिया नाका आसपासमा त्यहाँका होटेल व्यवसायीले राति ८ बजेपछि कुनै पनि बसलाई चल्न नदिँदा पर्यटक बुटवल आउन नसकेको औँल्याए ।
उनले रुपन्देहीका पर्यटन विकासका लागि यहाँबाट चल्ने सबै बसमा ५ मिनेटको भिडियो बनाएर सबै यात्रुलाई जानकारी दिने गरी सेवा दिन सकिने प्रतिबद्धता व्यक्त गरे ।
होटल व्यवसायी संघ रुपन्देहीका वरिष्ठ उपाध्यक्ष माधव खनालले सरकारी पक्षले सधैँ पर्यटन व्यवसायीलाई तर्साउने गरी योजना बनाउने र कार्यान्वयनमा ध्यान नदिएकाले अहिलेको समस्या आएको गुनासो गरे ।
उनले पर्यटन क्षेत्रको विकासबाटै सबै क्षेत्रमा आर्थिक चलायमान हुने भएकाले पूरा गर्ने योजना अघि सारे निजी क्षेत्रले पूरै कार्यान्वयन गर्ने जनाए ।
सरोकारवालालाई जुटाएर यो विषयमा प्रवेश गराउन समन्वय गरेको रुपन्देही व्यापार संघका अध्यक्ष कृष्ण घिमिरेले पर्यटन क्षेत्र बहु आयामिक आर्थिक र समृद्धिको स्रोत भएकाले यो क्षेत्रमा सरोकार रहेका सबैलाई जुटाएर सामूहिक योजना बनाउने प्रयास थालिएको बताए ।