मोरङकी दीपा विष्ट ‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ विराटनगरमा सम्मानित – Nepal Press

मोरङकी दीपा विष्ट ‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ विराटनगरमा सम्मानित

विराटनगर । मोरङकी दीपा विष्ट भारतको हैदरावादमा भएको १०औँ वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा ‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ टाइटल जित्न सफल भएकी छन् । उनलाई विराटनगरमा सम्मानित गरिएको छ ।

मोरङको सुन्दरहरैंचा–११ की विष्टले हैदरावादस्थित लाल बहादुर शास्त्री रंगशालामा पुस २ देखि ५ गतेसम्म आयोजित च्याम्पियनसिपमा ‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ टाइटल जित्न सफल भएकी थिइन् ।

महिलातर्फ ‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ टाइटल जित्न सफल भएकी विष्टले तीन वटा तौल समूहका सबै प्रतिस्पर्धामा आफ्ना अघिल्ला रेकर्डहरू समेत तोड्न सफल भएकी थिइन् ।

अहिलेसम्म कुनै पनि देशका प्रतिस्पर्धीले उचाल्न नसकेको ९० केजी तौल उठाएर नेपाललाई गोल्ड मेडल सहितको उपाधि दिलाएकी हुन् ।

युरोप, अमेरिका र एसियाका १६ वटा देशका महिला प्रतिस्पर्धीहरुलाई पछि पार्दै महिलातर्फ गोल्ड मेडलसहित ‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ टाइटल जितेकी हुन् ।

मोरङ स्ट्रेन्थलिफ्टिङ एशोसिएशनको आयोजनामा विष्टसहित सोही प्रतियोगितामा सिल्भर मेडल प्राप्त गर्न सफल सुनसरीका कबिर भगत प्रधानाङ्गलाई समेत सम्मानित गरिएको हो ।

एशोसिएशनका अध्यक्ष नवनीतराज प्रधानले खेलाडीहरू विष्ट र प्रधानाङ्गलाई सम्मान पत्र र खादाले सम्मानित गरेका हुन् । नेपालमा स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) भर्खरै अघि बढेको खेलका रूपमा चिनिन्छ ।

अहिलेसम्मका अन्तर्राष्ट्रिय प्रतिस्पर्धाहरुमा आफ्नै स्रोत साधन र खर्च जुटाएर खेल्दै आएको नेपाली टोलीले सरकारहरूबाट सहयोग नपाइएको जनाइएको छ ।

हालसम्म ४४ वटा जिल्लाहरूमा एशोसिएशन गठन गरेर स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस खेललाई अघि बढाउने प्रयास गरिरहेको भएपनि सरकारले खेलाडीहरूलाई गर्नुपर्ने आवश्यक प्रोत्साहन गर्न नसकेको सुनसरी स्ट्रेन्थलिफ्टिङ एशोसिएसनका सचिव विजयसिंह थेबेले गुनासो गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर