छुरा प्रहारबाट घाइते दक्षिण कोरियाली नेताको घाँटीमा डेढ सेन्टिमिटर गहिरो चोट
काठमाडौं । पत्रकार सम्मेलनका क्रममा छुरा प्रहारबाट घाइते भएका दक्षिण कोरियाको प्रमुख विपक्षी डेमोक्र्याटिक पार्टीका नेता ली जे म्युङको घाँटीमा डेढ सेन्टिमिटर गहिरो चोट लागेको छ ।
दक्षिण पूर्वी बन्दरगाह शहर बुसानको भ्रमणका क्रममा ६० वर्षका एक व्यक्तिले उनको घाँटीमा छुरा प्रहार गरेका थिए ।
स्थानीय समय अनुसार बिहान १०ः२७ बजे बुसानको नयाँ विमानस्थलको निर्माण स्थलको भ्रमण गरिसकेपछि लीको घाँटीको देब्रेपट्टि छुरा प्रहार भएको थियो ।
बुसानमा आकस्मिक उपचारपछि उनलाई शल्यक्रियाका लागि हेलिकप्टरबाट सियोलको अस्पतालमा लगिएको छ ।
भिडियो फुटेजमा आक्रमणकारीले अटोग्राफ माग्दै लीको नजिक गएका र उनको देब्रे घाँटीमा छुरा प्रहार गरेको देखिएको छ ।
६० वर्षको किमको थरबाट मात्र पहिचान भएका आक्रमणकारीले डेमोक्र्याटिक पार्टीका नेतालाई मार्ने मनसाय रहेको प्रहरीलाई बताएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् । किमले गत वर्ष इन्टरनेटमा करिब १८ सेन्टिमिटर लामो चक्कु किनेका थिए । उनको अन्य कुनै आपराधिक रेकर्ड थिएन ।
दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले पुलिस र सम्बन्धित अधिकारीहरूलाई छिटो सत्य तथ्य पत्ता लगाउन र लीको उपचारका लागि सहयोग गर्न हर सम्भव प्रयास गर्न आदेश दिनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
युनले यस्ता हिंसात्मक कार्यलाई कुनै पनि हालतमा सहन नहुनेमा जोड दिए ।