बागमतीमा फैलँदै अटिजम समस्या
हेटौँडा । बागमती प्रदेशमा अटिजमको समस्या फैलँदै गएको पाइएको छ । बालबालिकाको विकासको क्रममा देखिने स्नायु सम्बन्धी समस्यालाई अटिजम भनिन्छ । यो कुनै रोग भने हैन ।
पछिल्लो करिब डेढ दशकबाट नेपालमा पनि रिसर्च र यो समस्याबारे सरकारले चासो दिन थालेको छ । अटिजम समस्याको कारण बागमती प्रदेशमा १ हजार २ सय ५३ जना बालबालिका प्रभावित रहेका छन् ।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले दिएको तथ्याङ्क अनुसार बागमतीको काठमाडौँ जिल्लामा यो समस्याबाट ४९५ जना बालबालिका प्रभावित बनेका छन् । दोस्रो प्रभावित जिल्ला चितवन हो । चितवनमा पहिचान भैसकेका ११३ जना बालबालिकामा अटिजमको लक्षण देखिएको छ । ललितपुरमा ८३, भक्तपुरमा ७८, मकवानपुरमा ७७, धादिङमा ७०, काभ्रेमा ७५, नुवाकोटमा ७०, सिन्धुपाल्चोकमा ५४, दोलखामा ३३, सिन्धुलीमा ६५, रामेछापमा २८ र रसुवामा १७ जना बालबालिकामा अटिजमको समस्या देखिएको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर खगेश्वर गेलालले बताए ।
नेपालमा करिब ३ लाख मानिसहरू कुनै न कुनै प्रकारको अटिजमबाट प्रभावित हुनसक्ने अनुमान सरकारले गरेको छ । डाक्टर गेलाल भन्छन् “मानिसहरू अटिजमलाई रोगको रूपमा व्याख्या गर्ने गर्दछन्, तर यो रोग हैन, यो एक प्रकारको मानसिक स्थिति हो, समयमा नै बालबालिकामा रहेको अटिजम समस्यालाई पहिचान गर्न सकियो भने ती बालबालिकालाई हामीले समाजमा घुलमिल हुने, रूपान्तरण हुनसक्ने बनाउन सक्छौँ ।”
बागमती प्रदेश सरकारले सात प्रदेश मध्य अटिजमको क्षेत्रमा पहिलो पटक काम गर्न लागेको मन्त्रालयका डाक्टर साकार ढकाल बताउँछन् । अटिजम भएका बालबालिकाको शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा योजना निर्माण गरेर मन्त्रालयले काम अघि बढाएको उनको भनाई रहेको छ ।
के हो अटिजम ? कसरी पहिचान गर्ने ?
बालबालिकामा हुने स्नायु सम्बन्धी समस्या नै अटिजम हो । यो मस्तिष्क विकासको क्रममा हुने गर्दछ । मस्तिष्क बनावटको क्रममा हुने गडबडीको कारण बालबालिकामा अटिजमको समस्या देखा पर्ने गरेको विज्ञहरूको दाबी छ ।
अझ फराकिलो ढंगबाट यो समस्याबारे व्याख्या गर्दा कुनै पनि व्यक्तिको उमेरको विकास सँगै उमेर सापेक्ष संवाद, विचार बुझ्न र भाषाका प्रयोग गर्न कठिनाइ, एउटै व्यवहार लगातार दोहोर्याउने, अरूसँग घुलमिल नहुने, अस्वाभाविक प्रतिक्रिया देखाउने अवस्थालाई अटिजम भनिन्छ ।
कुनै पनि बालबालिकाको भाषा विकास हुनु अगावै १२ महिनादेखि २ वर्ष अघि नै उसमा औँलाले संकेत गर्ने, हो वा होइन भनेर सोध्दा टाउको हल्लाउने, अभिभावकले औँलाले देखाएको बस्तुमा आँखा लैजाने, चिनेको आवाज सुन्दा टाउको फर्काउने, चिन्ने व्यक्तिसँग आँखा जुध्दा मुसुक्क हाँस्ने जस्ता सञ्चार गर्ने सीपहरुको विकास भएको छैन भने त्यस्ता बालबालिकामा अटिजमको सम्भावना रहेको हुनसक्छ ।
अटिजम भएका बालबालिकाले घुमेको चिजहरूमा अत्यधिक चासो देखाउने, घाउ चोट लाग्दा खासै प्रतिक्रिया नदिने या अत्यधिक प्रतिक्रिया दिने, आफ्ना अभिभावकलाई कुनै मन परेको बस्तु देखाउँदा औलाले नदेखाउने, हात समातेर लगेर देखाउने, कुर्कुच्चा या औँलाले मात्रै टेकेर हिँड्ने, सामान्य रूपमा बुझ्न नसकिने अनौठा आवाजहरू निकाल्ने जस्ता व्यवहार देखाउने अटिजम केयर सेन्टरका सुरेन्द्र बज्राचार्य बताउँछन् ।
जनचेतनाको अभाव, शिक्षालयको समस्या: थपलिया
बागमती प्रदेशको राजधानी हेटौँडामा ‘सेन्टर फर अटिजम’ संस्था स्थापना गरेर विद्यालय सञ्चालन गरिरहेका सञ्चालक शेखर थपलिया भने अटिजमबारे अझै जनचेतनाको अभाव रहेको बताउँछन् ।
आफ्ना बालबालिकामा अटिजम भएको समस्यमा नै थाहा नहुँदा धेरै अविभावकहरु समस्यामा पर्ने गरेको भन्दै उनले सरकारले अटिजमबार गाउँ गाउँ पुगेर प्रचारप्रसार गर्नुपर्ने बताए ।
अटिजम रोग नभै स्नायु समस्या मात्र भएकोबारे अटिजम भएका बालबालिकाका अभिभावकलाई समेत बुझाउन जरुरी रहेको भन्दै उनले सरकारले अटिजम भएका बालबालिकालाई संरक्षण, उनीहरूको शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा विशेष योजना निर्माण गरेर काम गर्नुपर्ने बताउँछन् ।
सामान्य बालबालिका अध्ययन गर्ने हजारौँ विद्यालय स्थापना हुँदा अब अटिजम समस्या भएको बालबालिकाको लागि पनि शिक्षालय स्थापना गर्नुपर्ने, उनीहरूको व्यवहार परिवर्तन गर्ने सिपको लागि अभिभावक लाई तालिमको व्यवस्था गर्नुपर्ने, थेरापी मेसिनहरू खरिदको लागि अटिजम विद्यार्थी अध्ययन गर्ने विद्यालय वा संघ संस्थालाई राज्यले अनुदानको व्यवस्थापन गर्नुपर्ने उनको भनाई रहेको छ ।